सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अफ्रिका र एसियामा माग बढेसँगै चीनको सौर्य ऊर्जा प्रविधिको कीर्तिमानी निर्यात

मङ्गलबार, १२ जेठ २०८३, १५ : ४१
मङ्गलबार, १२ जेठ २०८३

काठमाडाैँ । चीनले सन् २०२६ को मार्च महिनामा सौर्य ऊर्जा (प्रविधि/सामाग्री)को निर्यातमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यूकेस्थित ऊर्जा अनुसन्धान संस्था ‘एम्बर’ले चिनियाँ भन्सार तथ्याङ्कको विश्लेषण गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार चीनले उक्त महिनामा ६८ गिगावाट बराबरको सौर्य क्षमता निर्यात गरेको हो। यो अघिल्लो रेकर्डभन्दा ४९ प्रतिशतले बढी हो।

यो वृद्धि अघिल्लो सन् २०२५ अगस्टमा कायम भएको रेकर्डभन्दा उल्लेखनीय रूपमा उच्च हो । विश्लेषकहरूका अनुसार विश्वभर ऊर्जाको बढ्दो माग र अफ्रिका तथा एसियाली देशहरूको तीव्र आवश्यकताले यो वृद्धि सम्भव भएको हो ।

विशेषज्ञहरूले पछिल्लो समय देखिएको मागको वृद्धिलाई अमेरिकी–इजरायली–इरान युद्धका कारण तेल र ग्यासजस्ता जीवाश्म इन्धनको मूल्य बढ्नु तथा चीनले स्वच्छ ऊर्जा सामग्रीमा दिँदै आएको कर छुटलाई अप्रिल १ देखि अन्त्य गर्नुले समेत प्रभावित पारेको बताएका छन् । यसका कारण अहिले चिनियाँ सोलार प्यानलको मूल्य करिब ९ प्रतिशतले बढेको छ ।

एम्बरका वरिष्ठ विश्लेषक इउएन ग्राहामका अनुसार ‘निर्यातको मात्रा अत्यन्त विशाल छ । आगामी महिनामा कति हिस्सा कर छुटसँग सम्बन्धित हो र कति वास्तविक माग वृद्धि हो भन्ने स्पष्ट हुनेछ ।’

मार्च २०२६ मा चीनको सोलार निर्यात अघिल्लो महिनाको तुलनामा दोब्बर भएको थियो र यो भनेको स्पेनको कुल सौर्य ऊर्जा उत्पादन क्षमतासँग बराबर मानिन्छ । सोही महिनामा ५० भन्दा बढी देशहरूले चिनियाँ सोलार सामग्री आयातमा नयाँ कीर्तिमान बनाएका छन् ।

अफ्रिकी देशहरूमा सौर्य उर्जाको माग अत्यधिक बढेको देखिएको छ । नाइजेरियाको आयात फेब्रुअरीको तुलनामा ५१९ प्रतिशतले बढेर १.२ गिगावाट पुगेको छ । इथियोपियाले १.१ गिगावाट आयात गरेको छ, जुन ३९१ प्रतिशत वृद्धि हो ।

अफ्रिका विश्वको कुल सौर्य ऊर्जा सम्भावनाको करिब ६० प्रतिशत हिस्सा भएको महादेश हो । हालैका वर्षहरूमा धेरै अफ्रिकी देशहरूले सौर्य ऊर्जामा तीव्र विस्तार गरिरहेका छन्। उदाहरणका लागि, सेन्ट्रल अफ्रिकन रिपब्लिकले आफ्नो विद्युत् उत्पादनको एक तिहाइभन्दा बढी सौर्य ऊर्जाबाट प्राप्त गर्छ भने चाड, सोमालिया र मलावी लगायत १३ देशले १० प्रतिशतभन्दा बढी विद्युत् सौर्य ऊर्जाबाट उत्पादन गर्छन्।

विश्लेषक बासिल आबियाका अनुसार चीनले कर छुट अन्त्य गरे पनि अफ्रिकाको स्वच्छ ऊर्जा अभियान प्रभावित हुँदैन। एसियाली देशहरूले पनि चिनियाँ सोलार सामग्रीको आयात बढाएका छन् । भारतले मात्र मार्च महिनामा ६.६ गिगावाट आयात गरेर नयाँ रेकर्ड बनाएको छ । समग्र रूपमा अफ्रिकामा निर्यात १७६ प्रतिशतले बढेको छ भने एसियामा दोब्बर भएको छ।

एम्बरका ग्राहामका अनुसार, देशहरूले अहिले अत्यधिक मात्रामा सोलार प्यानल आयात गरिरहेका छन् र बढ्दो माग पूरा गर्न आफ्नै उत्पादन क्षमता पनि विस्तार गर्दै गएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप