बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
सांसदसँग

श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला

बुधबार, १७ असार २०८३

तेह्रथुम जिल्लाको हेदाङमा जन्मिएकी अम्बिकादेवी संग्रौला राजनीतिमा नयाँ छिन्, तर उनको राजनीतिक अडान प्रस्ट र बलियो छ । श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधि सभाकी समानुपातिक सांसद संग्रौला भाषणले मात्र सुशासन नआउने मान्यता राख्छिन् ।

खस–आर्य महिला क्लस्टरबाट समानुपातिक सांसद बनेकी उनी श्रम र उत्पादनको विषयमा आवाज उठाउँछिन् । पद, शक्ति र सत्ताको लोभबाट टाढै रहेकी उनी सीमान्तकृत समुदायको आवाज उठाउन रुचाउँछिन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेकी संग्रौलासँग रातोपाटीको ‘सांसदस“ग’ स्तम्भका लागि श्रम नरेन्द्र रौलेले गरेको कुराकानी:

 पहिले व्यवसायमा हुनुहुन्थ्यो, एकाएक राजनीतिमा आउनुभयो । सांसद बन्ने रहर किन पलायो ?

म आफूलाई श्रमदाता भन्न रुचाउँछु । लामो समय (१७–१८ वर्ष) व्यवसाय गरेर बसेँ । २०७९ सालमा हाम्रो निवर्तमान नगरप्रमुख हर्क साम्पाङज्यूलाई धरानका जनताले जिताएपछि उहाँले चलाएको श्रम अभियानबाट म जोडिएको हो । त्यसपछि म राजनीतिक क्षेत्रमा जोडिए“ ।

 अहिले संसदमा पुगिसकेपछि कस्तो अनुभव रह्यो ? नयाँ अनुभव के–के बटुल्नुभयो ?

रमाइलो भइरहेको छ, एकदम रमाइलो छ । हामी कुनै आन्दोलन, हत्या, हिंसा, विद्रोह, सशस्त्र सङ्घर्षबाट आएको होइन । हामी श्रमदान गर्दै, गरिब निमुखा जनताहरूका घर टहरा बनाउने, पुलहरू बनाउने, सडक निर्माणमा सहभागी हुँदै, कोकाहाको खोलामा खानेपानीका पाइप जोड्दै, त्यस्तै काम गरेर यो ठाउँमा आइपुगेका छौँ । पार्टीकै नामै श्रम संस्कृति छ, श्रम गरेर हामी यो ठाउँमा पुगेका छौँ । 

संसदमा दुई दिने अभिमुखीकरण तालिम पनि लिनुभयो, यसले संसदीय प्रणालीबारे नयाँ कुरा के–के सिकायो ?

अभिमुखीकरण तालिमबाट हामीले धेरै कुरा सिक्ने मौका पायौँ । हामी सांसद भइरहँदा सांसदले गर्नुपर्ने मर्यादा, अनुशासन, हामीले कसरी लुगा लगाउने, लोगो लगाउने तरिका, बस्ने तरिकाबारे सिक्यौँ । त्यसबाहेक हामीले पाउने सेवा सुविधाहरू, त्यो पनि कसरी, केको आधारमा पाउ“छौँ ? संसदीय अभ्यासबारे छोटो अवधिमा धेरै कुरा सिक्ने मौका पाइयो, खुसी लाग्यो । तालिम उपलब्धिमूलक नै भयो ।

 तपाईंको पार्टीले श्रम र श्रमदानलाई एकदमै महत्त्व दिन्छ । अहिले दार्चुलामा गएर पुल बनाएर जनताको मन जित्ने काम पनि गर्नुभयो । तपाईं आफैँ दार्चुला पुग्नु भयो ?

मलाई दार्चुला पुग्ने एकदम मन थियो, तर अहिले हाम्रो सदन पनि चलिरहेको हुनाले जान पाइएन । हामी सबै माननीय दार्चुलामै पुग्न पाएनौँ । हाम्रो अध्यक्षज्यू जानुभएको छ, माननीय पूर्ण लिम्बू दाइ पनि जानुभएको छ । हामी चार जना यही छौँ ।

श्रम भनेको काम र संस्कृति भनेको संस्कार । हाम्रो श्रम संस्कृति पार्टीको मुख्य मूल्य र मान्यता नै श्रमदान हो । हामीले श्रमदान गर्छौं । त्यो पनि कम खर्चमा धेरै काम । हामी गरिब छौँ, हाम्रो आर्थिक स्थिति कमजोर छ, आर्थिक स्थिति कमजोर हुँदा पनि राज्यको मुख ताकेर हामीले धेरै वर्ष बिताउँछौँ । सरकारी प्रक्रिया पनि लामो हुन्छ । सानो काम गर्न पनि सरकारको मुख ताकेर धेरै ढिलासुस्ती भएको छ । हाम्रो अध्यक्षज्यूले भने जस्तो ६ दिन पेटको लागि, १ दिन देशको लागि हामी काममा लाग्यौँ भने एकै दिनमा धेरै ठुलो काम गर्न सक्छौँ । हामीस“ग यस्ता धेरै उदाहरण छन् । उदाहरणका रूपमा धरानलाई हेर्न सक्नु हुन्छ । म त साढे तीन वर्ष हर्क साम्पाङसँगै श्रमदान गरेर आएको हो । म सक्रिय रूपमा इमानदार भएर पार्टीमा जोडिएको छु । हाम्रो देशमा श्रमदान एकदम अपरिहार्य छ ।

 सांसद बन्छु भन्ने सोच्नुभएको थियो ?

अहँ, मेरो एउटा निःस्वार्थ भावना थियो । कुनै स्वार्थ बोकेर म त्यो ठाउँमा गएकै होइन । हाम्रो श्रम संस्कृति पार्टीमा निःस्वार्थ हुनुपर्छ सबै । व्यक्तिगत स्वार्थको लागि कसैले पनि आउनै पाइँदैन । सांसद बन्ने मेरो कुनै कल्पना थिएन । समानुपातिक लिस्टमा एक नम्बरमा खस–आर्य क्लस्टरबाट नाम राखेको पनि मलाई थाहा थिएन । नसोचेको भयो ।

 चुनावका क्रममा केही प्रतिबद्धता थिए होलान् जनतासँग । के–के योजना र बाचाहरू राख्नुभएको थियो जनतासामु ?

जनतासामु हामीले केही प्रतिबद्धता राखेका थियौँ । जस्तो प्रकृति, संस्कृति, प्रविधि, यसले जीवनलाई सहज बनाउँछ भनेका थियौँ हामीले । सात दिनमा चार दिन सैद्धान्तिक कुरामा जोड दिए पनि तीन दिन व्यावहारिक शिक्षा, उत्पादन, आविष्कार, निर्माणमा हामीले जोड दिँदै आएका छौँ । हामीले साबुन फ्याक्ट्री, बेसार फ्याक्ट्री उत्पादन गर्ने हेतुले दुई वटा उद्योग निर्माण गरिसकेका छौँ । अब एक घर, एक रोजगार, एक गाउँ एक उद्योगको परिकल्पना गरेका छौँ । अरु योजना पनि धेरै छन् । हामी जे बोल्छौँ, त्यो काम गर्छौं । माननीय हर्क साम्पाङज्यूको परिकल्पनामा हामीले नयाँ कामको थालनी गर्छौं ।

 आफ्नो कार्यकालमा के–के काम गर्नु हुनेछ ? जनताका लागि के गर्ने योजना र सपना छ ?

हामी अहिले प्रतिपक्षमा छौँ, सत्ता पक्षमा छैनौँ । मैले सांसद भइरहँदा भोगेको, देखेको, अनुभव गरेको कुरा के छ भने बहुमतको सरकार छ । हामी प्रतिपक्षमा थोरै छौँ । हाम्रो पार्टीका ६ जनामात्रै सांसद छौँ । संख्याको आधारमा हामीलाई समय दिइन्छ । जनताले उठाएका प्रश्नहरू हामीले सदनमा राख्न पाइरहेका पनि छैनौँ, तर समस्या र दुःखमा परेका हरेक नेपाली, असहाय नेपाली, सुकुमबासी, अव्यवस्थित बसोबासी र पीडितको आवाज हामीले बोलिरहेका छौँ र बोल्नेछौँ । श्रमदान गर्न छोड्ने छैनौँ र उत्पादनमा जोड दिनेछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया