बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

सांसदहरूको हस्तक्षेपले रास्वपा मधेसमा चुलियो असन्तुष्टि

बिहीबार, २८ जेठ २०८३, ११ : ११
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेशका नेताहरूले पार्टी कब्जा गर्न सांसदहरूले हस्तक्षेप गरेको आरोप लगाएका छन्।
  • मधेस प्रदेशका आठ जिल्लामध्ये पर्साबाहेक सबै जिल्लामा अधिवेशन स्थगित भएको छ, जसको मुख्य कारण सांसदहरूको हस्तक्षेप र गुटबन्दीलाई मानिएको छ।
  • सांसदहरूको हस्तक्षेप, जातीय तथा सामुदायिक सोच र चरम गुटबन्दीले संगठन अस्तव्यस्त बनेको भन्दै तल्ला तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौँ । देशको अवस्था बदल्न राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरुले नै मधेस प्रदेश पार्टी कब्जा गर्न खोजेको जिल्ला तहका नेताहरूले आरोप लगाएका छन् ।

आठ वटा जिल्ला रहेको मधेसमा पर्साबाहेक अन्त अधिवेशन स्थगित भएको छ । गत फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सांसदहरूले आफूअनुकूलका व्यक्तिलाई सभापति बनाउन हस्तक्षेप गरेकाले जिल्ला र प्रदेश अधिवेशन स्थगित भएको उनीहरूको गुनासो छ ।

पार्टीभित्र चरम गुटबन्दी, जातीय तथा सामुदायिक सोच र संघीय सांसदहरूको हस्तक्षेपले संगठन नै अस्तव्यस्त बनेको तल्ला तहका नेताहरूले आरोप लगाइरहेका छन् ।

बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषामा दुई पक्षीय विवादले उग्ररुप लिँदा हात हालाहाल भएको थियो । यस्तो स्थिति आउनुमा उनीहरूले प्रदेश सभापति तथा सांसद तपेश्वर यादव र अन्य सांसदहरूको ठाडो हस्तक्षेप रहेको आरोप लगाए । मधेस प्रदेश नीति तथा प्रचार विभागका प्रमुख सुन्डेश्वर यादवले केन्द्रीय प्रवक्ता मनीष झाले नै छेडखानी गरेको आरोप लगाए । प्रवक्ता झाको ठाडो हस्तक्षेप हुँदा धनुषामा अप्रिय स्थिति आएको उनले गुनासो पोखे ।

‘नेताहरूलाई जुधाउने–बझाउने, जिम्मेवारी खोस्ने काम भएको छ । मेरो एडमिन पनि खोसेर महामन्त्री मनीष साह (प्रदेश महामन्त्री) लाई दिइएको छ । धनुषामा जातीय विवाद धेरै छ । प्रवक्ता मनिष झाकै कारण अधिवेशन स्थगित भएको हो,’ रातोपाटीसँग उनले गुनासो पोखे ।

सप्तरीका जिल्ला सभापति डम्बरनारायण साह तेलीले सांसदहरूको आ–आफ्नै उम्मेदवार भएकाले समस्या आएको जिकिर गरे । अधिवेशनका लागि आफ्नो दुई लाख खर्च भएको गुनासो पोखे । सप्तरी–२ बाट निर्वाचित सांसद तथा हाल श्रममन्त्री रहेका रामजी यादवको ठाडो हस्तक्षेपका कारण अधिवेशन स्थगित भएको उनको आरोप छ ।

तेलीले भने, ‘अधिवेशनका लागि मेरो दुइ लाख खर्च भयो । अन्त्यमा अधिवेशन नै स्थगित भयो । जिल्ला समितिले रामकृष्ण यादवलाई सभापति बनाउने निर्णय ग¥यो तर शम्भु यादव र श्रममन्त्री रहेका रामजी यादवको हस्तक्षेपका कारण अधिवेशन स्थगित भयो । सबै माननीयका आ–आफ्ना गुट छन् । उनीहरूले आफू अनुकुलका व्यक्तिलाई ल्याउन खोज्दा विवाद समाधान हुन सकेको छैन ।’

सिराह ३ बाट निर्वाचित सांसद शम्भु कुमार यादव, श्रममन्त्री रामजी यादव ज्वाईं–ससुरा रहेको बुझिएको छ । शम्भु महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल हुँदै पछिल्लो समय रास्वपा प्रवेश गरेका थिए । रामजी र शम्भु नै हर्ताकर्ता रहेका स्थानीय नेताहरूको गुनासो छ ।

सिराहा जिल्ला सभापति हरिप्रसाद मैनालीले भने सांसदहरूले पार्टी नीति, सिद्धान्त र संगठनको मर्म बुझ्न नसक्दा समस्या आएको जिकिर गरेका छन् ।

‘माननीयहरूले पार्टीको नीति र सिद्धान्त बुझेनन् । पुरानो पार्टीप्रति जनतामा देखिएको असन्तुष्टिका कारण रास्वपाबाट माननीय हुनुभयो । तर संगठन बनाउन सक्नुभएन । यसमा प्रदेश सभापतिको भूमिका मुख्य रहेकाले उहाँले राजीनामा दिनुपर्छ,’ उनले भने ।

मैनालीले जिल्लामा अराजकता मच्चाउने काम जेनजी अगुवा तथा समानुपातिक सांसद पुरुषोत्तम यादव रहेको आरोपसमेत लगाए ।

‘ऊसँग कुनै संगठन छैन । युवा छैन, बुढा मात्र छन् । उसलाई राइट टु रिकल व्यवस्था गरेर हटाउनुपर्छ,’ मैनालीले भने ।

प्रदेश सभापति तपेश्वर यादव, सुवास यादव, पुरुषोत्तम यादव नाताले दाजुभाइ भएकाले उनीहरूको स्वार्थका कारण संगठनभित्र अराजकता बढ्दै गएको पनि मैनालीले आरोप लगाए । मधेसमा पहाडिया भएर जन्मनु ठुलो पाप रहेको उनको दुःखेसो थियो ।

जिल्लाका अर्का एक नेताका अनुसार अगामी स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचनका लागि टिकट बेचिसकेका आफू अनुकूलका व्यक्तिलाई सभापति बनाउन हस्तक्षेप गरेका छन् । सिराहमा यादवको ठुलो समुदाय भएकाले पहाडियालाई टिकट नदिने पक्षमा उनीहरूले हस्तक्षेप गरेको आरोप लागेको छ ।  

जिल्लास्तरीय नेताहरूले लगाएको आरोपको खण्डन गर्दै प्रदेश सभापति तपेश्वर यादवले पार्टीभित्रको आन्तरिक समस्याभन्दा पनि नवप्रवेशीहरूले सभापतिमा आकांक्षा राख्दा समस्या आएको जिकिर गरे ।  

‘पार्टीप्रति आकर्षण बढी भएको छ । एकै पालिकामा पनि ८७/८८ जनाको उम्मेदवारी परेको थियो । एउटै पालिकामा पुराना पार्टीका नेताहरू आएर नेतृत्वमा दाबी गरेका छन्,’ उनले भने, ‘यो नेतृत्वको टकराब हो । मेरो कसैप्रति आरोप छैन । पार्टी सिस्टममा समस्या होइन । नव प्रवेशीहरूले विधि, पद्धति नबुझ्दा समस्या आएको हो ।’

छिट्टै अधिवेशन गराउने विषयमा प्रदेश समितिको बैठक राजविराजमा राखिएकाल पार्टीको निर्णय लिएर आफू काठमाडौँ आउन लागेको उनले जनकारी दिए ।

यता महोत्तरीमा पूर्वसभापति शुभम् कुमार यादव कारबाहीमा परेपछि उत्पन्न भएको विवादले उग्र रूप लिएको थियो । पार्टी हितविपरीत काम गरेको आरोपमा केन्द्रबाट पठाएको पत्रका आधारमा उनी कारबाही परेका थिए । कार्यवाहक सभापति चन्द्र किशोर महतोले भने, ‘पूर्वसभापति शुभम् कुमार यादवमाथि कारबाही भएको छ । केन्द्रको चिठीका आधारमा प्रदेश समितिले कारबाही गरेको हो । पार्टी हितविपरीत काम गरेको आरोप लागेको छ । त्यसैकारण विवाद उत्पन्न हुँदा अधिवेशन स्थगित भएको हो ।’

शुभमसहित जिल्ला सभापतिका लागि नरेश यादव, दयाराम यादवलगायत ७ जना आकांक्षी छन् । सर्लाहीमा पार्टीको विधि र प्रक्रिया पु¥याएर विभिन्न पालिका अधिवेशन सम्पन्न भए पनि पार्टी पोर्टलमा इन्ट्री गर्ने विषयमा समस्या उत्पन्न भएको सभापति सरोज बानियाँले बताए ।

‘विधि प्रक्रिया पुर्‍याएर पालिकाको अधिवेशन सम्पन्न भयो । सर्लाहीलाई पोर्टलमा इन्ट्री गर्ने अधिकार छैन । तदर्थ वडा समिति र अधिवेशन वडा समिति अधिकार छ । यस जिल्लामा यादवहरूको बाहुल्य रहेकाले पहाडियाका लागि सहज देखिँदैन । ३८ प्रदेश विभागमा मनोनयन गर्दा गर्दा ३२ जना यादव छन् । ती सबै भोटर्स हुन्,’ बानियाँले भने । सर्लाहीमा बानियाँ र कृष्णनन्दन यादव सभापतिमा आकांक्षी छन् ।  पालिका अधिवेशनमा भएको विवाद जिल्ला अधिवेशनसम्म आइपुग्दा कुटाकुटमा परिणत भएको थियो । 

जिल्लामा अधिवेशन भएका पालिकामध्ये बागमती, हरिवन, बरहथवा, लालबन्दी, ईश्वरपुर, हरिपुर, मलंगवा नगरपालिका, चन्द्रनगर गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, कौडेना गाउँपालिका, कविलासी नगरपालिकामा विधि पुर्‍याएर नै अधिवेशन सम्पन्न भएको उनले जिकिर गरे । तर पोर्टलमा लालबन्दी इन्ट्री हुँदा हरिपुर, मलंगवा, कौडेना, कविलासी इन्ट्री नभएकाले विवाद उत्पन्न भएको उनको भनाइ छ ।

‘विधि र पद्धति पुर्‍याएर पनि अधिवेशन स्थगित भएको पर्सा गाउँपालिका हो । सभापतिबिनाकै इन्ट्री गराइयो । यसमा माननीयहरूले एउटा समूहसँग मिलेर स्थगित गराइयो,’ उनले भने, ‘चक्रघट्टा गाउँपालिकाको कसैलाई पनि थाहा छैन । एकैचोटि पोर्टलमा आयो । जहाँ सरोज बानियालाई भोट आउँछ, त्यहाँ इन्ट्री गरिएन, जहाँ भोट आउँदैन त्यहाँ छापामार शैलीमा इन्ट्री गरियो ।’

रौतहट जिल्ला सभापति प्रदीप साहले शान्तिपूर्ण रूपमा अधिवेशन भए पनि सांसदहरूले हस्तक्षेप गरेको अरोप लगाए ।

साहले भने, ‘शान्तिपूर्ण रूपमा अधिवेशन भयो । तर माननीयजीबाट हस्तक्षेप भयो ।’ उनले ३० प्रतिशत पालिका अधिवेशन भएमा जिल्ला अधिवेशन गर्न पाउने पार्टी केन्द्रको निर्णयअनुसार अधिवेशन भएको उनले जिकिर गरे । संगठन निर्माणमा भूमिका नभएका सांसदहरूले पद चाहिएकाले समस्या उत्पन्न भएको साहले आरोप लगाए । सभापतिका लागि साह सहित अजय साह, रवीन्द्र यादव, राजेश चौधरी लगायत आकांक्षी छन् ।

यता बारामा पूर्वसभापति चन्दन स्वर्णाकार पार्टीबाट निष्कासित भएपछि विवादले उग्र रूप लिएको छ । कलैया उपमहानगरपालिका निर्वाचित कार्यसमितिलाई केन्द्रले मान्यता नदिएको भन्दै असन्तुष्ट पक्षहरूले केन्द्रीय कार्यालय वनस्थलिमा विरोध प्रदर्शन गरेका थिए ।  यद्यपि जिल्लासभापति सीए श्री भगवान् महतोले पार्टीको पोर्टलमा देखिएको समस्याका कारण विवाद भएको जिकिर गरे । निर्वाचनमा रवि लामिछाने र बालेन साहको ठुलो क्रेजका कारण पार्टी प्रवेश गर्नेको संख्या बढेकाले व्यवस्थापन गर्न अप्ठ्यारो पारेको महतोको भनाइ छ ।

बाराका फेटा, महागढीमाई नगरपालिका, सुर्वण गाउँपालिका, कलैया उपमहानगरपलिका, बिश्रामपुर गाउँपािलका, पर्वानिपुर गाउँपलिकाका प्रतिनिधिहरू काठमाडौँ आएर विरोध गरेका थिए । बारा जिल्ला सभापतिमा राजाबाबु कलवार, उमाशंकर रौनियार, डा. सुशील साह, बसन्त खतिवडा, विनोद यादव आकांक्षी छन् ।  

मधेसका ७ जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन स्थगित हुँदा पर्सामा शान्तिपूर्ण अधिवेशन सम्पन्न भएका छन् । सभापति बुद्धिप्रसाद अर्थात् हरि पन्तले अनुशासित संगठन र नेतृत्वप्रति विश्वासका कारण अधिवेशन गर्न सम्भव भएको जिकिर गरे ।

‘यहाँ संगठन राम्रो थियो । कसैले औँला उठाएनन् । विधि, विधान मिचिएन । जो आए पार्टीले नै जित्ने अवस्था भयो । म पनि निर्वाचित सांसद हुँ तर पार्टीको विधि र विधानभन्दा बाहिर गएर हस्तक्षेप भएन,’ पन्तले भने ।  

पर्सामा वडा, पालिका, क्षेत्र र जिल्लामा अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले जिकिर गरे । जिल्ला सभापतिमा पन्त निर्वाचित भएका छन् । उपसभापतिमा दिलिप प्रसाद कुर्मी, सचिव सुदेश प्रजापति, सहसचिव कृष्ण पासवान निर्वाचित भएका छन् ।  

पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै आयोगले अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकिएको आयोगका प्रमुख भूवन केसीले जानकारी दिए । केसीका अनुसार प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित भएको छ । सिंगो मधेशको अधिवेशन स्थगित हुँदा पूर्वनिर्धारित महाधिवेशन प्रभावित हुने देखिएको छ ।

रास्वपाले पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

केन्द्रबाट प्रदेशमा संयोजनकारी भूमिका निर्वाह गर्न खटिएका कुमार आनन्द मिश्रले स्थगित भएको अधिवेशन छिट्टै गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘स्थगित भएको अधिवेशन सुचारु गर्ने विषयमा छलफल भइरहेको छ । यसभन्दा बाहेक अहिले केही भन्न मिल्दैन,’ मिश्रले भने ।

मधेसमा देखिएको समस्याबारे रास्वपाका केन्द्रीय सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रबाट हस्तक्षेप गर्नुभन्दा पनि सम्बन्धित प्रदेशलाई नै जिम्मेवारी दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप