ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुबिचको फोन वार्ताले इरानसँगको कूटनीतिक संवादलाई जटिल बनाएको छ।
- ट्रम्पले नेतन्याहुलाई फोनमा पागल भनेको र आफूप्रति कृतघ्न व्यवहार गरेको आरोपको मूल भाव स्वीकार गर्दै लेबनन विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
- इजरायलले लेबननमा सैन्य आक्रमण तीव्र पारेपछि इरानले अमेरिका–इरान वार्ता निलम्बन गर्न सक्ने चेतावनी दिएको छ, जसले ट्रम्पको आणविक सम्झौताको प्रयासमा धक्का पुग्नसक्ने देखिएको छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुबिच भएको भनिएको तनावपूर्ण टेलिफोन वार्ताले इरानसँगको कूटनीतिक संवादलाई थप जटिल बनाएको छ।
ट्रम्पले नेतन्याहुलाई फोनमा अत्यन्त पागल भनेको र आफूप्रति कृतघ्न व्यवहार गरेको आरोप लगाएको दाबी अमेरिकी सञ्चारमाध्यम एक्सियोसले गरेको थियो। यसबारे सोधिएको प्रश्नमा ट्रम्पले उक्त रिपोर्टको मूल भाव स्वीकार गरेका छन्।
'म रिसाएको थिएँ भन्न मिल्दैन, तर लेबननसँग निरन्तर लडाइँ गरिरहेको विषयमा म केही असन्तुष्ट थिएँ,’ पोड फोर्स वन नामक पोडकास्टमा बोल्दै ट्रम्पले भने । तर उनले नेतन्याहुसँग आफ्नो सम्बन्ध राम्रो रहेको र आफूले उनलाई मन पराउने पनि बताए।
इजरायलले लेबननमा सैन्य आक्रमण तीव्र बनाएपछि इरानले अमेरिका–इरान वार्ता निलम्बन गर्न सक्ने चेतावनी दिएको छ। यसले इरानसँगको युद्ध अन्त्य गरी नयाँ आणविक सम्झौताका लागि वार्ता अघि बढाउने ट्रम्पको प्रयासमा धक्का पुग्न सक्ने देखिएको छ।
यसैबिच नेतन्याहुले ट्रम्पसँगको सम्बन्धमा कुनै गम्भीर समस्या नभएको दाबी गरेका छन्। ‘राम्रो परिवारमा जस्तै कहिलेकाहीँ रणनीतिक मतभेद हुन्छन्। हामी सधैँ समाधान निकाल्छौं र महान मित्रका रूपमा अघि बढ्छौँ,’ अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीसँगको अन्तर्वार्तामा उनले भने । ट्रम्प र आफूअसहमत भएपनि केही बेरमै फेरि सहमत हुन सक्ने पनि उनले बताए ।
तर राजनीतिक तथा कूटनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले ह्वाइट हाउसभित्र इजरायल र अमेरिकाको रणनीतिक उद्देश्यबीचको अन्तरलाई लिएर बढ्दो असन्तुष्टि झल्काउन सक्छ। पूर्व अमेरिकी कूटनीतिज्ञ तथा ग्लोबल सिचुएसन रुमका अध्यक्ष ब्रेट ब्रुएनका अनुसार नेतन्याहुको आफ्नै राजनीतिक र सुरक्षा एजेन्डा छ, जुन सधैँ वासिङ्टनको प्राथमिकतासँग मेल नखान सक्छ। उनले ट्रम्पले नेतन्याहुसँग युद्धको बाटो रोजेपछि त्यसका जटिल परिणामहरू अहिले महसुस गरिरहेको टिप्पणी गरेका छन्।
अमेरिका र इजरायल दुवै इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने लक्ष्यमा सहमत भए पनि लेबननको विषयमा उनीहरूको दृष्टिकोण केही फरक देखिएको छ। इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताइरहेको छ, जबकि इरानले कुनै पनि युद्धविराम सम्झौतामा लेबननलाई पनि समावेश गर्नुपर्ने अडान राखेको छ।
यसबिच अमेरिकी जनमतमा पनि परिवर्तन देखिएको छ। हालै सार्वजनिक एक सर्वेक्षणअनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिकको इजरायलबारे नकारात्मक धारणा रहेको छ। सन् २०२३ मा गाजा युद्ध सुरु हुनुअघि यस्तो धारणा राख्नेहरूको संख्या ४२ प्रतिशत थियो।
अमेरिकाका केही प्रभावशाली रूढीवादी नेताहरूले पनि इजरायलले ट्रम्प प्रशासनलाई इरानसँगको युद्धतर्फ धकेलेको आरोप लगाएका छन्। यद्यपि ह्वाइट हाउस र इजरायली सरकारले यस्तो आरोप अस्वीकार गरेका छन्।
विश्लेषकहरूका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा ट्रम्पले घरेलु आलोचकहरूलाई सन्तुष्ट पार्न इजरायलसँग केही दूरी देखाउने आवश्यकता महसुस गर्न सक्छन्। त्यसैले ट्रम्प–नेतन्याहुबिचको पछिल्लो मतभेद केवल व्यक्तिगत असमझदारी नभई व्यापक राजनीतिक र कूटनीतिक दबाबको परिणाम पनि हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण