शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डायस्पोरा सम्बन्धी कानुन संशोधनकाे प्रस्तावसहित ज्ञापनपत्र बुझाइयो

परराष्ट्रले माग्यो विश्वको मोडल
शुक्रबार, २५ वैशाख २०८३, १३ : १९
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशनले प्रस्तावित गैरआवासीय (डायस्पोरा प्रवासी) नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा संशोधन तथा परिमार्जन गर्न सरकारसमक्ष सुझाव पेस गरेको छ।
  • परराष्ट्रमन्त्रीले विश्वका विभिन्न मुलुकले गैरआवासीय नेपालीहरूलाई कसरी सम्बोधन गरेको छ, त्यही मोडलमा सरकारले पनि काम गर्ने र सोही अनुसारको अधिकार तथा सुविधा प्रदान गर्ने बताएका छन्।
  • युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशनले विश्वभर रहेका नेपाली डायस्पोराको सीप, ज्ञान र पुँजीलाई नेपालको समग्र विकाससँग जोड्न र लगानी भित्र्याउनका लागि इन्भेष्टमेन्ट कम्पनी खडा गर्ने जानकारी दिएको छ।

काठमाडौँ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशनले प्रस्तावित गैरआवासीय (डायस्पोरा/प्रवासी) नेपाली सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा संशोधन तथा परिमार्जन गर्न सरकारसमक्ष सुझाव पेस गरेको छ।

सङ्गठनका सभापति सोनाम लामाले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै विधेयकमा समावेश गरिनुपर्ने कानुनी बुँदा, संशोधन र थप प्रस्तावसहितको विस्तृत सुझावपत्र पेस गरिएको जानकारी दिएका हुन। परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा केहि गैरआवासीय नेपाली सङ्घका व्यक्तिहरूले सरकारले बनाउँदै नबनाएको नीति नियमहरूको बारेमा नकारात्मक प्रचार गरेको प्रति आपत्ति जनाएको समेत सभापति लामाले जानकारी दिए । 

‘वास्तविक गैरआवासीय नेपालीहरूको समस्या समाधानका लागि सरकार तयार रहेको छ,’ परराष्ट्रमन्त्री खनालको भनाई उद्धृत गर्दै सभापति लामाले भने, ‘विश्वका विभिन्न मुलुकले एनआरएनएहरूलाई कसरी सम्बोधन गरेको छ, त्यही मोडलमा हामी पनि काम गर्छौ।’

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशनलाई विदेशी मुलुकहरूले आफ्नो एनआरएनएहरूलाई कस्तो अधिकार दिएको र कसरी दिएको छ भन्ने मोडलहरूको बारेमा सुझाव दिन समेत परराष्ट्र मन्त्रीले भनेको सभापति लामाले जानकारी दिए। अहिले आफूहरूले पनि परराष्ट्रको अनुरोधका आधारमा विश्वका विभिन्न मुलुकले कसरी सुविधा दिएको र सहजता बनाएको भन्ने बारेमा अध्ययन गरेर सरकारलाई सुझाव दिने समेत जानकारी दिए।

सङ्गठनले विश्वभर रहेका नेपाली डायस्पोराको सीप, ज्ञान र पुँजीलाई नेपालको समग्र विकाससँग कानुनी तथा व्यावहारिक रूपमा जोड्न आवश्यक रहेको उल्लेख गरेको छ । प्रवासमा रहेका नेपालीहरूको नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यसहित कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

ज्ञापन पत्रमा युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन सन् २०२२ मा स्थापना भई नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा विधिवत् दर्ता भएको स्वतन्त्र, गैर–नाफामूलक, गैर–राजनीतिक तथा गैर–सरकारी संस्थाका रूपमा सञ्चालनमा रहेको उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयमा दर्ता भएका गैरआवासीय नेपाली सङ्घ र युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन फरक–फरक कानुनी हैसियत भएका स्वतन्त्र संस्था रहेको जनाएको छ।

प्रवासमा रहेका लाखौँ नेपालीहरूको मौलिक तथा संवैधानिक अधिकार संरक्षणका लागि आफूहरूले पेस गरेका संशोधन प्रस्तावलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गरी कानुन निर्माण प्रक्रियामा समावेश गर्ने विश्वास व्यक्त गरिएको छ। 

साथै एस संस्थाले चाँडै नै नेपालको विभिन्न क्षेत्रमा लगानी भित्र्याउनका  लागि इन्भेष्टमेन्ट कम्पनी खडा गर्दै गरेको जानकारी लामाले दिएका छन् । कम्पनीबाट डायस्पोरामा आबद्ध सदस्यहरूले एकीकृत लगानी गर्न सक्ने बताए। यस लगानीले निकट भविष्यमा नेपालको पर्यटन, कृषि र समग्र आर्थिक क्षेत्रमा विकास गर्न लाई केही टेवा पुग्ने विश्वास लिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप