बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो

बुधबार, १७ असार २०८३, ११ : २६
बुधबार, १७ असार २०८३

सारांश

  • नेपाल वायुसेवा निगमले आफ्नो ६८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
  • कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले निगमका राम्रा काममा मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
  • निगमका निमित्त महाप्रबन्धकले निगमको आम्दानी र यात्रु सङ्ख्या बढेको दाबी गर्दै भविष्यप्रति स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।

काठमाडौँ । नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सव बुधबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । न्युरोडस्थित निगमको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) प्रमुख अतिथिका रूपमा सहभागी भए । 

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि निगम परिसरबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी न्युरोडस्थित जुद्ध शालिक चोक हुँदै पुनः निगमको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो । उक्त प्रभातफेरीमा निगमका कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निगमले गर्ने राम्रा काममा मन्त्रालयको पूर्ण सहयोग रहने बताए । उनले निगमका सम्पूर्ण कर्मचारीले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । त्यस्तै, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको अवस्थालाई समीक्षा गर्दै अहिले नै निराश नहुन र निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको हालको अवस्थाबारे जानकारी दिए । उनले अनेकौँ चुनौती र बाधाका बीच पनि धेरै सकारात्मक सङ्केतहरू देखिएको, पछिल्लो समय यात्रुहरूको सङ्ख्या र निगमको आम्दानी समेत बढेको दाबी गरे । उनले विगतका अनुभवबाट शिक्षा लिँदै र वर्तमानका चुनौतीप्रति सजग रहँदै भविष्यप्रति स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा निगमले हरेक वर्ष प्रकाशन गर्ने वार्षिकोत्सव विशेषाङ्क ‘आकाशभैरव’को लोकार्पण समेत गरियो । वार्षिकोत्सवको अवसर पारेर असार १२ गते निगमको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसमा कर्मचारीसहित २६४ जनाले रक्तदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप