सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने

सोमबार, २५ जेठ २०८३, २१ : ०३
सोमबार, २५ जेठ २०८३

हेटौँडा । गौरीटारमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि चितवन र काठमाडौँ भिड्नेछ । सोमबार समूह सकिएसँगै फाइन खेल्ने दुई टोलीको टुङ्गो लागेको हो । चितवन समूह विजेता र काठमाडौँ उपविजेता बन्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

समूहको चरणको एउटा खेलमा ललितपुरसँग पराजित भएको चितवन ३ खेलमा जित हात पारेको थियो भने एउटा खेलमा अङ्क बाँडेको थियो । चितवन ७ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । काठमाडौँले सोमबार मकवानपुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

सोमबार भएको खेलमा काठमाडौँले मकवानपुरलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले काठमाडौँलाई १२४ रनको लक्ष्य दिएको थियो । मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो। 

मकवानपुरका विशाल फुयाल २५ रनमा अलआउट भए भने कप्तान शुभ कंसाकारले २४ रन र विशेष विक्रम थापाले २० रन जोडे । काठमाडौँका सोनु देवकोटाले २ विकेट लिए । दयानन्द मण्डल, नितेश कुमार, मनसून सिंह र सन्दिप पराजुलीले समान १/१ विकेट लिए।

जवाफी व्याटिङ गरेको काठमाडौँ ३ गुमाएर लक्ष्य भेटाउन सफल भयो । काठमाडौँले १७ ओभर २ बलमा ३ विकेट गुमाएर १२९ रन बनायो । काठमाडौँको जितका लागि कप्तान रित गौतम सर्वाधिक ४३ रन बनाएर आउट भए । सोनु देवकोटा ३१ रनमा र उत्तम थापा मगर २३ रनमा अविजित रहे। मकवानपुरका लागि महम्द अहम्द राजा, साकार गजुरेल र स्वरूप श्रेष्ठले समान एक एक विकेट लिए । काठमाडौँको जितका लागि उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका सोनु देवकोटा प्लेयर अफ द म्याच बने।

यस्तै, सोमबार भएको समूह चरणको अन्तिम खेलमा भक्तपुरले ललितपुरलाई पराजित गरेको हो । वर्षाले खेल प्रभावित हुँदा डिएलएस पद्धति अनुसार भक्तपुर ६ विकेटले विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । ललितपुरका लागि सचिन लेख ५७ रनको र आदिल खानले ५२ रनको अर्धशतकीय पारी खेले । भक्तपुरका कप्तान क्रिश कार्कीले २ विकेट, अभिनाश बस्याल र भूपेन्द्र आचार्यले १ विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएको भक्तपुरले १२ ओभर ४ बलमा ४ विकेट गुमाएर १४५ रन बनाउँदा खेल रोकिएको थियो । पछि खेल पुन सुरु गर्न सम्भव नहुँदा डिएल पद्धति अनुसार नतिजा निकालिएको हो । 

भक्तपुरको जितका लागि रिङ्जिन लामाले ४९ रन बनाएर आउट भए भने कप्तान क्रिश कार्कीले अविजित ३० रनको योगदान गरे । ललितपुरको विपिन आचार्यले २ विकेट, भार्गव खनाल र विवेक राना मगरले एक एक विकेट लिए । भक्तपुरका कप्तान क्रिश कार्की प्लेयर अफ द म्याच घोषित भए।

समूह चरणमा काठमाडौँ र भक्तपुरको सामान ६ अङ्क भएतापनि नेट रनरेटको आधारमा काठमाडौँ अङ्क तालिकाको दोस्रो स्थान रहँदै फाइनलमा पुगेको हो। प्रतियोगितामा दुई वटा खेल मात्रै जित्न निकाल्न सकेको मकवानपुर ५ अङ्कसहित चौथो स्थानमा छ । जारी प्रतियोगितामा एउटा पनि जित हात पार्न नसक्ने नुवाकोट एक्लो टोली बनेको छ।

प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू चितवन, काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर र नुवाकोटको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल भोली मंगलबार बिहान ११ बजे हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप