बुर्लाकोटीको प्रश्न, ‘विपक्षीले प्रधानमन्त्रीको अनुहार मात्र हेर्न खोजेका हुन् कि छलफल गर्न ?’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने बताएको छ।
- प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममा छलफल गर्न नमिल्ने व्यवस्था नभएको दाबी गरेका छन्।
- उनले विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुहार मात्र हेर्न खोजेको आरोप लगाउँदै प्रक्रियागत विषयलाई रोकेर संसद्लाई बन्धक नबनाउन आग्रह गरेका छन्।
काठमाडौँ । सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने जिकिर गरेको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको माग गर्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्रीको प्रस्ताव मन्त्रीले पेस गर्न मिल्ने तर छलफलका लागि प्रधानमन्त्री नै चाहिने भन्ने कुरा तर्कसङ्गत नभएको उल्लेख गरे।
प्रमुख सचेतक बुर्लाकोटीले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममा छलफल गर्न नमिल्ने व्यवस्था कतै नभएकोतर्फ विपक्षी दलहरूको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हाल्न अन्य मन्त्रीलाई तोक्न सक्ने संवैधानिक र कानुनी व्यवस्था रहेको भन्दै उनले संसद्को दोस्रो बैठकमा सोही सहमतिअनुसार आएको स्पष्ट पारे। प्रस्ताव टेबुल गर्न दिने तर छलफलमा भाग नलिने विपक्षीको दोहोरो चरित्र भएको उनको आरोप छ।
उनले भने, ‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन। र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमति गरेर यो दोस्रो बैठकमा आयो। त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्ने हो भन्ने हुनुपर्यो। अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्नेकुरा हुँदैन। कुनैपनि नियममा यस्तो छैन। यो त भएन।’
बुर्लाकोटीले विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी संसद्मा अडान राखेको भन्दै कटाक्ष समेत गरे। उनले प्रक्रियागत रूपमा अगाडि बढिसकेको विषयलाई रोकेर संसद्लाई बन्धक बनाउन नहुने धारणा राखेका छन्। सरकारले तोकेको मन्त्रीमार्फत छलफल अगाडि बढाउनु संसदीय अभ्याससम्मत हुने जिकिर गर्दै उनले विपक्षीलाई छलफलमा सहभागी हुन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हवाई आक्रमणको जवाफमा इरानद्वारा बहराइन र कुवेतमा ड्रोन तथा मिसाइल प्रहर
-
ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने होइन, राज्यलाई पनि जबाफदेही बनाउनुपर्छ : ज्ञानबहादुर शाही
-
नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न
-
युद्ध फेरि सुरु भयो भने इरानको अस्तित्व रहने छैन : ट्रम्प
-
तेस्रो स्थानमा रहेर पनि विश्वकपको अन्तिम ३२ मा छनोट भए यी आठ टिम, गोलअन्तरकै कारण बाहिरियो इरान
-
अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण