बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

विपिन आचार्यको प्रस्ताव : शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस्

बिहीबार, २८ जेठ २०८३, १२ : ४०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले संसदको शून्य समयलाई 'ब्ल्याक होल समय' राख्न प्रस्ताव गरेका छन्।
  • उनले शून्य समयमा उठेका विषयहरूलाई अभिलेखमा मात्र सीमित नराखी सम्बन्धित मन्त्रालयमा पठाई कार्यान्वयनको प्रगतिबारे संसदलाई जानकारी गराउनुपर्ने बताए।
  • सांसद आचार्यले शून्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने र यसले जनप्रतिनिधिको जवाफदेहिता तथा सरकारको जिम्मेवारी सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले संसदमा शून्य समयलाई ब्ल्याक होल समय राख्न प्रस्ताव गरेका छन् । बिहीबार संसद्को शून्य समयमा बोलेका उनले यदि जनताका पीडा र देशका मुद्दा संसद्ले सुन्नुपर्नेमा जोड दिए । 

‘यदि यो शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ। तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरि बिलाएर जाने हुन् भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ । ब्ल्याक होलमा प्रकाश समेत हराएझैँ, संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जबाफदेहिता र सरकारको जिम्मेवारी हराउनु हुँदैन’, आचार्यले भने । 

उनले शून्य समय केवल बोल्ने औपचारिकता नभई यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका भएको बताए । तर ढोका खुलेपछि बाटो पनि हुनुपर्ने भएकाले शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस् भनेर उनले प्रस्ताव गरेका छन् ।

उनले भने, ‘ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति संसद्लाई जानकारी गराइयोस्। सांसद बोल्ने, सरकार नसुन्ने,  जनता कराउने, व्यवस्था नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप