खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा इरानको आक्रमण
सारांश
- अमेरिका र इरानबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ, जसमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ।
- अमेरिकी सेन्ट्रल कमाण्डले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न ढिलाइ गरेको जनाउँदै आत्मरक्षाका लागि स्ट्राइक गरेको बताएको छ।
- यस बढ्दो तनावप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गम्भीर चिन्ता व्यक्त गर्दै मध्यपूर्व अझ गहिरो सङ्कटतर्फ धकेलिँदै गएको बताएका छन्।
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘कडा प्रहार’ गर्ने चेतावनी दिएलत्तगै अमेरिका र इरानबिचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिशोध स्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न ‘धेरै ढिलाइ गरेको’ ट्रम्पको भनाइपछि रातभर दोस्रो दिन पनि ‘आत्मरक्षाका लागि स्ट्राइक’ पूरा गरेको जनाएको छ। त्यसको जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेको दाबी गरेको छ।
इरानले अघिल्लो दिन पनि यिनै दुई देशका अमेरिकी अखडाहरूलाई निशाना बनाएको थियो। हालैका दिनहरूमा दुवै देशबाट भइरहेका यस्ता शृङ्खलाबद्ध आक्रमणहरूले गत अप्रिल महिनामा दुई देशबिच भएको कमजोर युद्धविरामलाई गम्भीर सङ्कटमा पारेको छ।
पछिल्लो अमेरिकी आक्रमणपछि इरानको दक्षिणी सहरहरू र स्ट्रेट अफ होर्मुज नजिक शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। यसअघिको आक्रमणमा अमेरिकी सेनाले सोही क्षेत्रमा रहेका इरानका वायु रक्षा प्रणाली, राडार र अन्य सैन्य स्थानहरूलाई निशाना बनाएको थियो।
यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज भएर गुडिरहेका दुईवटा तेल ट्याङ्करहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले स्ट्रेट अफ होर्मुज ‘सबै प्रकारका जहाजहरूका लागि पूर्ण रूपमा बन्द’ गरिएको रिपोर्ट सार्वजनिक गरेका छन्। तर, अमेरिकी सेन्टकमले भने व्यापारिक जहाजहरू स्ट्रेट अफ होर्मुजबाट नियमित रूपमा आउने–जाने गरिरहेको दाबी गर्दै इरानको भनाइलाई खण्डन गरेको छ।
जलमार्ग बन्द भएको र जहाजहरूमा आक्रमण भएको खबर सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ। एसियामा बिहानी कारोबारका क्रममा कच्चा तेलको मूल्य करिब २ प्रतिशतले बढेर वैश्विक बेन्चमार्क मानिने ब्रेन्ट क्रुड प्रति ब्यारेल ९५ डलर भन्दा माथि पुगेको छ।
अमेरिकाले पछिल्लो आक्रमण गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले ‘हामीले हिजो उनीहरूमाथि कडा प्रहार गर्यौँ र आज फेरि कडा प्रहार गर्नेछौँ’ भन्दै चेतावनी दिएका थिए। उनले ट्रुथ सोसलमा लेख्दै इरानी नेताहरूले वार्ताका लागि धेरै समय लगाएको आरोप लगाएका छन्।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि इरानलाई सम्झौताको अवसर दिइएको तर उसले त्यसलाई सदुपयोग नगरेकाले अब इरानका मुख्य सुविधायुक्त स्थानहरूमा बमहरू खसालिने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपतिले यदि कुनै शान्ति सम्झौता नभए इरानमाथि पुनः आक्रमण गरिने बताएका छन्।
यता, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरान ‘कुनै पनि दबाब वा धम्कीका विरुद्ध दृढतापूर्वक उभिने’ स्पष्ट पारेका छन्। इरानी परराष्ट्र मन्त्रालयले अमेरिकाले विरोधाभासपूर्ण सन्देशहरू पठाएर कूटनीतिक प्रक्रियालाई नै क्षति पुर्याएको आरोप लगाएको छ। अप्रिलमा दुई हप्ताका लागि गरिएको युद्धविरामपछि दुवै पक्षबिच फाट्टफुट्ट आक्रमणहरू भइरहेका थिए, तर परिस्थिति पूर्णकालीन युद्धमा परिणत भइसकेको थिएन।
तर, पछिल्लो समय वासिङ्टन र तेहरानबिचको वार्ताको प्रयास रोकिएपछि आक्रमणहरू तीव्र पारिएका छन्। यसै हप्ता इरानको संलग्नता रहेको आरोप लगाइएको एक आक्रमणमा अमेरिकी हेलिकप्टर खसालिएको थियो, जसको जवाफमा आईआरजीसीले मध्यपूर्वभर रहेका अमेरिकी बेसहरूलाई निशाना बनाएको हो।
यस बढ्दो तनावप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै मध्यपूर्व ‘अझ गहिरो सङ्कटतर्फ धकेलिँदै गएको’ र हालैका आक्रमणहरूले ‘युद्धविरामलाई झन् कमजोर’ बनाएको बताएका छन्।
उनले भनेका छन्, ‘यो सानो आगो भोलि ठूलो युद्धमा परिणत हुन सक्ने जोखिमलाई हामीले नजरअन्दाज गर्नु हुँदैन। सबै पक्षले कूटनीतिक समाधानका लागि काम गर्नुपर्छ। अब थप आक्रमण हुनु हुँदैन, न त कुनै बहानाबाजी चल्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोदाममै थन्कियो नेपाली चिया
-
अमेरिका र इरानबिच लगातार दोस्रो दिन मध्यपूर्वभरि आक्रमण–प्रत्याक्रमण
-
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
-
जेफ्री एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको बिल गेट्सको दाबी
-
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
-
‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल’को उपाधि सिटौला र सिंहलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण