शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम

बुधबार, २७ जेठ २०८३, ०५ : १९
बुधबार, २७ जेठ २०८३

सारांश

  • घोराहीमा अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम दिइएको छ।
  • तालिमले सहभागी महिलालाई सीप सिक्न र जीवनयापन सहज बनाउन सहयोग पुगेको छ।
  • अपाङ्गता भए पनि अवसर पाए काम गर्न सकिने सहभागीहरूको अनुभव छ।

दाङ । घोराही उपमहानगरपालिका–१४ की सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुसी छिन् । उमेरले ३५ वर्ष पुगेकी उनी शारीरिक रूपमा अपाङ्ग छिन् ।

विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको समन्वयमा घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलमा सञ्चालन भइरहेको १५ दिने अचार बनाउने तालिममा उनीलगायत अपाङ्गता भएका व्यक्तिहरू छन् ।

घरमा बनाउँदै आएको अचारभन्दा तालिमका क्रममा सिकेको विधि धेरै फरक भएको उनले बताइन् । “अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधिलगायत विषय सिक्न पाए, शारीरिक रूपमा आफू अपाङ्ग भए पनि गर्न सकिने रहेछ भन्ने लागेको छ”, उनले भनिन् ।

उनी जस्तै तालिममा सहभागी २२ वर्षीया सृजना बस्नेत पनि सीप सिक्न पाउँदा खुसी लागेको बताइन् । बस्नेत सुन्न सक्दिनन् । हेरेर र दोभासेको सहयोगबाट अचार बनाउने सीप सिक्न सहज भएको उनको भनाइ छ । नसुने पनि देखेर पनि धेरै कुरा सिक्न सकेको र प्रशिक्षकबाट पनि रामो सहयोग पाएको उनले बताइन् ।

तालिममा सहभागी भएकी घोराही–१५ का २७ वर्षीया कृष्णा केसीले तालिमले धेरै सहयोग गरेको बताए । अपाङ्गता भएका व्यक्तिले अवसर पाए काम गर्न सकिने उनको अनुभव छ ।

प्रशिक्षक सुशीला थापाले अपाङ्गता भएका महिला दिदीबहिनीहरूलाई सीपमा जोडन पाउँदा खुसी लागेको बताइन् । अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताइन् । संस्थाका अध्यक्ष देवका खनालले दोभासेको काम गर्ने भएको हुँदा सिकाउन सहज भएको उनको भनाइ छ । सहभागीहरू पनि निकै सक्रिय भएर सिक्दै आएको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप