बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

नेपाली कांग्रेस बाराका सभापति निलम्बित

बिहीबार, २१ जेठ २०८३, १७ : ३७
बिहीबार, २१ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लंघन गरेको आरोपमा पदबाट निलम्बन गरेको छ ।
  • नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
  • दुई पटक स्पष्टीकरण सोध्दा पनि जवाफ नआएपछि थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने देखिएको समितिले जनाएको छ ।

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ । गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई  निलम्बन गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बिहीबार बसेको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध लागेको भन्दै उनी विरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा समितिले यादवलाई पहिलो पटक गत गत वैशाख ३० गते पाँच दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । तोकिएको समयभित्र कुनै जवाफ नआएपछि पुनः जेठ १२ गते तीन दिनको समय तोकेर दोस्रो पटक स्पष्टीकरण माग गरिएकोमा उनले त्यसको समेत बेवास्ता गरेको समितिले जनाएको छ ।

दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएपछि यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने देखिएको समितिको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप