मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

मङ्गलबार, २६ जेठ २०८३, ०७ : ००
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । बाढी, पहिरो र सडक मर्मतका कारण मुलुकका विभिन्न प्रमुख राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। आज बिहान साढे ६ बजेसम्मको विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो खसेका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य गर्नुपर्ने भएकाले यो सडक एक महिनाका लागि बन्द गरिएको छ।

यसैगरी, बागमती प्रदेशको मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा सडक मर्मत जारी रहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यो खण्ड पनि मर्मतका लागि एक महिना बन्द रहने जानकारी दिइएको छ। काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशमा मध्य पहाडी लोकमार्गका दुई ठाउँमा अवरोध देखिएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक बाटोमार्फत यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप