शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ड्युटीमा रहेका महिला प्रहरीमाथि अश्लील गाली र अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ

मङ्गलबार, २२ वैशाख २०८३, ०८ : ४४
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • कपिलवस्तुको चन्द्रौटामा ड्युटीमा रहेका महिला प्रहरीमाथि अश्लील गाली र अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ परेका छन्।
  • गत वैशाख १९ गते राति शंकास्पद रूपमा हिँडडुल गरिरहेका उनीहरूलाई सोधपुछ गर्दा प्रहरीमाथि जाइलागेपछि नियन्त्रणमा लिइएको हो।
  • पक्राउ परेका पाँचै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ र उनीहरूलाई पाँच दिनको म्याद थप गरी थुनामा राखिएको छ।

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

गत वैशाख १९ गते राति शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा–कृष्णनगर सडक खण्डमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका उनीहरूलाई सोधपुछ गर्दा प्रहरीमाथि नै जाइलागेपछि नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले होटल प्याराडाइज अगाडि उनीहरूलाई फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँको तारकेश्वर नगरपालिका निवासी २६ वर्षीया अन्जना तामाङ, प्युठान नगरपालिकाकी २० वर्षीया वर्षा सुनार र कपिलवस्तु विजयनगरका २२ वर्षीय मनोज गुप्ता रहेका छन्। त्यसैगरी शिवराज नगरपालिकाका २७ वर्षीय दीपेन्द्र कुमार चौधरी र भारतको सिद्धार्थनगर जिल्लाका २८ वर्षीय रन्जित चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले रातिको समयमा ड्युटीमा रहेका महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी अश्लील शब्द प्रयोग गरेको र गालीगलौज गर्दै प्रहरीको काममा बाधा पुर्‍याएको प्रहरीको दाबी छ।

प्रहरी टोलीले सम्झाउन खोज्दा उल्टै चर्को स्वरमा होहल्ला गरी अशान्ति मच्चाएपछि उनीहरूलाई सोही स्थानबाट तत्काल नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका पाँचै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थुनामा राखिएको छ।

घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप