बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कमजोर व्यवस्थापन र फितलो कार्यसम्पादनको शिकार बन्यो रास्वपा बागमतीको अधिवेशन

बुधबार, २७ जेठ २०८३, १५ : ४५
बुधबार, २७ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन प्राविधिक तथा व्यवस्थापकीय कारणले रोकिएको छ ।
  • मतपत्र तथा मतदाता नामावलीमा त्रुटि, उजुरी र विवादका कारण निर्वाचन प्रक्रियामा समस्या आएको थियो ।
  • निर्वाचन समितिलाई आयोजक समिति र शीर्ष तहबाट व्यवस्थापकीय सहयोग नमिलेको गुनासो छ ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन अस्थायी रूपका स्थगन गरिएको छ । प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको रास्वपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । मतपत्र तथा नामावलीमा केही त्रुटि भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको थियो । ५ मत खसेपछि मतदाता नामावली र मतपत्रमा त्रुटि भएको भन्दै नेता तथा कार्यत्रकर्ताहरूले विरोध गरेका थिए । उक्त अवस्थाका बिच निर्वाचन समितिले निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेसम्म स्थगित गरेका थिए । तर, बिहान १० बजेसम्म पनि निर्वाचन कार्यक्रम अघि बढाउन सक्ने अवस्था नबनेपछि स्थगित गरिएको हो ।

मतपत्र सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न, प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज बनाउन निर्वाचन रोकिएको रास्वपा निर्वाचन समितिले जनाएको छ । पुनः मतदान प्रक्रियामा सहभागी हुने पर्याप्त समय प्रदान गर्नेगरी सूचना जारी गर्ने निर्वाचन समितिको भनाइ छ ।

कमजोर व्यवस्थापन र फितलो कार्यसम्पादन

रास्वपा बागमतीको निवर्तमान कार्यसमिति आयोजक रहेको उक्त अधिवेशनमा आयोजक तथा सो समितिका पदाधिकारी नै जिम्मेवार बनेका थिएनन् ।

उक्त समितिका सभापतिसमेत रहेका नुवाकोटबाट निर्वाचित सांसद अचुतम लामिछाने अधिवेशनको खुला सत्रपछिको जिम्मेवारी निर्वाचन समितिको हुने भन्दै जिम्मेवारीबाट बाहिरिए । एउटै हलभित्र निर्वाचन समितिको कार्यसम्पादन र अधिवेशनको खुला सत्र भइरहेको थियो भने खुला सत्रमै बन्द सत्रको कार्यक्रम अघि बढाइएको थियो ।

निर्वाचनका लागि गठित निर्वाचन समितिको संयोजक तथा सदस्यहरूबारे आफूलाई जानकारी नभएको लामिछानेले बताउँदै आएका थिए ।

निर्वाचन समितिले तत्कालीन समिति विघटन गरी निर्वाचन कार्यक्रमको सूचना टाँस गर्दा दिउँसो १ बजिसकेको थियो । बिहान ११ बजेदेखिको निर्वाचन प्रयोजनको कार्यक्रमबारे दिउँसो १ बजे औपचारिक पत्र टाँसिएको थियो, जसमा मतदाताको अन्तिम नामावली दिउँसो १ः१५ बजेसम्म निर्धारण गरिएको थियो । यद्यपि अबेर रातिसम्म पनि मतदाता नामावली टुङ्ग्याउन निर्वाचन समितिलाई कठिन भइरहेको थियो ।

सुमित्रा पण्डित नेतृत्वको उक्त निर्वाचन समितिले १ः१५ देखि २ः४५ बजेसम्म उम्मेदवारी आह्वान गर्ने कार्यक्रम तय गरे पनि राति ९ बजेमात्र उम्मेदवारी दर्ता गरेको थियो । समितिले संशोधित निर्वाचन कार्यतालिका नै सार्वजनिक नगरी राति ९ बजे उम्मेदवारी दर्ता माग गरेको थियो । उम्मेदवार बन्ने अवस्थासम्म पनि अधिवेशनका लागि छनोट भएका प्रतिनिधि निर्धारणबारे निर्वाचन समिति स्पष्ट हुन सकेको थिएन ।

निर्वाचन समितिमा रहेका हेमराज पोखरेलले रास्वपाको अनलाइन पोर्टलमा इन्ट्री भएका ९५७ प्रतिनिधि रहेको र पछि थपिएका १०० तथा अन्य १६७ गरी करिब १ हजार २०० प्रतिनिधि मतदाता रहने जानकारी गराएका थिए । उक्त विषयको जानकारी लिँदै गर्दासम्म पनि उम्मेदवारहरू मनोनयन दर्ता गरिरहेका थिए भने मतदानबारे निर्धारण हुन सकेको थिएन ।

निर्वाचन समिति खुला हलमै रहेर काम गर्दै आएको थियो । पण्डितको संयोजकत्वमा रहेको निर्वाचन समितिमा ५ जना सदस्य थिए । जसमा पोखरेल सहित दीपा लामिछाने र अन्य २ सदस्य थिए । उनीहरूलाई रास्वपाका संगठन विभागका शंकर श्रेष्ठले सहजीकरण गरेको संयोजक पण्डितले बताइन् । रास्वपा बागमती प्रदेशको आयोजक समिति, स्थानीय समिति तथा शीर्ष तहबाट व्यवस्थापकीय सहयोग पाउन नसकेको उनको भनाइ छ ।

करिब ३ दर्जनभन्दा बढी सांसद तथा केन्द्रीय सदस्य सहभागी भएको उक्त अधिवेशनमा मतदाता निर्धारण तथा व्यवस्थापनको विषयमा सहयोग पाउन नसकेको उनको गुनासो छ । निर्वाचन समितिमा पनि प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा रहेका जनशक्ति नहुँदा काम गर्न कठिनाइ भएको उनको भनाइ छ ।

‘अधिवेशन सकेर काठमाडौँ जाँदैछु,’ पण्डितले भनिन्, ‘मैले मेरो जिम्मेवारी अनुसारको काम अघि बढाएको नै हो । मेरो समितिमा रहेका साथीहरूले पनि सक्दो प्रयास गरेकै हो, तर केही व्यवस्थापकीय तथा प्राविधिक कमजोरीले समस्या भयो । आयोजकबाट हामीले भनेजस्तो सहयोग पाएनौँ ।’

खुला सत्र र बन्द सत्र भएकै हलको एउटा कुनामा निर्वाचन समितिको कार्यकक्ष खडा गरिएको गुनासो गर्दै उनले बिहान ८ बजेको कार्यक्रम १२ बजेमात्र सुरु गरिएपछि समय कसरी पुग्छ त भन्दै प्रश्न गरिन् ।

निर्वाचन समितिका अर्का एक सदस्यका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधिबारे निर्क्यौल गर्न सक्ने अवस्था भएन । विशेषगरी समायोजनबाट आएको र पुराना प्रतिनिधिबारे व्यवस्थापन गर्न समस्या भएको उनले बताए । प्राविधिक कर्मचारीहरू व्यवस्था नहुँदा प्रतिनिधिहरूमाथिको उजुरी नै व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको उनले बताए । सोही कारण उम्मेदवारहरूको क्षेत्रगत, क्लस्टर र जिल्ला छुट्याउन नसक्दा विवाद भएको उनको भनाइ छ ।

यता रास्वपाको युवा सञ्जाल ¥याट फोर्स सशक्त रुपमा देखिएको थियो । विशेषगरी निर्वाचन तथा अधिवेशनमा स्वयंसेवक तथा सुरक्षा प्रवन्धको भूमिकामा खटिएको उक्त फोर्स निर्वाचन समितिको जिम्मेवारीमा हस्तक्षेप गर्न पुगेको देखिन्थ्यो । प्रतिनिधि छनोट तथा उम्मेदवार उठाउने वा व्यवस्थापन गर्ने विषयमा उक्त फोर्स सक्रिय थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप