सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भियतनाममा १.५ अर्ब डलरको चिप परीक्षण कारखाना खोल्दैछ सामसङ

बुधबार, १३ जेठ २०८३, ११ : ४४
बुधबार, १३ जेठ २०८३

सारांश

  • सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा करिब १.५ अर्ब अमेरिकी डलर लगानी गरी सेमिकन्डक्टर (चिप) परीक्षण कारखाना खोल्ने योजना बनाएको छ ।
  • यो कारखाना नोभेम्बर २०२७ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य छ र यसले डीर्याम तथा एनएएनडी मेमोरी चिपहरूको आपूर्ति बढाउने अपेक्षा गरिएको छ ।
  • सामसङले भियतनाममा यसअघि २३ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ ।

हानोई । सामसङ इलेक्ट्रोनिक्सले भियतनाममा झन्डै ३९० खर्ब डोंग (लगभग १ अर्ब ५० करोड अमेरिकी डलर) लगानी गरेर भियतनाममा सेमिकन्डक्टर (चिप) परीक्षण कारखाना बनाउने योजना बनाएको छ । रोयटर्सले हेरेको प्रस्ताव दस्ताबेजअनुसार यो विस्तार विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता  (एआई)सम्बन्धी माग बढेसँगै उत्पन्न मेमोरी चिप अभाव कम गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।

नयाँ कारखाना हानोईबाट करिब ६० किलोमिटर उत्तरमा रहेको औद्योगिक क्षेत्रमा निर्माण भइरहेको छ । दस्ताबेजअनुसार कारखानाले नोभेम्बर २०२७ देखि सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ । यो भियतनाममा सामसङको पहिलो चिप परीक्षण कारखाना हुनेछ । एआई डेटा सेन्टर सञ्चालकहरूको तीव्र मागका कारण डीर्‍याम र एनएनएन्डी जस्ता मेमोरी चिपहरूको आपूर्ति विश्वभर दबाबमा परेको छ, जसले स्मार्टफोन, ल्यापटप तथा अटोमोबाइल उद्योगमा समेत असर पारेको छ ।

प्रस्तावअनुसार कारखानाले मुख्य रूपमा परम्परागत चिप उत्पादनमा ध्यान दिनेछ । यस्ता चिपहरू एआई आपूर्ति शृङ्खलाका लागि अत्यधिक महत्त्वपूर्ण नभए पनि, प्रमुख उत्पादकहरूले आफ्नो उत्पादन क्षमता एआई चिपतर्फ मोडेकाले परिपक्व मेमोरी चिप्सको अभाव पनि बढिरहेको छ । दस्ताबेजमा उल्लेख भएअनुसार नयाँ प्लान्टले वार्षिक रूपमा १ खर्ब ५३ अर्ब ३० करोड गिगाबिट (जीबी) डीर्‍याम चिप तथा २ खर्ब ५५ अर्ब ६० करोड जीबी एनएएनडी मेमोरी चिप आपूर्ति गर्न सक्ने क्षमता राख्नेछ । यो प्रस्ताव वातावरणीय अनुमति प्राप्त गर्न स्थानीय प्रशासनसमक्ष पेश गरिएको थियो । सामसङले लगानीको आकार, उत्पादन क्षमता र समयरेखाबारे टिप्पणी गरेको छैन ।

भियतनामी अधिकारीहरूले मार्चमा लगानी अनुमोदन गरेका थिए । सामसुङले सम्भावित दोस्रो कारखानाको लागि परियोजनाबाट कुनै नाफा भएमा साढे २ अर्ब डलरसम्म पुनः लगानी गर्ने योजना बनाएको कागजातले भनेको छ । कारखानाले आवश्यक सबै अनुमतिहरू प्राप्त गरिसकेको छ कि छैन वा अधिकारीहरूसँग वार्ता अझै जारी छ कि छैन भन्ने कुरा स्पष्ट छैन । भियतनामका कम्पनीहरूले प्रायः वातावरणीय अनुमतिहरू पर्खिरहेको बेला निर्माण स्थलहरूमा प्रारम्भिक जग्गा काम सुरु गर्छन् ।

कम्तीमा अप्रिलदेखि २०० भन्दा बढी सामसङ इन्जिनियरहरू र कर्मचारीहरू परियोजना स्थलमा काम गरिरहेको विषयमा जानकारी दिने एक व्यक्तिले बताएका छन् । दक्षिण कोरिया भियतनामको सबैभन्दा ठुलो विदेशी लगानीकर्ता हो । गएका दशकमा यसले भियतनाममा २३ अर्ब डलर भन्दा बढीको लगानी प्रतिबद्धता गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप