सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अनुहारमा आफैँ सिलिकोन इन्जेक्ट गर्दा युवतीको अवस्था भयावह

बुधबार, १३ जेठ २०८३, १८ : १०
बुधबार, १३ जेठ २०८३

काठमाडौँ । सुन्दर बन्ने, सुन्दर देखिने इच्छा त कसलाई पो नहोला र ? अधिकांश मानिस सुन्दर देखिन चाहन्छन् । पोल्यान्ड एयबिलमकी २६ वर्षीया एक युवतीले सुन्दर देखिने होडबाजीमा आफ्नो अनुहारलाई गम्भीर रूपमा बिगारेकी छिन्।

एल्भाले विशेषज्ञको निगरानी बिना अनुहारमा दैनिक रूपमा अवैध सिलिकोन इन्जेक्सन आफ्नो अनुहारमा लगाएकी थिइन् । ‘एल्भा’ भनिएकी ती युवतिलाई जन्मँदा पुरुष थिइन् । लामो समयदेखि आफ्नो अनुहार र शरीरप्रति असन्तुष्टि महसुस गर्दै आएकी उनले सुरुमा शरीरको बोसो घटाउने औषधिहरू प्रयोग गर्न थालेकी थिइन् । उनले ती इन्जेक्सनहरू हप्तामा दुई पटक आफैँ लगाउँथिन् ।

पछि अनुहार अत्यधिक पातलो देखिन थालेपछि उनले अनुहार भर्न अनलाइनमार्फत अवैध सिलिकन र अन्य कस्मेटिक पदार्थ खरिद गरेर प्रयोग गर्न थालिन् । ‘सुरुसुरुमा त मैले हप्तामा एक पटक मात्रै सिलिकन इन्जेक्सन गर्थे । तर पछि म बहकिए अनि हरेक दिन गर्न थाले ।’ उनले भनिन् । पोल्याण्डको राजधानी वर्शामा बस्दै काम गर्दा कमाइको ठुलो हिस्सा उनले यिनै सामग्रीमा खर्च गर्थिन् ।

पोलिस सञ्चारमाध्यम जीजेइन डोब्रीसँगको अन्तर्वार्तामा विशेषज्ञ उपचार महँगो भएकाले आफूले अनलाइनबाट सजिलै पाइने अवैध सामग्री प्रयोग गर्न बाध्य भएको अनुभव एल्भाले सुनाएकी थिइन् ।

तर प्रमाणित नभएका र अनियमित रूपमा प्रयोग गरिएका ती पदार्थका कारण उनको अनुहारमा गम्भीर असर पर्‍यो । उनी नचिनिने भएकी छिन् । अहिले उनको अनुहारमा अत्यधिक सुन्निएको छ । मुहारभरि दागै दाग छन् अनि विकृत देखिएको छ । आँखाको वरिपरि सुन्निएर आँखा लगभग बन्द अवस्थामा पुगेका छन् ।

चिकित्सा विशेषज्ञ मारेक वासिलुकका अनुसार ती युवतीले प्रयोग गरेका पदार्थहरू प्रमाणित नभएकाले भविष्यमा सङ्क्रमण, गम्भीर रूपमा सुन्निने वा जीवनलाई नै जोखिममा पार्ने अवस्था आउन सक्ने खतरा छ । विशेष रूपमा आँखाको अवस्था सबैभन्दा चिन्ताजनक रहेको उनले बताएका छन् । अहिले आफूले आफ्नो दैनिक रूपमा मान्छेका जिज्ञासु नजर र बेतुका टिप्पणीहरूको सामना  गर्नु परेको एल्भाको भनाइ छ । 

उनकी आफ्नै आमा पनि उनको स्वास्थ्यको बारेमा चिन्तित छिन् । तर छोरीको अहिलेको समस्या बाहिरी रूपमा मात्रै भएको अनि जीवन नै धरापमा पर्ने खालको छैन भनेर आमाले एल्भाले बारम्बार आश्वस्त पारिरहन्छिन्।

मनोवैज्ञानिक पाउलिना मिएर्जेजेव्स्काले यो अवस्था शरीरको डिसमर्फिया भनिने मानसिक समस्यासँग सम्बन्धित हुन सक्ने बताएकी छिन् । यस्तो अवस्थामा व्यक्तिले आफ्नो रूपप्रति अत्यधिक असन्तुष्टि राख्दै वास्तविकता भन्दा फरक आदर्श रूप प्राप्त गर्न जोखिमपूर्ण कदम चाल्ने सम्भावना हुन्छ।

डाक्टरहरूले अहिले उनको स्वास्थ्य पुनःस्थापना गर्न सजिलो नभएको बताएका छन् । यो सम्भव भएपनि यसका लागि निकै समय लाग्ने बताइएको छ । 

पहिले मनोवैज्ञानिक परामर्श आवश्यक हुने र त्यसपछि एमआरआईलगायत परीक्षणमार्फत अनुहारमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्नुपर्ने बताइएको छ। यो घटनाले पोल्यान्डमा अनलाइन कालोबजारीमार्फत उपलब्ध हुने अवैध सौन्दर्य सामग्री र स्वयं इन्जेक्सन गर्ने जोखिमपूर्ण अभ्यासबारे गम्भीर बहस सुरु गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप