मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
सारांश
- मनसुनी प्रणाली सक्रिय भएसँगै देशैभर सेना र सशस्त्र प्रहरी मनसुनजन्य विपद् प्रतिकार्यका लागि उच्च सतर्कतामा रहेका छन् ।
- सशस्त्र प्रहरीले ५४ अति संवेदनशील स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गर्नुका साथै 'एपीएफ कम्युनिटी अलर्ट सिस्टम' मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
- नेपाली सेनाले तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ, जसमा फौज तैनाथ, राहत सामग्रीसहितको टोली तयारी, बेलीब्रिज, हेलिकप्टर र फिल्ड अस्पताल स्ट्यान्डबाइ राखिएका छन् ।
काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधवार र बिहीवार मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।
बंगालको खाडी क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीका कारण जलवाष्पयुक्त हावाको प्रवाह बढ्दा मनसुनी गतिविधि सशक्त बनेको मौसमविद्हरूले बताएका छन् । सम्भावित विपद्को जोखिम कम गर्न र प्रतिकार्यका लागि सरकारका सबै संयन्त्र सक्रियताका साथ लागिपरेका छन् ।
विपद्का बेला तत्काल उद्धार टोली पुग्न सहज होस् भनेर सशस्त्र प्रहरी बल (एपीएफ) ले देशका ५४ अति संवेदनशील र जोखिमयुक्त स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ स्थापना गरेको छ । सशस्त्रका प्रवक्ता नेत्रबहादुर कार्कीले वर्षाजन्य विपद् हुने १६ अति जोखिमयुक्त स्थानमा जनशक्ति र स्रोतसाधनसहित स्थायी बेससमेत राखिएको बताए ।

विपद्पछिको उद्धारका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरण दिएर जोखिमयुक्त स्थानमा खटाइएको छ । विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरी २४ सै घण्टा तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापन प्राधिकरण, राष्ट्रिय तथा प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए ।
विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट आएको सूचना तत्काल बाहिनी तहको अपरेसनल रुममा पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको छ ।
एपमा रहेको विपद्को प्रकारमा थिच्नेबित्तिकै लोकेसनसहितको सूचना प्राप्त हुने र नजिकको बाहिनीबाट टोली खटिने प्रवक्ता कार्कीले बताए । यसका साथै, जोखिममा परेका नागरिकको सहजताका लागि केन्द्र र प्रत्येक बाहिनीमा १११४ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि राज्यका संयन्त्र सक्रिय भए पनि छरिएको बस्तीका कारण चुनौती रहेको बताए । पहाडमा घरहरू छरिएर रहेको र तराईमा पनि एकीकृत बस्ती नहुँदा प्रत्येक घरसम्म राज्यको पहुँच पुर्याउन कठिन हुने गरेको उनको भनाइ छ । सांसद गजुरेलले विपद् व्यवस्थापनको अग्रपङ्क्तिमा रहने स्थानीय तहलाई पर्याप्त स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए ।

‘संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विपद्को जोखिममा रहेका बस्तीहरूलाई केही समयका लागि भए पनि स्थानान्तरण गर्ने र जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा राख्ने कार्य गर्नुपर्छ,’ उनले भने । राजमार्गहरू नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडकका ‘ब्ल्याक स्पट’ पहिचान गर्नुपर्ने उनले बताए । सिमलताल र झ्याप्ले खोला दुर्घटनाको उदाहरण दिँदै उनले पूर्वसूचना र चेतावनीको बेवास्ता गर्दा ठूलो क्षति हुने गरेको स्मरण गराए ।

यसैगरी, नेपाली सेनाले पनि मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा विगतका घटनाको अध्ययन गरी योजना परिमार्जन तथा तल्लो तहसम्म संयुक्त अभ्यास गरिएका छन् । दोस्रो चरणअन्तर्गत गण र गुल्म तहमा तत्काल परिचालन हुन सक्ने गरी फौज तैनाथ गरिएको छ भने पृतना तहमा राहत सामग्रीसहितको ‘कम्पोजिट सर्च एन्ड रेस्क्यु’ टोली तयारी अवस्थामा राखिएको छ ।
बाढी र पहिरोले सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा ‘बेली ब्रिज’ तयारी अवस्थामा राखिएको छ । काठमाडौंमा यान्त्रिक पुल र आपत्कालीन चिकित्सा सुविधाका लागि फिल्ड अस्पतालहरू तयारी हालतमा राखिएको सेनाले जनाएको छ । हवाई उद्धारका लागि इटहरी र सुर्खेतमा हेलिकप्टर पूर्वतैनाथ गरिसकिएको छ भने मौसमको अवस्था हेरी तत्काल परिचालन हुने गरी काठमाडौंमा थप दुईवटा हेलिकप्टर स्ट्यान्डबाइ राखिएका छन् । विमानस्थलहरूमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।
तेस्रो चरणअन्तर्गत सामुदायिक विपद् प्रतिकार्य तालिममार्फत स्थानीय स्वयंसेवक तयार गरिएको प्रवक्ता बस्नेतले बताए । सेनाले विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनालाई जानकारी गराउन र सरकारले जारी गर्ने मौसम पूर्वानुमानको नियमित अनुसरण गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण