सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मल मात्र मौज्दात

आगामी आर्थिक वर्षका लागि ९५ हजार मेट्रिक टन मल खरिद प्रक्रिया सुरु: राजभण्डारी
बुधबार, १३ जेठ २०८३, १३ : ३५
बुधबार, १३ जेठ २०८३

सारांश

  • साल्ट ट्रेडिङसँग हाल ३९ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताएका छन्।
  • चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय सङ्कट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याले पर्याप्त मल आयात गर्न नसकिएको उनले स्पष्ट पारे।
  • सरकारले बजेट रकमका आधारमा मलको परिमाण नतोकी विनियोजन गर्दा मल व्यवस्थापनमा समस्या हुने गरेको उनले उल्लेख गरे।

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङसँग हाल ३९ हजार मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको बताएका छन्। बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको सङ्कट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकिएको स्पष्ट पारे। 

कम्पनीले चालू आर्थिक वर्षमा करिब १ लाख २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेको जानकारी दिँदै उनले आगामी दिनमा पनि आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको बताए। कृषि मन्त्रालयले हरेक वर्ष पुस महिनामै आगामी वर्षको मल खरिद कार्यक्रम र टेन्डर प्रक्रिया सुरु गर्ने गरे पनि परिमाण नतोकी बजेट रकमका आधारमा मात्रै विनियोजन हुँदा समस्या हुने गरेको उनको भनाइ छ। 

सरकारले २० अर्ब वा २८ अर्ब भनेर रकम तोक्ने तर अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार आउने मलको परिमाण घटबढ हुने हुनाले बजेट व्यवस्था गर्दा ५ लाखदेखि ६ लाख टन मल आपूर्तिको लक्ष्यसहित परिमाण नै तोकिए मल व्यवस्थापन सहज हुने उनले उल्लेख गरे।

बैठकमा बोल्दै नायव सीईओ राजभण्डारीले भने, ‘अन्तर्राष्ट्रिय समस्याले गर्दा खेरि मल खरिद प्रक्रियामा केही अप्ठ्यारो परेको छ । हामीले चालु वर्षमा १ लाख २६ हजार मेट्रिक टन विक्री गरिसकेको अवस्था छ । त्यस्तै हामीसँग अहिले करिव ३9 हजार मेट्रिक टन रासायनिक मल अहिले मौज्दात छ । सम्पूर्ण टेण्डर प्रक्रिया समयमै हुन्छ तर अब बजेटको अभावले खरिदमा समस्या हुन्छ । कहिल्यै पनि बजेट आउँदा खेरि क्वान्टिटी नतोकीकन रकममा मात्रै तोकिन्छ । जस्तो २० अर्ब, २८ अर्ब भनेर तोकिन्छ । यदि हामीलाई नेपाल सरकारले साढे ५ लाख या ६ लाख टन मलको लागि व्यवस्था क्वान्टिटी तोक्यो भने त्यो अनुसारको बजेट व्यवस्था हुनुपर्‍यो । तर रकम तोकिने हुनाले त्यो रकमले आउने क्वान्टिटी जहिले पनि कम देखिन्छ । अहिले त्यो झन् ठुलो यो द्वन्द्वको कारणले विकराल अवस्था छ ।’

उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि मन्त्रालयको निर्देशन अनुसार ९५ हजार मेट्रिक टन मल खरिदको प्रक्रिया अघि बढाइसकेको संसद्‌लाई जानकारी दिए। यस अन्तर्गत ३० हजार टन डीएपीडीको टेन्डर गरी खरिद सम्झौता भइसकेको छ भने ३० हजार टन युरियाको टेन्डर प्रक्रिया पनि अगाडि बढाइएको छ। 

बाँकी ३० हजार टन मलका लागि प्राविधिक प्रस्ताव खोलिसकिएको र २–३ दिनमै मूल्य प्रस्ताव (प्राइस बिड) खोलिने उनले बताए। एमओपी (पोटास) तर्फ ५ हजार टनको टेन्डर प्रक्रिया पूरा भई त्यसमध्ये २ हजार ५ सय टन नेपाल आइसकेको र बाँकी २ हजार ५ सय टन ढुवानी प्रक्रियामा रहेको उनले जानकारी दिए। आपूर्तिकर्ताबाट आगामी असार मसान्तसम्म ३0 हजार टन युरिया नेपाल आइपुग्ने मौखिक आश्वासन प्राप्त भएको र उक्त मल समयमै आएमा हाल मौज्दात रहेको ३९ हजार टनसँगै करिब ७० हजार मेट्रिक टन मल बजारमा पठाउन सकिने अवस्था बन्ने उनको भनाइ छ।

नायव सीईओ राजभण्डारीले मल आयातमा सबैभन्दा ठुलो चुनौती कोलकाता बन्दरगाहको सीमित क्षमता रहेको औंल्याए। नेपालले ६ लाखदेखि ८ लाख टन मल ल्याउने योजना बनाए पनि कोलकाता पोर्टले त्यति परिमाण धान्न नसक्ने उनले बताए। वैकल्पिक बन्दरगाह प्रयोग गर्नका लागि नेपाल र भारत सरकारबिच ठोस सहमति हुन नसकेको र विशाखापट्टनम (भाइजाग) बन्दरगाह प्रयोग गर्न समेत भारतीय कम्पनीमार्फत मात्रै सम्भव हुने तथा त्यसका लागि पुनः निर्यात अनुमति आवश्यक पर्ने अवस्था रहेको उनले जानकारी दिए। 

यद्यपि, विगत केही वर्षको तथ्याङ्क हेर्दा मल आपूर्ति क्रमशः सुधारोन्मुख अवस्थामा रहेको र किसानले मागेजति मल पाउने अवस्था पूर्ण रूपमा नबने पनि मल नै नपाएको अवस्था भने नरहेको उनले दाबी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप