सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

असममा भाजपा नेतृत्वको गठबन्धन अगाडि : नतिजा आउनुअघि नै गुवाहाटीमा विजय उत्सवको तयारी

सोमबार, २१ वैशाख २०८३, १४ : ०८
सोमबार, २१ वैशाख २०८३

सारांश

  • असमको १२६ विधानसभा सिटका लागि भइरहेको मतगणनाको प्रारम्भिक रुझानमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट अग्रता लिएको छ।
  • भाजपाले आफ्नो जित सुनिश्चित ठानेर गुवाहाटीस्थित पार्टी कार्यालयमा अघिल्लो राति नै विजयका पोस्टरहरू टाँसेको छ।
  • सुरुवाती परिणामले असममा फेरि पनि भाजपाकै वर्चस्व रहने संकेत गरेको छ।

गुवाहाटी । असमको १२६ विधानसभा सिटका लागि भइरहेको मतगणनाको प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट अग्रता लिएको छ। 

मतगणना जारी रहँदै गर्दा भाजपाले आफ्नो जित सुनिश्चित ठानेर गुवाहाटीस्थित पार्टी कार्यालयमा अघिल्लो राति नै विजयका पोस्टरहरू टाँसेको छ। ती पोस्टरहरूमा अभूतपूर्व जनसमर्थन र आशीर्वादका लागि असमका जनतालाई हार्दिक धन्यवाद दिइएको छ।

पार्टीका राज्य कोषाध्यक्ष राजकुमार सरमाले आफूहरू जितप्रति पहिल्यै ढुक्क भएकाले गणना नसकिँदै पोस्टरहरू सार्वजनिक गरेको बताएका छन्। अहिले भाजपाको कार्यालयमा खासै चहलपहल नदेखिए पनि कार्यकर्ताहरू विभिन्न मतगणना केन्द्रहरूमा खटिएका कारण यस्तो भएको बताइएको छ। 

दिउँसोसम्ममा रुझानहरू औपचारिक नतिजामा परिणत हुन थालेपछि कार्यालयमा समर्थकहरूको ठुलो भिड जम्मा हुने र भव्य विजय उत्सव मनाउने तयारी पार्टीले गरेको छ।

असमको यो निर्वाचनमा मुख्यतया दुईवटा ठूला गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ। एकातिर भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) छ भने अर्कोतिर कांग्रेसले नेतृत्व गरेको विपक्षी गठबन्धन चुनावी मैदानमा छ। 

भाजपा नेतृत्वको गठबन्धन लगातार तेस्रो पटक सत्तामा फर्किएर ह्याट्रिक गर्ने दाउमा रहेको छ भने कांग्रेस सत्ता फिर्ता गर्ने कसरतमा छ। तर, सुरुवाती परिणामले असममा फेरि पनि भाजपाकै वर्चस्व रहने संकेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप