एमाले अध्यक्ष ओलीविरुद्ध मदन भण्डारी फाउन्डेसन आक्रामक
सारांश
- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मदन भण्डारी फाउन्डेसनले विराटनगरमा कार्यक्रम गरी नेतृत्वको कार्यशैलीमाथि छलफल सुरु गरेको छ ।
- कार्यशालामा अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध वैचारिक र सांगठनिक रूपमै आलोचना भएको छ, जसमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्वको स्वेच्छाचारितामाथि प्रश्न उठाइएको छ ।
- फाउन्डेसनले अब यस शक्तिलाई वडा तहसम्म विस्तार गरी पार्टीभित्र समानान्तर शक्तिका रूपमा स्थापित गर्ने रणनीति बनाएको छ ।
विराटनगर । नेकपा (एमाले)को बहुमत केन्द्रीय पदाधिकारीहरू नै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागिरहेको बेला मदन भण्डारी फाउन्डेसनले पनि विराटनगरमा औपचारिक कार्यक्रम गरेरै नेतृत्वको कार्यशैलीबारे छलफल सुरु गरेको छ ।
फाउन्डेसनका केन्द्रीय अध्यक्ष डोरमणि पौडेलले आइतबार उद्घाटन गरेको सुशासन, समृति र दिगो विकास विषय कार्यशालामा एमालेको नेतृत्वबारे बढी र विषयकेन्द्रित कम छलफल भएको सहभागीले बताए । कोशी प्रदेशको राजधानी विराटनगरमा भएको कार्यशालामा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध औपचारिक रूपमै वैचारिक र सांगठनिक रुपमै आलोचना भएको छ ।
पार्टीभित्र अल्पमतमा पर्दै गएका अध्यक्ष ओलीविरुद्ध फाउन्डेसनलाई मुख्य मञ्च बनाएर बलियो शक्ति संगठित गर्दै आएको समूहले अब यो शक्तिलाई वडा तहसम्म लैजाने पनि जनाएको छ ।
कार्यक्रममा सुबोध राज प्याकुरेलद्वारा प्रस्तुत राजनीतिक कार्यपत्रले एमालेभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्वको स्वेच्छाचारितामाथि गम्भीर प्रश्न उठाएको छ । फाउन्डेसनको कार्यक्रममा प्याकुरेलले ‘आजको एमालेः चुनौती र समाधान’ शीर्षकमा मार्गचित्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रको मुख्य तारो अध्यक्ष ओलीको एकलौटी निर्णय प्रक्रिया र ‘हुकुमी’ शैली थियो ।
प्याकुरेलले पार्टीभित्र सामूहिक निर्णय प्रक्रियाको अभाव रहेको र नेतृत्वमा निरंकुशता हाबी भएको उल्लेख गर्दै ‘नयाँ पुस्ताको एमालेः जनतातर्फ, जरातर्फ’ को नारा अघि सारेका छन् । प्याकुरेलले आफ्नो प्रस्तुतिमा सांगठनिक कमजोरीका तीन मुख्य पक्षलाई उजागर गरेका छन् । जसमा पार्टीभित्र खुल्ला र तर्कपूर्ण विमर्शको परम्परा अन्त्य भएको र छलफलका ढोकाहरू थुनिएको, इन्चार्ज र नेतृत्वकर्ताहरू सहजकर्ता हुनुपर्नेमा आदेशकर्ता र हुकुमी पात्रका रूपमा देखिएको, जनवर्गीय संगठनहरूको सांगठनिक स्वायत्ततामा नेतृत्वले ठाडो हस्तक्षेप गर्दा संगठनको आकर्षण घटेको उल्लेख छ ।
उनको कार्यपत्रले एमाले अब ‘मन जित्ने कि मत जित्ने ?’ भन्ने दोसाँधमा रहेको विश्लेषण गरेको छ । तल्लो कमिटीहरू जनताका समस्या समाधान गर्नुभन्दा पनि केवल चुनावमा मत बटुल्न मात्र केन्द्रित भएको उनको आरोप छ । प्याकुरेलले पार्टी पुनर्जागरणका लागि दुई कार्यकालको सीमा, उम्मेदवार चयनमा प्राइमरी निर्वाचन र भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता आठ वटा नीतिगत सुधारको प्रस्ताव गरेका छन् ।
कार्यक्रममा सहभागी नेताहरूले अध्यक्ष ओलीको आलोचनामा कडा शब्द प्रयोग गरे । विशेषगरी फाउन्डेसनका प्रदेश उपाध्यक्ष तथा प्रदेश सांसद विजय राईले ओलीलाई नै नेतृत्वमा राखिरहने हो भने नेपालको कम्युनिस्ट आन्दोलन भारतको पश्चिम बंगालको ‘सीपीएम’ जस्तै समाप्त हुने चेतावनी दिए । ‘यदि हामीले समयमै नेतृत्वको कार्यशैली सुधारेनौँ र ओलीकै व्यक्तिवादी बाटोमा हिँडिरह्यौँ भने हाम्रो हविगत बंगालको कम्युनिस्टको जस्तै शून्यमा झर्ने निश्चित छ,’ राईले भनेका थिए ।
सहभागी अन्य नेताहरूले पनि पार्टीको सुशासनको नारा ‘हात्तीको देखाउने दाँत’ मात्र भएको बताए । सरकारी कोषबाट विदेश गएर उपचार गरेका नेताहरूका रकम पार्टी कोषबाट फिर्ता गरेको विषयमा पनि नेताहरूले आपत्ती जनाएका थिए । एमालेको पछिल्लो सचिवालय बैठकमा पनि ओलीविरुद्ध बहुमत नेताहरूले धारणा राखेका छन् । त्यसपछि यो समूह झनै उत्साहित देखिएको छ ।
फाउन्डेसनलाई अब केवल बौद्धिक छलफलको थलो मात्र नबनाई ओलीविरुद्धको सांगठनिक शक्तिका रूपमा विकास गर्ने योजना बनाइएको छ । सहभागी एक नेताका अनुसार फाउन्डेसनको नेटवर्किङलाई अब वडा तहसम्म विस्तार गरिनेछ । यसलाई एमालेभित्रको समानान्तर शक्तिका रूपमा स्थापित गर्ने रणनीति विद्रोही समूहको छ ।
आजको भेलाले मदन भण्डारीको विचारलाई जबज (जनताको बहुदलीय जनवाद) को वास्तविक मर्मअनुसार अघि बढाउने र पार्टीभित्रको गुटबन्दी र व्यक्तिवादलाई चुनौती दिने निष्कर्ष निकालेको छ । कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्यहरू जीवन घिमिरे, ऋषिकेश पोखरेल, नेता विनोद ढकाल लगायतको उपस्थिति थियो ।
फाउन्डेसनको नयाँ प्रदेश समिति गठन
विराटनगरमा सम्पन्न सोही कार्यक्रमबाट गोपाल गुरागाईँको संयोजकत्वमा ३७ सदस्यीय तेस्रो प्रदेश अधिवेशन आयोजक कमिटी चयन गरेको छ । नवगठित समितिको सह–संयोजकमा युवराज बास्कोटा (मोरङ), सचिवमा सोमराज थापा (मोरङ), कोषाध्यक्षमा इच्छाकुमारी गुरुङ (ओखलढुंगा) रहेका छन् ।
सदस्यहरूमा विजय राई (सुनसरी), उषा झा (मोरङ), इरानकुमार राई (मोरङ), मृत्युञ्जय झा (मोरङ), वसन्त बानियाँ (झापा), हरिचरण शिवाकोटी (झापा), मदन अधिकारी (झापा), दीपक बुढाथोकी (धनकुटा), मनोज राई (धनकुटा), गणेश बराल (इलाम), केशव धौराली (इलाम), चन्द्रबहादुर चौलागाईँ (पाँचथर), सिंहबहादुर इङनाम (ताप्लेजुङ), सन्तोष प्रसाईँ (ताप्लेजुङ), होमनारायण चौधरी (सुनसरी), मिथिला पोखरेल (सुनसरी), जीतेन रम्तेल (सुनसरी), लोकेश निरौला (सुनसरी), गोपाल खत्री (उदयपुर), डीएन चौधरी (उदयपुर), सीता पौडेल (उदयपुर), राजीव कटुवाल (ओखलढुंगा), रामप्रसाद दंगाल (खोटाङ), भक्तकुमार राई (सोलुखुम्बु), दीलकिरण खजुम (तेह्रथुम), अर्जुन ढुंगाना (तेह्रथुम), सुन्दरी घिमिरे (संखुवासभा), यादव अधिकारी (संखुवासभा), जीतबहादुर घिमिरे (संखुवासभा), हेमकुमारी चौहान (संखुवासभा), राजकुमार दंगाल (भोजपुर), नारायण घिमिरे (भोजपुर), र कृष्णप्रसाद बास्तोला (सुनसरी/कास्की) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण