बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो

बुधबार, २७ जेठ २०८३, १७ : ३३
बुधबार, २७ जेठ २०८३

सारांश

  • रोयटर्स र इप्सोसको सर्वेक्षण अनुसार अधिकांश अमेरिकी नागरिकले जेफ्री एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय सुनिश्चित गर्न प्रभावकारी भूमिका खेलेको विश्वास गर्दैनन् ।
  • सर्वेक्षणमा केवल १० प्रतिशत उत्तरदाताले ट्रम्प प्रशासनले एपस्टिनसँग सम्बन्धित व्यक्तिहरूलाई जवाफदेही बनाउन मद्दत गरेको बताएका छन् ।
  • ट्रम्पको आफ्नै दल रिपब्लिकन समर्थकबिच पनि यस विषयमा सीमित विश्वास रहेको देखिएको छ, जहाँ केवल २१ प्रतिशतले मात्र ट्रम्प प्रशासनले न्याय दिलाउन सहयोग गरेको बताएका छन् ।

वासिङ्टन डीसी । अमेरिकामा गरिएको रोयटर्स र इप्सोस नयाँ सर्वेक्षण अनुसार अधिकांश अमेरिकी नागरिकले यौन तस्करीका आरोपी जेफ्री एपस्टिनसँग सम्बन्धित मुद्दाहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्याय सुनिश्चित गर्न प्रभावकारी भूमिका खेलेको विश्वास गर्दैनन् ।

सर्वेक्षणका अनुसार केवल १० प्रतिशत उत्तरदाताले ट्रम्प प्रशासनले एपस्टिनसँग सम्बन्धित व्यक्तिहरूलाई जवाफदेही बनाउन मद्दत गरेको बताएका छन् ।

त्यस्तै, सर्वेक्षणमा सहभागीमध्ये करिब पाँचमध्ये एक जनाले एपस्टिनका कथित ग्राहकहरूलाई कानुनी रूपमा जवाफदेही बनाइएको विश्वास व्यक्त गरेका छन् ।

सर्वेक्षणले ट्रम्पको आफ्नै दल रिपब्लिकन समर्थकबिच पनि यस विषयमा सीमित विश्वास रहेको देखाएको छ । केवल २१ प्रतिशत रिपब्लिकन उत्तरदाताले मात्र ट्रम्प प्रशासनले एपस्टिन प्रकरणमा न्याय दिलाउन सहयोग गरेको बताएका छन् ।

एपस्टिनका केही पीडितहरूले अनुसन्धानका क्रममा धनी तथा प्रभावशाली व्यक्तिहरूलाई संरक्षण गरिएको आरोप लगाउँदै आएका छन् ।

यसैबिच ट्रम्प प्रशासनले गत जनवरीमा अमेरिकी न्याय मन्त्रालयसँग भएका लाखौँ पृष्ठका अनुसन्धान अभिलेख सार्वजनिक गरेको थियो । ती कागजातमा बिल गेट्स, एलन मस्क, व्यापार, राजनीति तथा सरकारी क्षेत्रका प्रभावशाली व्यक्तिहरूका नाम तथा तस्बिरहरू समावेश थिए, जसमा ट्रम्प स्वयंको नाम पनि उल्लेख थियो ।

जेफ्री एपस्टिन माथि कम उमेरका किशोरीहरूलाई यौन शोषण तथा तस्करीमा प्रयोग गरेको आरोप लागेको थियो । उनले सन २००८ मा वेश्यावृत्तिसम्बन्धी आरोप स्वीकार गरेका थिए । त्यसपछि उनी जेल सजाय भोगेका थिए । सन २०१९ मा उनी न्यूयोर्कको म्यानहट्टनस्थित जेलको कोठामा मृत अवस्थामा फेला परेका थिए । अधिकारीहरूले उनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप