शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?

शुक्रबार, २२ जेठ २०८३, ०९ : ५७
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • देशभर परेको अविरल वर्षासँगै बाढी, पहिरो र सडक मर्मतका कारण काठमाडौँ उपत्यकासहित बागमती र कोशी प्रदेशका विभिन्न सडक खण्डमा आवागमन प्रभावित भएको छ।
  • काठमाडौँको सतुङ्गल–चित्लाङ सडक खण्ड र मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड मर्मतका लागि एक महिनासम्म पूर्ण रूपमा बन्द गरिएका छन्।
  • पाँचथर जिल्लामा बाढीका कारण मध्यपहाडी लोकमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र तमोर करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। 

शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण अनुसार काठमाडौँ उपत्यकासहित बागमती र कोशी प्रदेशका विभिन्न सडक खण्डमा आवागमन प्रभावित भएको हो। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडक मर्मतका लागि लामो समयसम्म नखुल्ने भएका छन्।

काठमाडौँ र मकवानपुरका दुई महत्त्वपूर्ण सडक खण्ड मर्मतसम्भारका कारण एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित देउराली देवीस्थानमा पहिरो गएपछि सतुङ्गल–चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि अवरुद्ध छ। मर्मत कार्य भइरहेकाले यो सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। 

यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी हुँदै जाने ‘कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड’ पनि जेठ १५ गतेदेखि पूर्ण रूपमा बन्द छ। सडक मर्मत गर्नुपर्ने भएकाले यो मार्ग पनि एक महिनासम्म खुल्ने छैन।

यता बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा पर्ने बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वैशाख २२ गतेदेखि नै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई उक्त सडक खण्डमा गुड्न रोक लगाइएको हो।

कोशी प्रदेशमा बाढी र पहिरोले सडक सञ्जाललाई नराम्ररी प्रभावित बनाएको छ। विशेषगरी पाँचथर जिल्लामा बाढीका कारण तीनवटा प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानस्थित मध्यपहाडी लोकमार्ग जेठ ८ गतेदेखि बन्द छ भने सोही गाउँपालिकाको फलामे खोलास्थित ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ जेठ २० गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। त्यसैगरी, फिदिम नगरपालिका–४ माझीटारमा बाढी आएपछि ‘तमोर करिडोर सडक खण्ड’ पनि जेठ २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ।

कोशी प्रदेशकै केही सडकमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको छ। भोजपुर नगरपालिका–५ बोखिममा वैशाख १२ गते आएको बाढीले अवरुद्ध बनाएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी रूपमा सुचारु भएको छ। त्यहाँ यात्रुहरूको सहजताका लागि वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। 

यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा वैशाख २३ गते गएको पहिरोले प्रभावित कोशी राजमार्गमा पनि अहिले एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।

712903122_3279240088923148_6289794916195134784_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप