सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

हामीले क्युबामा जे देख्यौँ

बिहीबार, १४ जेठ २०८३, १४ : ३०

सारांश

  • क्युबामा अमेरिकी नाकाबन्दीका कारण अस्पतालहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा इन्क्युबेटरमा रहेका नवजात शिशुको जीवन जोखिममा परेको छ।
  • इन्धन अभावले गर्दा अस्पतालका कर्मचारीलाई काममा आउन गाह्रो भइरहेको छ र भेन्टिलेटरजस्ता उपकरणहरू चिकित्सकहरूले आफैँ चलाउन बाध्य भएका छन्।
  • अमेरिकी नाकाबन्दीले क्युबाको स्वास्थ्य सेवा, स्वच्छ पानी, कृषि र यातायात क्षेत्रमा गम्भीर असर पारेको छ, जसले गर्दा बालमृत्युदर बढेको छ।

अलेजान्ड्रो आमाको गर्भमा परिपक्व जैविक चरण पार गर्नुअघि नै जन्मिएका बालक हुन्। हामीले भेट्दा उनी क्युबाको राजधानी हवानास्थित युसेबियो हर्नान्डेज पेरेज मातृशिशु अस्पतालमा थिए। उनको तौल केवल २ पाउन्ड मात्रै थियो। उनी इन्क्युबेटरमा थिए।

ठीक त्यति नै बेला उनी भर्ना भएको अस्पतालसहित क्युबाभर उच्च विद्युतीय क्षमताको इलेक्ट्रोनिक प्रणाली ध्वस्त भयो। अन्य अस्पतालमा अब त्यस्तो प्रणाली बाँकी थिएन। क्युबाभर विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालको हालत त्यस्तो हुन पुगेको हो। अमेरिकाले क्युबामा लगाएको सशक्त नाकाबन्दीका कारण थप इन्क्युबेटर मर्मतका सामग्री आयात गर्न पनि असम्भव जस्तै छ।

अस्पताल भ्रमण गर्ने क्रममा हामीले अप्ठ्यारो गरी भर्‍याङ उक्लिँदै गरेकी गर्भवती महिला पनि देख्यौँ। उनी बच्चा जन्माउने अन्तिम समयमा भएजस्तो देखिन्थिन्। अस्पतालमा बिजुलीको अभावमा ‘एलिभेटर’हरू चल्न नसक्ने हालतमा छन्।

अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई सवारीसाधनमा हाल्ने इन्धनको अभावमा काममा आइपुग्न गाह्रो भइरहेको छ। विद्युत् आपूर्ति बन्द भएको समयमा डाक्टरहरू कहिलेकाहीँ त ‘भेन्टिलेटर’लाई आफैँले ‘पम्प’ गरेर पनि बच्चालाई बचाइरहेका छन्।

हामी अमेरिकी नाकाबन्दीको नीतिले त्यहाँ पारेका अमानवीय प्रभाव देखेर छक्क पर्‍यौँ।

अस्पतालले जसोतसो अनेक प्रबन्ध गरेर पनि बालमृत्युदर बढ्नबाट रोकिरहेकै छ। तर क्युबाले अन्य सेवा–सुविधाको हकमा भने त्यसो गर्न सकेको छैन। सन् २०१८ देखि अहिलेसम्म आइपुग्दा क्युबामा अमेरिकी नाकाबन्दी थप कठोर बन्दै गएको छ। यी तमाम अवरोधका कारण कुनै समय संसारमै अनुकरणीय मानिने क्युबाको बालमृत्युदर १४८ प्रतिशतसम्म बढेको छ।

अमेरिकी संसद्को परराष्ट्र मामिला समितिको सदस्यका रूपमा हामीले गत अप्रिल महिनामा क्युबामा पाँच दिन बितायौँ। हामी अमेरिकाले महिनौँदेखि सानो टापु देश क्युबामा लगाएको ऊर्जा नाकाबन्दीको मानवीय प्रभावहरू राम्रोसँग बुझ्न गएका थियौँ।

हामी अमेरिकी नाकाबन्दीको नीतिले त्यहाँ पारेका अमानवीय प्रभाव देखेर छक्क पर्‍यौँ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भनेजस्तै त्यस्ता नीतिको उद्देश्य नै क्युबाली जनतालाई बर्बाद गर्दै त्यहाँ अमेरिका हाबी हुने अवस्था नभएसम्म अर्थतन्त्रको घाँटी थिच्नु रहेको प्रस्टै देखिन्थ्यो।

१० देखि बढीमा १४ दिनका लागि पुग्ने तेल बोकेको एउटा रुसी तेल ट्याङ्कर आएको बाहेक चार महिनायता क्युबामा इन्धन ढुवानी ठप्प छ। अन्य देशहरूले आफ्ना जहाज पठाउँदा अमेरिकी सेनाले कब्जा गर्ने डर छ। फलतः क्युबालीहरू हरेक दिन अपहेलित एवं अपमानजनक जीवनको सामना गरिरहेका छन्।

हामी आफ्नो यात्रा पूरा गरेर फर्किएका छौँ। अमेरिकी जनतालाई क्युबामा अहिले खास के भइरहेको छ भन्ने पूर्ण रूपमा थाहा भयो भने उनीहरूले तत्काल नाकाबन्दी अन्त्यको माग गर्नेछन् भन्नेमा हामी ढुक्क छौँ।

अमेरिकाले क्युबामा लगाएको इन्धन आयात प्रतिबन्ध आधुनिक अमेरिकी इतिहासको सबैभन्दा लामो समयसम्म चलेको नाकाबन्दी हो। यस्तो कदमले प्रत्येक मुलुकको स्वतन्त्र व्यापार, आन्तरिक मामिलामा अहस्तक्षेप तथा राज्यको सार्वभौमसत्तासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरिरहेको छ।

क्युबामा अमेरिकी उत्पादन निर्यात गर्न अरू कसैले रोकेको छैन, केवल अमेरिकाको आफ्नै वित्तीय प्रतिबन्धहरूले मात्रै रोकेको हो।

नाकाबन्दीले केवल क्युबाको आधारभूत पूर्वाधारहरूमा आर्थिक आक्रमण मात्रै गरिरहेको छैन, मानवीय सङ्कट सिर्जना गरेर ठूलो जनसङ्ख्यालाई सामूहिक सजायसमेत दिइरहेको छ। क्युबामा अहिले अमेरिकी नाकाबन्दीकै कारण स्वास्थ्य सेवा, स्वच्छ पानी, कृषि र यातायात क्षेत्रका सेवाहरूसमेत अवरुद्ध भएका छन्।

क्युबा भ्रमणका क्रममा हामीले त्यहाँका धेरै नागरिकहरूसँग कुरा गर्‍यौँ। जसमा राजनीतिक रूपमा असन्तुष्ट एवं अल्पमतमा रहेकाहरूदेखि धार्मिक अगुवा, उद्यमीहरू तथा नागरिक समाज एवं मानवीय सहायता समूहका सदस्यहरूसम्म थिए। हामीले त्यहाँका राजनीतिक बन्दीका परिवारहरूसँग पनि भेट्यौँ।

सबै जना दुईवटा विषयमा पूर्ण सहमत थिए: अमेरिकाको नाकाबन्दी अन्त्य हुनुपर्छ र क्युबामा अमेरिकी आक्रमण हुनु हुँदैन।

अमेरिकीहरूले क्युबासँगको सम्बन्ध सामान्यीकरण गर्दा कसरी फाइदा लिन सक्छन् भन्ने पनि हामीले आफ्नै आँखाले देख्यौँ। विविध परिवेशमा क्युबा अमेरिकाको स्वाभाविक व्यापार साझेदार हुन सक्छ। अमेरिकामा दुवै पार्टी (डेमोक्र्याट वा रिपब्लिकन) ले जितेका राज्यका धेरै कृषिमन्त्रीहरू अमेरिकी कृषि उत्पादन क्युबामा निर्यात गर्ने अवसर खोज्नका लागि क्युबा गएका छन्।

क्युबामा अमेरिकी उत्पादन निर्यात गर्न अरू कसैले रोकेको छैन, केवल अमेरिकाको आफ्नै वित्तीय प्रतिबन्धहरूले मात्रै रोकेको हो।

विगत धेरै दशकदेखि सार्वजनिक स्वास्थ्यको मामिलामा विश्वव्यापी मोडलकै रूपमा मानिँदै आएको क्युबाली स्वास्थ्य सेवा प्रणालीले अल्जाइमर र फोक्सोको क्यान्सरको सम्भावित उपचारसहित अमेरिकीहरूमाझ विस्तार गर्न सक्ने महत्त्वपूर्ण प्रगति हासिल गरेको छ। क्युबा र अमेरिका दुवैले पर्यटनबाट पनि फाइदा उठाउन सक्छन्।

केही समयअघि मात्रै क्युबाली–अमेरिकीहरू संलग्न घातक समुद्री गोलीबारीबारे अमेरिकी अनुसन्धान संस्था एफबीआईलाई अनुसन्धानको अनुमति दिने कदमले पनि पारदर्शिता र सद्भावना देखाएको छ।

तत्कालीन राष्ट्रपति बाराक ओबामाले क्युबासँग सम्बन्ध सामान्यीकरण गर्न थाल्नासाथ क्युबावरपर होटल, रेस्टुरेन्ट र पसलहरू फस्टाउन थालेका थिए। त्यसले एक प्रकारले क्युबाली अर्थतन्त्रको उदारीकरण गर्नुका साथै त्यहाँ उदाउँदो स्वतन्त्र नागरिक समाजलाई प्रोत्साहितसमेत गरेको थियो।

क्युबाली सरकारले राजनीतिक र नागरिक अधिकार सुधार गर्ने प्रयास गरेको छ। उसले आन्तरिक रूपमा अझ धेरै काम गर्न सक्छ, त्यसो गर्नै पनि पर्छ। सरकारले मनोमानी रूपमा नजरबन्द र राजनीतिक कैदीहरूको दुर्व्यवहार रोक्ने विषय पनि यसमा पर्छ।

हामीले यस्तो विषय त्यहाँका राष्ट्रपति मिगेल डियाज–क्यानेलसँगको हाम्रो छलफलमा पनि राखेका थियौँ। क्युबा सरकारले केही महत्त्वपूर्ण कदमहरू पनि चालेको छ, जस्तै: २०१० जना कैदी रिहाइको घोषणा। त्यस्तो कदमलाई त्यहाँको सरकारी अखबारले ‘मानवीय र सार्वभौम’ सङ्केतको रूपमा उल्लेख गरेको छ।

केही समयअघि मात्रै क्युबाली–अमेरिकीहरू संलग्न घातक समुद्री गोलीबारीबारे अमेरिकी अनुसन्धान संस्था एफबीआईलाई अनुसन्धानको अनुमति दिने कदमले पनि पारदर्शिता र सद्भावना देखाएको छ।

नाकाबन्दीको समयमा ट्रम्प र उनको प्रशासनले खोजेका धेरैजसो आर्थिक परिवर्तनहरू यसअघि नै लागू भइसकेका छन्। त्यहाँको सरकारले हालै क्युबाली–अमेरिकी उद्यमीहरूलाई निजी व्यवसायमा लगानी गर्न अनुमति पनि दिएको छ। अहिले त्यहाँ साना र मध्यम आकारका व्यवसायहरूले अर्थतन्त्र र श्रमशक्तिको ठूलो हिस्सा ओगटेका छन्।

अब अझ सैन्य कारबाहीसमेत गर्ने हो भने त्यसले क्युबामा थप विनाश ल्याउनुका साथै ठूलो आर्थिक क्षतिसहित धेरै क्युबालीहरू आफ्नो थातथलो छोडेर भाग्नुपर्ने अवस्था मात्र निम्त्याउनेछ।

तर उदारीकरणलगायतका सुधारहरूले अमेरिकाले क्युबाली अर्थतन्त्र ध्वस्त पार्न जानाजान थालेको अभियानको प्रतिरोध भने गर्न सक्दैन। गत केही हप्तादेखि ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले क्युबाको अर्थतन्त्रलाई नै लक्षित गरेर व्यापक मात्रामा नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन्।

त्यसो गर्दै गर्दा क्युबाले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउँछ भन्ने बहाना बनाइएको छ।

क्युबाविरुद्ध प्रयोग गरिएका यस्ता तरिकाले क्युबालीहरूको दैनिक जीवन सुधार गर्ने कुराको सबैभन्दा ठूलो बाधक नै अमेरिकाको पुरानो शीतयुद्धकालीन आर्थिक जबर्जस्ती र सैन्य दबाबको नीति हो भन्ने प्रस्ट पारेका छन्। यस्तो नीतिको परिणामस्वरुप क्युबाली जनताले एक्लोपन र पीडा भोगिरहनुपरेको छ।

अब अझ सैन्य कारबाहीसमेत गर्ने हो भने त्यसले क्युबामा थप विनाश ल्याउनुका साथै ठूलो आर्थिक क्षतिसहित धेरै क्युबालीहरू आफ्नो थातथलो छोडेर भाग्नुपर्ने अवस्था मात्र निम्त्याउनेछ।

अमेरिका र क्युबासामु धेरै सकारात्मक विकल्पहरू विद्यमान छन्। पारस्परिक सम्मानमा आधारित रहँदै दुवै देशका जनतालाई फाइदा पुर्‍याउने लक्ष्य राख्ने हो भने उनीहरू अहिले चलिरहेको खराब अध्यायको अन्त्य गर्दै वास्तविक छलफल एवं वार्ता सुरु गर्न सक्छन्।

क्युबा पुगेर आएपछि हामी थप आशावादी एवं विश्वस्त भएका छौँ। अबका दिनमा हवाना अस्पतालमा भेटिएका अलेजान्ड्रो जस्ता बालबालिका तथा क्युबाली जनताको भावी पुस्ताका लागि अमेरिकी जनताको उदारता अनुभव गर्दै सुन्दर भविष्यको आशा राख्ने वास्तविक अवसर जीवितै छ।

(लेखकद्वय अमेरिकी सांसद हुन्।)

– न्युयोर्क टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला जयपाल
प्रमिला जयपाल
लेखकबाट थप
जोनाथन एल. ज्याक्सन
जोनाथन एल. ज्याक्सन
लेखकबाट थप