बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चिया राजनीति

भारतीय गोदाममै थन्कियो नेपाली चिया

आधिकारिक पत्र आएको छैन : चिया बोर्ड
बिहीबार, २८ जेठ २०८३, १३ : ००
बिहीबार, २८ जेठ २०८३

सारांश

  • नेपाली चिया भारत निर्यात भएपछि भारतीय आयातकर्ताको गोदाममा रोकिएको छ।
  • भारतीय चिया बोर्डले नमुना परीक्षणको रिपोर्ट नआएसम्म चिया बिक्री नगर्न निर्देशन दिएपछि समस्या आएको हो।
  • गुणस्तरको बहानामा भारतीय पक्षले नेपाली चियाको आयातलाई निरुत्साहित गर्न खोजेको व्यवसायीहरूको आरोप छ।

काठमाडौँ । नेपालबाट भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा फेरि अवरोध सिर्जना भएको छ। 

भन्सार प्रक्रिया पूरा गरी भारत पुगेको चियालाई भारतीय आयातकर्ताहरूको गोदाममै रोकेर बिक्री–वितरण गर्न नदिइएपछि नेपाली चिया क्षेत्र पुनः समस्यामा परेको हो।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष एवं चिया निर्यातकर्ता शिवकुमार गुप्ताका अनुसार नेपाल र भारत दुवैतर्फका भन्सारबाट जाँचपासलगायत आवश्यक प्रक्रिया पूरा गरेर पठाइएको चिया भारतीय आयातकर्ताको गोदाममा पुगेपछि रोकिने गरेको छ। भारतीय चिया बोर्डले त्यहाँका आयातकर्ताहरूलाई नमुना परीक्षणको रिपोर्ट नआएसम्म चिया बिक्री नगर्न निर्देशन दिएपछि चिया गोदाममै थन्किएको हो।

नेपालबाट विश्व व्यापार संगठन (डब्लुटीओ) को मापदण्ड र गुणस्तर अनुरूप प्रयोगशाला परीक्षण गरेरै चिया निर्यात हुने गर्दछ। यसअघि भारतीय प्रयोगशालाबाट स्वीकृत भएको नमुना परीक्षणको रिपोर्टले तीन महिनासम्म वा निश्चित परिमाणसम्मको चिया निर्यातका लागि मान्यता पाउने गरेको थियो। तर, अहिले भारतीय चिया बोर्डले आयातकर्ताहरूलाई हरेक पटकको ढुवानीमा अनिवार्य नमुना परीक्षणको रिपोर्ट कुर्नुपर्ने र रिपोर्ट नआएसम्म चिया बिक्री गर्न नपाउने नियम लगाएको छ।

कानुनी रूपमा नेपाली चियामाथि पूर्ण प्रतिबन्ध नलगाइए पनि भारतीय चिया बोर्डले घुमाउरो तरिकाले नेपाली चियाको आयातलाई निरुत्साहित गर्न खोजेको उपाध्यक्ष गुप्ताको आरोप छ। भारतीय चिया उत्पादकहरूको दबाबका कारण त्यहाँको बोर्डले आफ्नो आन्तरिक उत्पादनलाई संरक्षण गर्न यस्तो कडा नीति लिएको नेपाली निर्यातकर्ताहरूको बुझाइ छ।

  • व्यवसायीलाई दोहोरो मार

भारतीय आयातकर्ताहरूले चिया प्राप्त गरी आफ्नो गोदाममा राखेर बिक्री गरेपछि मात्रै नेपाली व्यवसायीलाई भुक्तानी दिने गर्दछन्। तर, सिलिगुढी र कोलकाता लगायतका क्षेत्रमा रहेका भारतीय गोदामहरूमा चिया रोकिएर बिक्री हुन नसकेपछि नेपाली निर्यातकर्ताहरूले समयमै भुक्तानी पाउन सकेका छैनन्। चिया रोकिने डरले भारतीय आयातकर्ताहरू स्वयं पनि नेपालबाट चिया किन्न हच्किरहेका छन्।

अर्कोतर्फ, नेपालको चिया क्षेत्र अहिले आन्तरिक रूपमै पनि संकटबाट गुज्रिरहेको छ। यस वर्ष चिया बगानहरूमा ‘लुपर’ नामक कीराको प्रकोप अत्यधिक बढेका कारण हरियो चियापत्तीको उत्पादनमा ठुलो ह्रास आएको छ। धेरैजसो चिया उद्योगहरू बन्दप्रायः छन् भने मौज्दात निकै न्यून छ। यस्तो विषम परिस्थितिमा स्वदेशमा मुस्किलले उत्पादित चियाले पनि बजार नपाउँदा र निर्यात गरिएको चियासमेत भारतीय गोदाममै थन्किँदा नेपाली व्यवसायीहरू दोहोरो मारमा परेका छन्।

  • निर्यातमा उल्लेख्य गिरावट

पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ निर्यात हुने नेपाली चियाको परिमाणमा अहिले उल्लेख्य गिरावट आएको छ। विगतको तुलनामा चिया बोकेका गाडीहरू भारततर्फ निकै कम मात्रामा गइरहेको मेची भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

उनका अनुसार करिब तीन हप्ताअघि झन्डै साता–दश दिनसम्म नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको थियो। ‘अहिले चिया बोकेका गाडीहरू फाट्टफुट्ट रूपमा गइरहेका छन्। तर, पहिले जसरी ठुलो परिमाणमा निर्यात हुन्थ्यो, अहिले त्यस्तो छैन,’ अधिकृत हुमागाईंले भने। 

यद्यपि, भारतीय पक्षले चिया गोदाममै थन्काएको र त्यहाँका व्यापारीहरूले किन्न आनाकानी गरिरहेको विषय व्यवसायीहरूबिचको आन्तरिक कारोबार भएकोले भन्सार कार्यालयलाई यसबारे विस्तृत जानकारी नहुने उनले स्पष्ट पारे।

  • आधिकारिक पत्र आएको छैन : चिया बोर्ड

भारततर्फ निकासी भएको नेपाली चिया त्यहाँका गोदामहरूमा रोकिएको चर्चा चले पनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भने यस विषयमा हालसम्म कुनै औपचारिक जानकारी वा लिखित दस्ताबेज प्राप्त नभएको स्पष्ट पारेको छ।

बोर्डका प्रवक्ता डा. दीपक खनालका अनुसार भारतीय पक्षसँग यस विषयमा आधिकारिक कागजात माग गरिए पनि प्राप्त भएको छैन। कागजात बिनाको कुरा आधिकारिक नहुने भएकाले बोर्डले सञ्चारमाध्यममा आफ्नो धारणा सार्वजनिक नगरेको उनले बताए। 

यद्यपि, अनौपचारिक माध्यमबाट करिब ५० हजार किलो (७ लट) चिया भारतमा प्रयोगशाला परीक्षणका लागि रोकेर राखिएको जानकारी प्राप्त भएको बोर्डले जनाएको छ। नेपालले डब्लुटीओको मापदण्ड अनुरूप नै परीक्षण गरी पठाए पनि भारतले कुन मापदण्डका आधारमा परीक्षण गरिरहेको छ भन्ने स्पष्ट छैन।

नेपालका प्रयोगशालाहरूलाई भारतले अझै पूर्ण मान्यता नदिएको र भारतको आयात सूचीमा नेपाली चिया समावेश भए पनि त्यससम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रियाहरू पूरा हुन बाँकी रहेको बुझिएको छ। यसअघि सन् २०२६ को फेब्रुअरी १० मा भारतले जारी गरेको निर्देशिकाका कारण सिर्जना भएको विवाद दुवै देशका चिया बोर्डबिचको समझदारी र पूरक दस्ताबेज जारी भएसँगै समाधान भएको थियो।

  • चिया राजनीतिको प्रभाव

नेपालबाट चिया निर्यात गर्ने एक व्यवसायीका अनुसार दार्जिलिङ चियाको साख जोगाउन र मूल्य घटाउन भारतीय पक्षले नेपाली चियामाथि कृत्रिम झमेला खडा गरेको हो। नेपाली चियाले बेहोर्नुपर्ने अवरोधको मुख्य कारण गुणस्तर नभई भारतको ‘चिया राजनीति’ रहेको उनको भनाइ छ।

पछिल्लो समय भारतमा दार्जिलिङ चियाको उत्पादन र गुणस्तर खस्किएको छ। यसको विपरीत, नेपालको पूर्वी पहाडी क्षेत्रको भौगोलिक बनावट दार्जिलिङसँग मिल्दोजुल्दो रहेको र यहाँका चियाका बुट्टाहरू तुलनात्मक रूपमा नयाँ भएकाले नेपाली चियाको गुणस्तर प्राकृतिक रूपमै उच्च छ। यही उच्च गुणस्तरको नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा दार्जिलिङ चियाको ब्रान्डलाई चुनौती दिने डर भारतीय अधिकारी र व्यवसायीहरूमा रहेको विश्लेषण गरिन्छ।

ती व्यवसायी भन्छन्, ‘यो केवल चिया रोक्ने प्रयास मात्र होइन, नेपाली चियाको बजार भाउ घटाउने भारतीय व्यापारीहरूको रणनीति पनि हो। चिया रोकेर गुणस्तरको झमेला देखाएपछि नेपाली व्यवसायीहरू सस्तो मूल्यमा चिया बेच्न बाध्य हुन्छन् भन्ने दाउ उनीहरूको देखिन्छ।’

यद्यपि, नेपाली चिया उत्पादकहरूले पनि आफ्ना कमजोरी सुधार्दै गुणस्तरप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता ती व्यवसायीले औँल्याएका छन्। सामान बिक्री गर्नेतर्फ मात्र केन्द्रित नभई गुणस्तरीय उत्पादनमा ध्यान दिन सके यस्ता समस्या कम हुने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप