आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीले सांसदका प्रश्न सुन्नैपर्छ, नीति तथा कार्यक्रम ३ करोड नेपालीको मार्गचित्र हो : कांग्रेस

बुधबार, ३० वैशाख २०८३, १४ : ५१
बुधबार, ३० वैशाख २०८३

सारांश

  • कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्।
  • उनले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन्।
  • सांसद श्रेष्ठले नीति तथा कार्यक्रम ३ करोड नेपालीको मार्गचित्र भएकाले प्रधानमन्त्रीले सांसदका सुझाव सुन्नुपर्ने र उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेका छन्। 

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका हुन्। 

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझावहरू राख्ने कार्यक्रम रहेकाले ती विषय सुन्न प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने उनको तर्क छ। सांसद श्रेष्ठले यो विषय सम्पूर्ण देश र जनताको भविष्यसँग जोडिएको हुनाले सरकारको प्रमुखका हैसियतले प्रधानमन्त्रीले नै सांसदका सुझाव सुन्नुपर्ने र उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुपर्ने बताए। नीति तथा कार्यक्रम कुनै एउटा दलको मात्र नभई सम्पूर्ण जनप्रतिनिधिहरूको मर्यादाको विषय भएको उनको भनाइ छ।

सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कुनै एउटा दलको मात्र नभई सम्पूर्ण २७५ जना प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरूको मर्यादाको विषय हो। यो ३ करोड नेपाली जनताको वर्षभरिको मार्गचित्र भएकाले यसमा गरिने सुधार र निर्देशनका सम्बन्धमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनैपर्छ।’

यसैगरी सांसद श्रेष्ठले गत वैशाख २८ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै बाहिरिएको प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीको उक्त कार्यलाई अमर्यादित संज्ञा दिँदै आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्रीले पूर्ण समय नदिएको भन्दै आलोचना गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप