सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पाण्डेलाई थुनामुक्त राखेर छानबिन गर्न राणाको माग

शनिबार, १९ वैशाख २०८३, १५ : २७
शनिबार, १९ वैशाख २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेमाथि सरकारले निष्पक्ष र तथ्यगत छानबिन गर्नुपर्ने बताएका छन् । तर अनुसन्धानकै लागि पाण्डेलाई थुनामा राख्नु न्यायसंगत र औचित्यपूर्ण नभएको उनको तर्क छ ।

‘छानबिनसँग सम्बन्धित अभिलेख राज्यकै मातहत रहेको अवस्थामा, जनताबाट पटकपटक अनुमोदित व्यक्तित्व विक्रम पाण्डेले प्रमाण नष्ट गर्ने, भाग्ने वा अनुसन्धानलाई असहयोग गर्ने आधार रहँदैन,’ उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसर्थ अनुसन्धानकै लागि थुनामा राख्नु न्यायसंगत र औचित्यपूर्ण देखिँदैन ।’

महामन्त्री राणाले न्यायसंगत रूपमा पाण्डेलाई थुनामुक्त गरेर अनुसन्धान अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘लामो समय सार्वजनिक जीवनमा सक्रिय रहेका नेता पाण्डे देशकै प्रतिष्ठित र अग्रणी व्यवसायी हुन् । राष्ट्रिय गौरवका योजनाहरूमा उनको संलग्नता रहँदै आएको विदितै छ । देशको अर्थतन्त्र, विकास तथा रोजगारी लगायतका क्षेत्रमा सकारात्मक योगदानका खातिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उनी पटकपटक सम्मानित भएका छन् ।’

‘यसकारण न्यायसंगत रूपमा उनलाई थुनामुक्त राखेर अनुसन्धान अघि बढाउन सरकारको ध्यानाकर्षण गर्दछु र देशभरिका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनसमुदायको भावनासमेत कदर गर्दै यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गर्दछु,’ उनले भने ।

 पाण्डे ठेक्कासम्बन्धी अनलाइन सिस्टम ह्याकिङमा संलग्न रहेको अभियोगमा केही दिनअघि पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप