बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौँडामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

आइतबार, १७ जेठ २०८३, १० : २२
आइतबार, १७ जेठ २०८३

सारांश

  • हेटौँडाको तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक अच्युत ओझालाई विद्यार्थी कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
  • कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थीलाई कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेपछि अस्पतालमा उपचार गरिएको थियो ।
  • पीडितका बुबाले जाहेरी दिएपछि प्रहरीले शिक्षक ओझालाई निवासबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

मकवानपुर । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा हेटौँडा–७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, गत जेठ ७ गते दिउँसो करिब १२ः४० बजेको समयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई कक्षाकोठामै बसिरहेको अवस्थामा शिक्षक ओझाले कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका ती विद्यार्थीको हेटौँडा अस्पतालमा उपचारको लागि पुर्‍याइएको थियो ।

हेटौँडा अस्पतालमा उपचार नभएपछि उनलाई चितवन स्थित नयाँ मेडिकल कलेज पुर्‍याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घाइते विद्यार्थीको हाल नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ । अस्पतालका अनुसार बालकको अवस्था मध्यम रहेको उनले बताए ।

पीडितका बुबा रामकृष्ण भुजेलले शनिबार बालबालिका विरुद्धको कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले शिक्षक ओझालाई शनिबार साँझ ६ः४५ बजे हेटौँडा–६, पुतलीबजारस्थित उनकै निवासबाट पक्राउ गरेको प्रवक्ता काफ्लेले बताए । पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप