काठमाडौँ । सरकारले काठमाडौँका नदी-खोला किनारका सुकुमबासी बस्ती हटाउन डोजर चलाइरहेको छ । त्यससँगै भत्काइएका ती बस्तीमा कवाडी (फलामजन्य सामग्री) व्यवसायीहरूको व्यस्तता बढेको छ । भत्किएका संरचनाबाट निस्किएका फलामे डण्डी, जस्तापाता र अन्य सामग्री खरिद–बिक्री गर्नेहरुको चहलपहल बाक्लो देखिन्छ ।
कवाडी व्यवसायी रामबिहारी साहले शंखमूलको सुकुमबासी बस्तीमा भत्काइएको साढे तीनतले घरको कवाडी ठेक्कामा लिए । उनले १ लाख ५० हजार रुपैंयाँमा सबै फलाम खरिद गरेको बताए । ‘हामीले कवाडी मात्रै ठेक्कामा लिएका हौं । तर घाटा भइरहेको छ, सोचेजस्तो माल निस्केन,’ साहले भने, ‘पाँच टन जति निस्किन्छ भन्ने अनुमान थियो, साढे तीन टन मात्रै निस्कियो ।’
सोचेजस्तो सामग्री ननिस्किँदा उनलाई लगानी डुब्ने चिन्ता छ । विगत १५ वर्षदेखि बालकुमारीमा कवाडी व्यवसाय गर्दै आएका साहका अनुसार बजारमा फलामको आपूर्ति बढेपछि मूल्य घटेको छ । डोजर चल्नु अगाडि पहिले प्रतिकिलो ४५ रुपैयाँमा पाइने फलाम अहिले ४० रुपैयाँमा झरेको छ ।

सुरत साहले शंखमूलमा डोजर चलेपछि चारवटा घरबाट कवाडी उठाउन ठेक्का लिए । ८७ हजार रुपैयाँ ठेक्का लिएका उनले खासै फाइदा नभएको बताए । ‘खर्च धेरै छ । अहिलेसम्म १८ हजार खर्च भइसक्यो,’ २० वर्षदेखि नरेफाँटमा कवाडी व्यवसाय सञ्चालन गरिरहेका उनी भन्छन्, ‘कवाडी सस्तोमा पाए पनि डोजर चलाउँदा र लेबर लगाउँदा खर्च बढी भयो ।’ शंखमूलपछि अन्य बस्तीमा गएर कवाडी उठाउने तयारीमा छन् उनी । यो व्यवसाय सञ्चालन गरेर उनले १० जनालाई रोजगारी दिएको बताए ।
डोजर चलाइएका सुकुमबासी बस्तीबाट निस्किएका फलामजन्य सामग्री कतिपयले साइकलमा किलोका हिसाबले खरिद गरेर सिधै कवाडी व्यवसायीलाई बिक्री गरिरहेका छन् भने कतिले सिङ्गै घरको कवाडी ठेक्कामा लिइरहेका छन् । यो व्यवसाय सबैका लागि सोचेजस्तो नाफामूलक भने छैन । कवाडीको बढेको आपूर्तिका कारण फलामको मूल्य घट्नु र डोजर भाडामा महँगो लागतले व्यवसायीहरुलाई नाफाभन्दा घाटाको चिन्ताले सताएको छ ।
घरधनीहरुलाई भत्काइएका घरबाट फलाम, जस्तापाता लगायत कवाडी सामान बेच्ने तनाव छ । कति सुकुमबासीले आफ्नो घर र टहराबाट सस्तोमै सामान बेच्न बाध्य छन् । शंखमूलको घरमा डोजर चलेपछि भीम सुवेदीले कवाडी सामान मात्रै होइन, इँट्टा पनि निःशुल्क दिएको बताए । बस्तीमा बिहानदेखि साँझ अबेरसम्म कवाडी संकलनका लागि व्यवसायीहरुको भिड देखिन्छ ।
यसरी चल्छ कवाडीको चक्र
साइकलमा डुलेर कवाडी संकलन गर्ने साना व्यवसायीहरुले बस्तीबाट फलाम उठाएर ठुला कम्पनी वा पसलमा बेच्छन् । सर्लाहीका सुरेश यादवले आफूले प्रतिकेजी ४५ रुपैयाँमा फलाम किनेर ५० रुपैयाँमा बेच्ने गरेको बताए, जसमा उनलाई प्रतिकेजी ५ रुपैयाँ नाफा हुन्छ ।

ठुला व्यवसायीहरुले यसरी संकलन भएको कवाडी नेपालभित्रकै विभिन्न फ्याक्ट्रीहरूमा पठाउँछन् । ‘यहाँबाट फ्याक्ट्रीमा गलाउन जान्छ, त्यसबाट फेरि नयाँ डण्डी बन्छ,’ साहले भने । यसरी संकलन भएको कवाडी नेपाल बाहिर नभई देशभित्रै खपत हुने व्यवसायीहरु बताउँछन् । सुकुमबासी बस्तीमा डोजर चलेपछि कवाडी व्यवसायमा अवसर त बढेको छ, तर घट्दो मूल्य, महँगो लागत र शारीरिक जोखिमका कारण यो क्षेत्रमा संलग्न व्यवसायी र कामदारहरूका लागि नाफा कमाउनु फलामको चिउरा चपाउनु जत्तिकै कठिन पनि छ ।
महँगो लागत र जोखिमपूर्ण काम
कवाडी व्यवसायमा लागत पनि उत्तिकै महँगो छ । व्यवसायी अमिर चन्द दासले एउटा घरको कवाडी २० हजार रुपैयाँमा खरिद गरे । उनले डोजरको भाडा अत्यधिक महँगो भएको बताए । ‘डोजरको भाडा एक घण्टाकै ४ देखि ५ हजार रुपैयाँसम्म पर्छ, सबै खर्च कटाउँदा खासै फाइदा हुँदैन,’ उनले भने ।

कवाडी संकलनको काम शारीरिक रूपमा पनि निकै जोखिमपूर्ण छ । डोजर चलेको घरबाट फलाम खोस्रिरहेका विजय मिश्रले हातमा चोट लागे पनि दुखाइ सहेर काम गरिरहेको बताए । यस्तै दुखेसो अर्का कामदार सञ्जय महतोले पोखे । ‘खुट्टामा, हातमा चोट लाग्छ । काम गर्दा ढुंगा लाग्छ, फलामले काट्छ, तर के गर्नु ?’ उनका अनुसार दिनभर खटिँदा सबै खर्च कटाएर मुस्किलले २ हजार रुपैयाँसम्म बच्छ ।
प्रतिक्रिया