कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
सारांश
- गोलले सधैं उपाधि सुनिश्चित नगरे पनि, धेरै गोल गर्ने खेलाडीले टोलीलाई सफलता हासिल गर्ने अवसर दिन्छ ।
- इतिहास हेर्दा ३० वर्ष वा सोभन्दा बढी उमेरका खेलाडीले गोल्डेन बुट जित्ने सम्भावना कम छ, औसत उमेर २४.७ वर्ष छ ।
- गोल्डेन बुट जित्नका लागि उत्कृष्ट पास मिलाउने टोली र प्रतियोगितामा टोलीको लामो यात्रा आवश्यक पर्छ ।
सन् २०२२ को विश्वकपको अन्त्यमा गोल्डेन बुट ट्रफी ग्रहण गर्दा केलियन एमबाप्पेको ओठबाट मुस्कान निस्किएन ।
फ्रान्स फाइनलमा पराजित भएको थियो, यद्यपि उनले ह्याट्रिक गरेका थिए । गोलले सधैं उपाधि सुनिश्चित गर्दैन, तर धेरै गोल गर्ने स्ट्राइकरले आफ्नो टोलीलाई सफलता हासिल गर्ने अवसर भने अवश्य दिन्छ ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको अर्को संस्करण नजिकिँदै गर्दा हामी गोल्डेन बुट विजेताहरूमा देखिने साझा विशेषताहरूको समीक्षा गर्दैछौं र २०२६ मा सर्वाधिक गोलकर्ता बन्न सक्ने प्रमुख दाबेदारहरूको मूल्याङ्कन गर्दैछौं ।
अनुभवी खेलाडीका लागि इतिहास अनुकूल छैन
ह्यारी केनका लागि एउटा नराम्रो समाचार छ । इतिहासलाई आधार मान्ने हो भने २०२६ को गोल्डेन बुट ३० वर्ष वा त्यसभन्दा माथिका खेलाडीले जित्ने सम्भावना कम छ । अहिलेसम्म यस्तो केवल एकपटक मात्र भएको छ । सन् १९९८ को फ्रान्स विश्वकपमा ३० वर्षीय डेभोर सुकरले ६ गोल गर्दै क्रोएसियालाई तेस्रो स्थान दिलाएका थिए र गोल्डेन बुट जितेका थिए ।
सुकर अपवाद हुन् । औसतमा गोल्डेन बुट विजेताको उमेर २४.७ वर्ष रहेको छ । २०२२ मा २४ वर्षीय एम्बाप्पेले ३५ वर्षीय लियोनल मेसी भन्दा एक गोल बढी गर्दै यो औसतलाई केही तल झारेका थिए ।
सबैभन्दा कम उमेरमा गोल्डेन बुट जित्ने कीर्तिमान २० वर्ष ८ महिनाका हंगेरीका फ्लोरियन अल्बर्टको नाममा छ । उनले सन् १९६२ को चिली विश्वकपमा संयुक्त रूपमा यो पुरस्कार जितेका थिए । १८ वर्षीय लामिन यामलको नजर पनि यही कीर्तिमानमा हुन सक्छ ।
एक्लैले गोल्डन बुट जित्न सकिँदैन
यसको लागि सफल स्ट्राइकरलाई दुई कुरा आवश्यक पर्छन् । त्यो हो उत्कृष्ट पास मिलाउने टोली र प्रतियोगितामा लामो यात्रा । यसैले पाँचपटक विश्वविजेता ब्राजिलले प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छ खेलाडी उत्पादन गरेको छ ।
ब्राजिलका पहिलो गोल्डेन बुट विजेता सन् १९३८ मा लियोनिडास बनेका थिए भने पछिल्ला विजेता सन् २००२ रोनाल्डो बनेका थिए ।
समूह चरणमा धेरै गोल गर्नु राम्रो सुरुआत हो, तर नकआउट चरणमा टोली अघि बढ्न सकेन भने गोल्डेन बुट जित्ने सम्भावना निकै घट्छ ।
यसको उदाहरण सन् २०१८ को रूस विश्वकपमा क्रिस्चियानो रोनाल्डो थिए । उनले समूह चरणमा चार गोल गरे पनि पोर्चुगल अन्तिम १६ बाट बाहिरियो । उता केनले छ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।
तर एउटा अपवाद पनि छ । सन् १९९४ को विश्वकपमा ओलेग सालेन्कोले क्यामरुनविरुद्ध ६–१ को जितमा पाँच गोल गरेका थिए । रूस समूह चरणबाटै बाहिरिए पनि उनको कुल ६ गोल गोल्डेन बुट जित्न पर्याप्त भयो ।
क्लबमा उत्कृष्ट लय बनाएर विश्वकप
थोमस मुलरले २०१० विश्वकपअघि जर्मनीका लागि कुनै गोल गरेका थिएनन् । ‘म सही समयमा उत्कृष्ट लयमा थिएँ, त्यसैले भाग्यमानी साबित भएँ,’ गोल्डेन बुट जितेपछि मुलरले भनेका थिए । २००९–१० को बुन्डेसलिगा सिजनमा उनी बायर्न म्युनिखबाट ऋणमा पठाइने वा बेचिने सम्भावना थियो । तर प्रशिक्षक लुइस भान गाल आएपछि उनी नियमित खेलाडी बने ।
मुलरले त्यस सिजन १३ गोल र ११ असिस्ट गर्दै बायर्नलाई लिग उपाधि जिताउन मद्दत गरे । सफल क्लब सिजनपछि उनी उत्कृष्ट फर्ममा विश्वकप पुगेका थिए ।
गोल्डेन बुट विजेताहरूमा यस्तो कथा बारम्बार दोहोरिएको छ । घरेलु लिगमा शीर्ष चारभन्दा बाहिर रहेका क्लबका खेलाडी केवल दुईपटक मात्र विश्वकपका सर्वाधिक गोलकर्ता बनेका छन् ।
बहुआयामिक खेलाडी
सन् २०१० मा मुलरले निकै अनुभवी खेलाडीहरूलाई पछि पार्दै गोल्डेन बुट जितेका थिए । २० वर्षीय मुलर र उरुग्वेका म्ष्भनय ँयचबिल ले तेस्रो स्थानको खेलमा एक–एक गोल गरेपछि उनीहरू पाँच गोलका साथ स्पेनका डेभिड भिल्ला र नेदरल्यान्ड्सका वेस्ली स्नेइज्डरको बराबरीमा पुगेका थिए ।
फाइनलमा भिल्ला र स्नाइडरले गोल गर्न नसकेपछि विजेता तय गर्न असिस्टको संख्या हेरियो । मुलरका तीन असिस्ट निर्णायक बने ।
यदि गोल र असिस्ट दुवैमा पनि बराबरी भएमा, फिफाले कम समय मैदानमा बिताएको खेलाडीलाई गोल्डेन बुट प्रदान गर्छ ।
२०२६ गोल्डेन बुटका प्रमुख दाबेदारहरू को हुन् ?
अहिलेसम्म कुनै पनि खेलाडीले विश्वकप गोल्डेन बुट दुईपटक जितेका छैनन् । तर यसपटक दुई खेलाडीले इतिहास बनाउन सक्ने सम्भावना छ ।
एम्बाप्पे
एम्बाप्पेले विश्वकप छनोटमा चार गोल गरेका छन् । प्रतियोगिताका बलिया टोलीहरूमध्ये एक मानिएको फ्रान्स २०२२ को फाइनलिस्ट भएकाले अन्तिम चरणसम्म पुग्ने सम्भावना बलियो छ ।
ह्यारी केन
३२ वर्षीय केन औसत विजेताभन्दा धेरै उमेरका भए पनि उनी साधारण खेलाडी होइनन् । उनले यस सिजन क्लबका लागि ५४ गोल गरेका छन् । यदि प्रशिक्षक थोमस टुचेल को टोली धेरै टाढासम्म पुग्यो भने केनबाट गोलको अपेक्षा गर्न सकिन्छ ।
लियोनेल मेस्सी
मेस्सीले आफ्नो करियरमा असंख्य व्यक्तिगत पुरस्कार जितेका छन् । तर उनका आठवटा बेलोन डि’ओर ट्रफीको छेउमा गोल्डेन बुटको अभाव छ । ३८ वर्षको उमेरमा २०२६ विश्वकप उनको अन्तिम अवसर हुन सक्छ ।
लामिन यामाल
फाइनल हुनुभन्दा एक साताअघि यामाल १९ वर्षका हुनेछन ्। स्पेनले २०१० पछि अन्तिम १६ पार गर्न नसके पनि २०२४ युरोमा टोलीले आफ्नो क्षमता प्रमाणित गरेको थियो ।
एर्लिङ हालान्ड
एर्लिङ हालान्डले यस सिजन म्याचेस्टर सिटीका लागि २६ लिग गोल गरेका छन् । तर उनको सम्भावना नर्वे प्रतियोगितामा कति लामो समय टिक्छ भन्नेमा निर्भर हुनेछ । उनले छनोटका आठ खेलमा १६ गोल गरेका थिए ।
क्रिस्टियानो रोनाल्डो
चार फरक क्लबका लागि १०० भन्दा बढी गोल गर्ने एकमात्र खेलाडी रोनाल्डो ४१ वर्षको उमेरमा पनि गोल्डेन बुटको लक्ष्य लिएर मैदान उत्रनेछन् ।
पोर्चुगलले २००६ यता विश्वकप नकआउट चरणमा केवल एक जित निकालेको छ, तर टोलीमा असिस्टका महारथी ब्रुनो फर्नान्डेज सहित बलियो खेलाडी समूह भएकाले अन्तिम चरणसम्म पुग्ने सम्भावना छ ।
भिनिसियस जुनियर
२५ वर्षीय भिनिसियस जुनियरले चुनौतीपूर्ण सिजनका बीच २१ गोल र १४ असिस्ट गरेका छन् । तर दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा रहेको ब्राजिलले उनलाई कत्तिको अवसर प्रदान गर्न भन्नेले पनि निर्धारण गर्न सक्छ ।
उस्मान डेम्बेले
उस्मान डेम्बेलेले २०२४–२५ जस्तो असाधारण सिजन नबिताए पनि यसपटक पनि पेरिस सेन्ट–जर्मनका लागि १९ गोल गरेका छन् । फ्रान्ससँग आक्रमणमा धेरै विकल्प छन्, तर डेम्बेले नियमित खेलाडी रहने सम्भावना भएकाले एम्बाप्पेसँग प्रतिस्पर्धा गर्न सक्छन् ।
अर्जेन्टिनाका थप दाबेदार
लाउटरो मार्टिनेज र जुलियन अल्भारेज पनि बलिया दाबेदार हुन् । मार्टिनेजले कोपा अमेरिका २०२४ को फाइनलमा निर्णायक गोल गर्दै पाँच गोलका साथ गोल्डेन बुट जितेका थिए भने अल्भारेज उत्कृष्ट सिजनपछि युरोपका सबैभन्दा रुचिसाथ लिइएका स्ट्राइकरमध्ये एक बनेका छन् ।
अन्य बाहिरी दाबेदार
यी सबै अनुमानित नामहरू हुन्, तर केही अप्रत्याशित दाबेदारहरू पनि देखिन सक्छन् । मिकेल ओयारजाबलले विश्वकप छनोटका अधिकांश खेलमा गोल गरेका थिए र यस सिजन १५ ला लिगा गोल गरेका छन् । चोटमुक्त रहेमा उनलाई यामाल र निको पिलियम्सले प्रशस्त अवसर सिर्जना गर्नेछन् ।
अलेकजान्डर आइज्याक चोटग्रस्त सिजनपछि फिट भएर स्विडेनका लागि चम्कन सक्छन् । उनका स्वदेशी साथी भिक्टर ग्योकेरेज पनि दाबेदार हुन सक्छन् ।
राफिन्हाको सिजन पनि चोटका कारण प्रभावित भयो, तर उनी अझै पनि खतरनाक आक्रमणकारी खेलाडी हुन् । ब्राजिलको अग्रपंक्तिमा उनी भिनिसियस र इगोर थियागोसँग खेल्ने सम्भावना छ ।
माइकल ओलिसेले बायर्नका लागि सबै प्रतियोगितामा २२ गोल गरेका छन् । उनी मुख्यतः असिस्ट मेसिन मानिन्छन् र यस सिजन ३० असिस्ट गरेका छन् । फ्रान्सले धेरै अवसर सिर्जना गर्ने भएकाले उनी पनि गोल्डेन बुटका दाबेदार बन्न सक्छन् ।
अन्त्यमा, अर्को अनुभवी खेलाडी रोमेलु लुकाकुलाई पनि बिर्सन सकिँदैन । बेल्जियमसँग सिर्जनात्मक खेलाडीहरूको कमी छैन र नापोलीका फरवार्ड लुकाकु कुनै पनि दिन खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन् । समूह चरणको एउटा खेलमै धेरै गोल गरेर नकआउट चरणमा थप गोल थप्ने खेलाडीको रूपमा उनी खतरनाक साबित हुन सक्छन् ।
फ्लोरा स्नेल्सन/बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण