आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेखापढी व्यवसायीलाई उच्च अदालतको आग्रहः तोकिएको पोसाक अनिवार्य रूपमा लगाउनू

शुक्रबार, ०१ जेठ २०८३, १८ : ३३
शुक्रबार, ०१ जेठ २०८३

बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासले अदालत परिसरमा सेवा प्रवाहलाई थप व्यवस्थित र मर्यादित बनाउन लेखापढी व्यवसायीहरूलाई तोकिएको पोसाक अनिवार्य रूपमा लगाउन आग्रह गरेको छ ।

अदालत प्रशासन शाखाले सूचना जारी गर्दै लेखापढी व्यवसायी सम्बन्धी नियमावली, २०५१ अनुसार तोकिएको पोसाक र आचारसंहिता पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । 

सूचनाअनुसार पुरुष लेखापढी व्यवसायीले बैजनी रङको कोट वा स्टकोट, बैजनी पाइण्ट र निलो बैजनी रङको सर्ट लगाउनुपर्नेछ । यस्तै महिला लेखापढी व्यवसायीले बैजनी कोट–पाइन्ट, निलो बैजनी सर्ट वा सोही रङको कुर्ता–सुरुवाल अथवा सारी–ब्लाउज लगाउनुपर्ने उल्लेख गरिएको छ । 

अदालतले सूचना प्रकाशित भएको सात दिनपछि तोकिएको पोसाकबिना अदालत परिसरमा लेखापढी व्यवसायीको हैसियतमा प्रवेश गर्न वा सेवाग्राहीको प्रतिनिधित्व गर्न नदिइने जनाएको छ । 

यस्तै अदालतले नियमावलीको नियम ४ मा उल्लेखित कार्यक्षेत्र तथा नियम ५ मा उल्लेखित शर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ । अदालत परिसरभित्र सेवाग्राहीसँग शुल्क लिने वा अन्य कुनै आर्थिक कारोबार गर्न पनि रोक लगाइएको छ । 

सूचनामा कानुन बमोजिम तयार गरिने लिखतमा आफ्नो नाम, थर, प्रमाणपत्र नम्बर तथा प्रमाणपत्र जारी गर्ने जिल्ला अदालतको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । आचारसंहिताको उल्लंघन गरे सम्बन्धित निकायमा कारबाहीका लागि लेखी पठाउन सकिने चेतावनी समेत अदालतले दिएको छ । 

उच्च अदालत बुटवल इजलासका रजिष्ट्रार अमृत उप्रेतीद्वारा जारी सूचनामा अदालतबाट सेवाग्राहीलाई छिटो, सरल र सभ्य वातावरणमा सेवा प्रदान गर्न सहयोग गर्न सबैलाई आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप