कांग्रेसमा संस्थापन र देउवा समूहका समानान्तर प्रदेशस्तरीय भेला किन ?
सारांश
- नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा प्रदेशस्तरीय भेला गरिरहेका छन् ।
- संस्थापन पक्षले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट निर्णय गरेर सातै प्रदेशमा 'प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला' गरिरहेको छ ।
- देउवा समूहले पार्टीको बृहत् एकताका लागि पुनर्जागरण र १५औँ महाधिवेशनको तयारीस्वरूप भन्दै प्रदेशस्तरीय भेला गरिरहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा प्रदेशस्तरीय भेला गरिरहेका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको समितिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट निर्णय गरेर सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गरिरहेको छ ।
देउवा समूहले पार्टीको बृहत् एकताका लागि पुनर्जागरण र १५औँ महाधिवेशनको तयारीस्वरूप भन्दै प्रदेशस्तरीय भेला गरिरहेको छ । भेलाका लागि दुवै समूहले नेताहरूलाई जिम्मेवारी दिएका छन् ।
संस्थापन पक्षले सबै स्थानमा हुने भेलाको मिति र स्थान निर्धारण गरिसकेको छ भने देउवा समूहले केही प्रदेशमा भेलाको स्थान र मिति तय गर्न बाँकी छ ।

संस्थापन पक्षले वैशाख २३ गते बसेको पार्टीको केन्द्रीय केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकको निर्णयानुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला सम्पन्न गरिसकेको छ भने गण्डकीमा बिहीबारदेखि सुरु भएको भेला आज सकिँदैछ ।
सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते कैलालीको धनगढीमा र कर्णाली प्रदेशस्तरीय भेला वैशाख २८ र २९ गते सुर्खेतको लेकवेसीमा सम्पन्न भइसक्यो । गण्डकी प्रदेशस्तरीय भेला वैशाख ३१ र जेठ १ गते (आज) कास्कीको पोखरामा भइरहेको छ । भेलालाई सभापति गगन थापा, प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरूले सम्बोधन गरिरहेका छन् ।
प्रतिष्ठानले बागमती प्रदेशस्तरीय भेला जेठ ४ र ५ गते काभ्रेको धुलिखेलमा, मधेस प्रदेशस्तरीय भेला जेठ ६ र ७ गते महोत्तरीको बर्दिबासमा, कोशी प्रदेशस्तरीय भेला जेठ ८ र ९ गते सुनसरीको लौकीमा र लुम्बिनी प्रदेशस्तरीय भेला जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा गर्ने तय गरेको छ ।
_OXHiZMhPVs.jpg)
यता देउवा समूहले पार्टीको बृहत् एकताका लागि पुनर्जागरण र १५औँ महाधिवेशनको तयारीस्वरूप भन्दै ७ प्रदेशमै भेला गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । देउवा समूहका नेता मीन विश्वकर्माका अनुसार कोशी प्रदेशमा नेता कृष्णप्रसाद सिटौला, मधेस प्रदेशमा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशमा नेताद्वय प्रकाशमान सिंह र डा. प्रकाशशरण महत, गण्डकी प्रदेशमा पार्टीका गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा नेता किशोरसिंह राठोर र पार्टीको लुम्बिनी प्रदेश उपसभापति राजु खनाललाई जिम्मेवारी दिइएको छ ।
कर्णाली प्रदेशमा पूर्वमुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा नेता एनपी साउद र पार्टीका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई जिम्मेवारी दिइएको छ ।
जसअनुसार दुई प्रदेशमा भेला सम्पन्न भइसकेका छन् । कोशीमा वैशाख २९ गते र बागमतीमा वैशाख ३० गते भेला सम्पन्न भइसकेको विश्वकर्माले जानकारी दिए । कर्णालीमा जेठ २ गते भेला हुँदैछ । भेलामा सहभागी हुन भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत पुगेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भेलाका लागि सुर्खेत पुगेको उल्लेख गरेका छन् । अहिले देउवा समूहको नेतृत्व खड्काले नै गरिरहेका छन् ।
विश्वकर्माका अनुसार गण्डकीमा जेठ ९ गते भेला गर्ने तय भएको छ । बाँकी प्रदेशमा भने भेलाको मिति र स्थान निश्चित भइसकेको छैन ।

विश्वकर्मालाई रातोपाटीले ‘किन भेला गर्न लाग्नुभयो ?’ भन्दै प्रश्न गरेको थियो । जबाफमा विश्वकर्माले भने, ‘पार्टीको बृहत् एकताका लागि पुनर्जागरण र १५औँ महाधिवेशनको तयारीका लागि १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादर देउवा विचार समूहले भेला गरिरहेको हो ।’
यो त पार्टीभित्र समानान्तर गतिविधि भएन र भन्ने अर्को प्रश्नमा विश्वकर्माले केन्द्रीय समितिमा नरहेकाले गर्ने भेला र मन्थनलाई समानान्तर भेला भन्न नमिल्ने बताए । ‘एउटै समितिमा रहेर समितिको निर्णयमा एक स्थानमा कार्यक्रम हुने, असन्तुष्टले अर्को स्थानमा कार्यक्रम गर्नेलाई समानान्तर भेला भन्न मिल्थ्यो,’ विश्वकर्माले भने, ‘हामी त गगन थापा नेतृत्वको समितिमा छैनौँ । त्यसैले हामीले गर्ने भेलालाई समानान्तर भन्न मिल्दैन ।’
पार्टी प्रवक्ता देवराज चालिसेले पनि देउवा समूहले आफ्नो विचार र समूहको भेला राख्न पाउने बताए । ‘विधानभित्र रहेर छलफल भेटघाट गर्न पाइयो । कांग्रेसमा यस्ता भेला पहिला पनि हुने गर्थे । अहिले पनि भइरहेका छन्,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘पार्टी विधान मिच्न भएन । पार्टीको औपचारिक निर्णयलाई लत्त्याउन पाइएन । समूह बलियो बनाउने, विचार आदानप्रदान गर्ने त लोकतान्त्रिक पार्टीमा सामान्य कुरा हो ।’

प्रवक्ता चालिसेले पार्टी सङ्कटमा रहेको बेलामा समूह–समूहमा विभाजित भएरभन्दा एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए । पार्टीका अग्रजहरूले त्यस प्रकारको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टी सङ्कटमा रहेको बेलामा सबै एकताबद्ध हुनुपर्छ । त्यसका लागि मेरो अग्रजहरूलाई आग्रह छ,’ चालिसेले भने, ‘ उहाँहरूले हामीलाई राम्रो बाटो देखाउने हो, त्यसै गर्नुहुनेछ भन्ने आशा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण