बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
पश्चिम एसिया तनाव

पश्चिम एसिया संकटपछि फेरिएको रुटः अफ्रिका बन्दै छ नयाँ केन्द्र

शनिबार, १९ वैशाख २०८३, १८ : ४५
शनिबार, १९ वैशाख २०८३

सारांश

  • पश्चिम एसियामा बढेको भूराजनीतिक तनाव र लालसागरमा जारी अशान्तिले अन्तर्राष्ट्रिय शिपिंग मार्ग परिवर्तन भएको छ ।
  • सुरक्षाका कारण व्यापारिक जहाजहरूले स्वेज नहरको सट्टा अफ्रिकाको 'केप अफ गुड होप' हुँदै यात्रा गरिरहेका छन्, जसले यात्राको समय र लागत बढाएको छ ।
  • यस परिवर्तनले अफ्रिकी बन्दरगाहहरूको महत्त्व बढाएको छ भने इजिप्टको स्वेज नहरबाट हुने आम्दानीमा ठूलो नोक्सानी भएको छ ।

काठमाडौं । पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव र लालसागरमा जारी अशान्तिका कारण अन्तर्राष्ट्रिय शिपिंग मार्गमा नाटकीय परिवर्तन आएको छ । 

होर्मुज स्ट्रेट बन्द हुने खतरा र लालसागरमा लामो समयदेखिको तनावले गर्दा व्यापारिक जहाजहरूले आफ्नो बाटो बदल्न थालेका छन्, जसका कारण अफ्रिका अब विश्वव्यापी कन्टेनर ढुवानीको नयाँ केन्द्र बन्दै गएको छ ।

ढुवानी मार्गमा ठुलो परिवर्तन

पहिले एसियाबाट युरोप जाने जहाजहरू स्वेज नहर र लालसागर हुँदै करिब २१ दिनमा पुग्थे, तर अहिले सुरक्षाका कारण जहाजहरू यो मार्गबाट नभई अफ्रिकाको दक्षिणी बिन्दु ‘केप अफ गुड होप’ हुँदै गइरहेका छन् । यसले यात्राको समय बढाएर लगभग ५५ दिन पुर्‍याएको छ । 

यस परिवर्तनले अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष असर पारेको छ । जहाजहरूले लामो दूरी तय गर्नुपर्दा इन्धन खपत बढेको छ र ढुवानी लागतमा पनि वृद्धि भएको छ ।

एसिया–युरोपबिच चल्ने कन्टेनर जहाजहरू अहिले बाब–अल–मन्देब जलसन्धि र लाल सागरको मार्ग प्रयोगबाट टाढा भइरहेका छन् । यसको मुख्य कारण, सन् २०२३ नोभेम्बरमा यमनका हुथी विद्रोहीहरूले एक कन्टेनर जहाजमाथि गरेको आक्रमणपछिको खतरा हो । 

अहिले जहाजहरू अफ्रिकाको पूर्वी तट हुँदै दक्षिण अफ्रिकाको ‘केप अफ गुड होप’ घुमेर युरोप पुग्दैछन् । यस परिवर्तनले अफ्रिकी बन्दरगाहहरूको महत्त्व बढाएको छ । उदाहरणका लागि, मोरक्कोको ताङियर मेड पोर्टले सन् २०२३ मा १ करोड १० लाख कन्टेनर व्यवस्थापन गर्‍यो, जुन ८.४ प्रतिशत वृद्धि हो । 

यसैगरी, इजिप्टलाई स्वेज नहरबाट हुने आम्दानीमा ठुलो नोक्सानी भएको छ । सन् २०२४ मा यसको आम्दानी ७ अर्ब डलरले घटेको छ, जुन २०२३ को तुलनामा ६० प्रतिशतभन्दा बढीको गिरावट हो ।

ढुवानी लागत र समयमा भारी वृद्धि

नयाँ मार्गका कारण एसिया र युरोपबिच माल ढुवानीको समय औसतमा दुई हप्ता बढेको छ । इन्धनको आवश्यकता ३० देखि ५० प्रतिशतसम्म बढेको छ र सेवाको नियमितता कायम राख्न १० देखि २० प्रतिशत थप जहाजहरू लगाउनुपरेको छ । 

एक ४० फिटको कन्टेनर पठाउने औसत लागत अप्रिलमा १४ प्रतिशतले बढेको छ । यसले विश्वव्यापी आपूर्ति श्रृंखलामा दबाब बढाएको छ र मुद्रास्फीतिको खतरा पनि निम्त्याएको छ । 

यसैबिच साउदी अरबको जेद्दा बन्दरगाह नयाँ क्षेत्रीय हबको रूपमा उदाउँदै छ । स्वेज हुँदै यहाँ पुग्ने सामानहरू ट्रकमार्फत शारजाह, बहराइन र कुवेतजस्ता देशहरूमा पुर्‍याइँदैछ ।

ट्र्याफिक ढाँचामा ठुलो बदलाव 

तथ्यांक अनुसार सन् २०२३ मा लालसागर हुँदै जाने लगभग ७० प्रतिशत मालसामान अब ‘केप अफ गुड होप’ मार्गबाट पठाइँदै छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यस मार्गमा जहाजहरूको आवागमन तीन वर्षमा तीन गुणाभन्दा बढी बढेको छ । 

मार्च १ देखि अप्रिल २४ सम्म दैनिक औसत २० वटा जहाज ‘केप अफ गुड होप’ हुँदै गएका छन्, जबकि २०२३ मा सोही अवधिमा यो संख्या ६ मात्र थियो । यसविपरीत, लाल सागरमा दैनिक १८ बाट घटेर ५ जहाजमा मात्रै ट्राफिक झरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप