बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

गुरु रंधावालाई निशाना बनाएर दिल्लीमा चल्यो गोली

बिहीबार, २८ जेठ २०८३, १४ : ४९
बिहीबार, २८ जेठ २०८३

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित पञ्जाबी गायक गुरु रंधावाको जिम बाहिर गोलीबारी भएको घटना सार्वजनिक भएको छ ।

दिल्लीको पश्चिम विहार क्षेत्रमा रहेको उक्त जिममा अज्ञात आक्रमणकारीहरूले गोली चलाएको बताइएको छ । घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यस गोलीबारीको जिम्मेवारी लरेन्स बिश्नोई समूहसँग जोडिएका भनिएका एक सदस्य अनिल पण्डितले लिएको दाबी गरिएको छ ।

उनले आफू अमेरिकामा बस्ने बताउँदै सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आक्रमणको कारण सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दाबीअनुसार गायक गुरु रंधावा बलिउड अभिनेता सलमान खानसँग नजिक हुँदै गएको कारण उनीहरूलाई पहिले नै चेतावनी दिइएको थियो ।

अनिल पण्डितले पोस्टमा गुरु रंधावाले समूहको चेतावनीलाई बेवास्ता गरेको कारण गोलीबारी भएको दाबी गरेका छन् । उनले सलमान खानसँग दूरी कायम राख्न चेतावनी दिइएको तर त्यसलाई नमानिएपछि आक्रमण गरिएको उल्लेख गरेको भनिएको छ ।

घटनापछि दिल्ली प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी टोलीले गोली चलाउने व्यक्तिहरूको पहिचान, सामाजिक सञ्जालमा गरिएको दाबीको सत्यता, घटनामा संलग्न सम्भावित गिरोहजस्ता पक्षहरूको अनुसन्धान गरिरहेको जनाएको छ ।

हालसम्म प्रहरीले आधिकारिक रूपमा कुनै समूह वा व्यक्तिलाई दोषी ठहर गरेको छैन । घटना संवेदनशील मानिएकाले पश्चिम विहार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप