सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जुम्लाको तिला गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

बुधबार, ३० वैशाख २०८३, २३ : ४१
बुधबार, ३० वैशाख २०८३

जुम्ला । जुम्लाको तिला गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका’घोषणा गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज एक कार्यक्रमबिच पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी पालिकालाई घोषणा गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासका लागि आभार व्यक्त गरे । आगामी दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि सबैको उतिकै भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

खोपको सुनिश्चिततासँगै अब दिगोपनाका लासिग अभिभावकहरूलाई पनि खोपको महत्त्व बुझाउन जरुरी रहेको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले पालिका स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मिहिनेतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतका अनुसार गाउँपालिकाका नौ वटै वडाका १६ देखि २३ महिनासम्मका दुई सय तीन बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो । साथै, जन्मेदेखि १५ महिनासम्मका एक सय ८८ बालबालिकाले पनि सबै खोप प्राप्त गरेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप