रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन शनिबार वीरेन्द्रनगरको शुभ होटेलमा आयोजना गरिएको छ ।
- प्रदेशको नेतृत्वका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा, नन्दकिशोर बस्नेत (एनके) र मानबहादुर शाहीबीच रस्साकस्सी चलिरहेको छ ।
- नन्दकिशोर बस्नेत, मानबहादुर शाही र प्रेम बोहोरालाई बलियो दाबेदारका रूपमा हेरिएको छ ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन शनिबार हुँदै छ । प्रदेश राजधानी वीरेन्द्रनगरको शुभ होटेलमा आयोजना गरिएको उक्त अधिवेशनको तयारी करिब अन्तिम चरणमा रहेको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले बताए ।
‘प्रथम र ऐतिहासिक तरिकाले अधिवेशन हुन्छ, त्यसका लागि हाम्रो तयारी व्यापक भइरहेको छ,’ उनले रातोपाटीसँग भने ।
पहिलो पटक हुन लागेको अधिवेशनमा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी चलिरहेको छ ।
स्रोतका अनुसार, वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा, नन्दकिशोर बस्नेत (एनके) र मानबहादुर शाही सभापतिका दाबेदार छन् ।
यी चारै जनाले आ–आफ्नो तर्फबाट पार्टी केन्द्रमा लबिङ समेत गरिरहेको स्रोतले रातोपाटीलाई बतायो ।
५ जनामध्ये बोहोरा, बस्नेत र शाहीको बलियो सम्भावना छ । दैलेखका बस्नेत गत फागुनको निर्वाचनको केही दिनअघि मात्रै नेकपा एमालेबाट रास्वपा प्रवेश गरेका थिए ।
उनले रास्वपाबाट दैलेख—१ को प्रतिनिधि सभा चुनाव लडेका थिए । यद्यपि उनी कांग्रेसकी बासना थापासँग पराजित भए । यद्यपि व्यक्तित्वको हिसाबले उनी बलिया दाबेदार हुन् ।
उनी रास्वपालाई कर्णालीमा माथि उठाउनुपर्छ भनेर नै आफू केन्द्रीय कमिटीमा नबसेको बताए ।
‘म लामो समय काठमाडौंमा बसेको मान्छे हो, भूगोलमै बस्नुपर्छ भनेर यहाँ आएको हो, नभए केन्द्रीय कमिटीमा बस्थेँ,’ उनले रातोपाटीसँग भने, ‘म वीरेन्द्रनगर आएको छु, साथिहरूसँग सरसल्लाह गर्दै छु ।’
रुकुम पश्चिमका मानबहादुर शाही विशेषगरि रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन् ।
२०७९ को आम निर्वाचनपछि रास्वपामा लागेका उनी उक्त पार्टीको रुकुम जिल्ला सभापति भए । त्यसअघि उनी माओवादीमै थिए ।
माओवादीको आधारभूमि रुकुम पश्चिममा उनले पार्टीको संगठन निर्माणमा अग्रसर भूमिका खेलेका छन् । गत फागुनमा उनी प्रतिनिधि सभा चुनाव लडे पनि पराजित भए ।
‘उहाँ इन्जिनियर, पढेलेखेको युवा हुनुहुन्छ, साथै रास्वपा सभापतिको निकट व्यक्ति भएकाले पनि उहाँको सम्भावना बलियै छ,’रास्वपाका एक नेताले रातोपाटीसँग भने ।
शाहीले सकेसम्म सर्वसम्मत मै हुने नभए चुनावै लडेर भए पनि सभापति बन्ने तयारी गरेको उनी निकट स्रोत बताउँछ ।
यस्तै, रुकुम पश्चिमकै बौद्धिक युवा प्रेम बोहोरालाई पनि सम्भावित बलियो आकाङ्क्षीका रुपमा हेरिएको छ ।
उनी यसअघि प्रतिनिधि सभा चुनावमा रास्वपाबाट खस आर्यतर्फ बन्दसूचीमा परेका थिए । प्रेम बोहोरा कर्णालीमा चर्चित नाम हो । उनले वीरेन्द्रनगरमै एक संस्था चलाउँछन् भने दर्जनौँ पुस्तकका लेखक पनि हुन् । उनी पहिले माओवादी र त्यसपछि बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिए ।
सभापतिका आकाङ्क्षी एक मात्र महिला स्नेहा उपाध्यायले पनि आफ्नो तयारी भइरहेको बताइन् ।
‘यसअघि चुनावमा अहिलेको नेतृत्वले खासै काम गर्न सकेन, रिजल्ट पनि अन्य प्रदेशको तुलनामा कमजोर आयो,’ उनले रातोपाटीसँग भनिन्, ‘सबै कुरा बुझ्दा नेतृत्वमा आफू गएर केही काम गर्नुपर्छ भन्ने भावना जागेको छ ।’
साथै, महिला पनि पार्टीको नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण दिन पनि आफू प्रदेशको नेतृत्व लिन अग्रसर भएको उनले बताइन् ।
‘म पार्टीमा सुरुवात समयदेखिनै लागेको मान्छे हो, अध्ययनदेखि सबै हिसाबले सक्षम पनि छु,’ उनले भनिन् । उनी सुर्खेतकी हुन् ।
वर्तमान सभापति मदन खड्काले पनि दोहोरिने चाहना देखाएको स्रोत बताउँछ । तर उनीमाथि पार्टीभित्र व्यापक प्रश्न उठेको छ ।
यसअघिको प्रतिनिधि चुनावमा उनले खासै तदारुकता नदेखाएको, संगठन विस्तारमा पनि ध्यान नदिएको र पार्टी हारको जिम्मेवारी उनले लिनुपर्ने तर्क प्रदेशका नेताले गरिरहेका छन् ।
‘उहाँ सभापति त हुनुभयो तर, चुनावको बेला पनि कुनै योजना थिएन, बालेन र रवि सुर्खेत र अछाम आउँदा पनि उहाँले खासै कार्यक्रम मिलाउन सक्नु भएन,’ एक नेता भन्छन्, ‘सुर्खेतबाटै काठमाडौं पठाए । कर्णालीलाई खासै प्राथमिकतामा राखेनन् ।’
उनी प्रदेश सभापति भए पनि विशेषतः सुर्खेतमा मात्रै केन्द्रित रहने, जिल्लाहरूमा के भइरहेको छ भन्ने विषयमा ध्यान नदिने गरेकाले उनीको नेतृत्वदायी क्षमतामाथि प्रश्न उठेको छ । साथै, उनीविरुद्ध पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी समेत परेको छ ।
रास्वपाका सुर्खेत जिल्ला सह–सचिव भूपेन्द्र थापाले कार्यकर्तालाई विभेद गरेको, पार्टीभित्र गुटबन्दी चलाएको, आफ्नै नेतालाई झुटा कुरा लगाएर कमजोर पार्न भूमिका खेलेको जस्ता आरोप लगाउँदै छानबिन गरी कारबाहीका लागि उजुरी दिएका छन् । उजुरी पत्रमा ‘गत फागुनमा कर्णालीमा पार्टी पराजित हुनुको मुख्य जिम्मेवार नै उनी रहेको, उनी सभापति रहिराखे कर्णालीमा संगठन सक्षम नबन्ने’ उल्लेख छ ।
जेठ ५ गते दिएको थापाको उजुरीमाथि पार्टी केन्द्रले अहिलेसम्म छानबिन भने गरेको छैन ।
साथै, अहिलेसम्म डोल्पा जिल्ला कमिटी पनि गठन हुन सकेको छैन । खड्काले डोल्पामा पालिका अधिवेशन नभएकाले जिल्ला कमिटी पनि विस्तार हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
-
टिपर दुर्घटनामा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण