प्रधानमन्त्रीले आम मतदाता र जनमतको हुर्मत लिए : महर
सारांश
- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाता र जनमतको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् ।
- उनले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिले नेपाली जनता, संसद् र जनमतको अपमान गर्ने काम भइरहेको जिकिर गरेका हुन् ।
- महरले नयाँ दलको सरकारले जनविरोधी र देशविरोधी काम गरेको देख्दा दुःख लागेको बताए ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाता र जनमतको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार र प्रधानमन्त्री साहको पटक–पटकको गैरजिम्मेवार गतिविधिले नेपाली जनता, संसद् र जनमतको हुर्मत लिने तथा अपमान गर्ने काम भइरहेको जिकिर गरेका हुन् ।
प्रमुख सचेतक महरले प्रधानमन्त्री र सरकारका राष्ट्रघाती कदमहरूले आफूलाई लज्जित र दुःखी बनाएको बताए । जनतासँग कामै गरेर देखाउने दाबीसहित आएको नयाँ दलको सरकारले अहिले जनविरोधी र देशविरोधी काम गरेको देख्दा दुःख लागेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्तिको कडा आलोचना गर्दै महरले भने, ‘आज बडो भारी मनका साथ, दुःखका साथ म आफ्ना भनाइहरू राख्दै छु । यही जेठ १७ गते सम्माननीय प्रधानमन्त्री आएर नेपालको सिमानाका बारेमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि आम रूपमा दुईवटा ज्वलन्त प्रश्नहरू उठेका छन् । हामीलाई नेपाली जनताले ठुलो विश्वास र भरोसाका साथ मत दिएर यो सदनमा निर्वाचित गराउनुभयो । यो सदनको जिम्मेवारी दिनुभयो । आज जनताले यो सदन र हामीमाथि दुईवटा गम्भीर खालका प्रश्नहरू सोधिरहेका छन् ।’
उनले अगाडि थपे, ‘पहिलो कुरा, अहिलेसम्म विश्वका कुनै पनि सरकार प्रमुख वा प्रधानमन्त्रीले नगरेका र नभनेका कुरा हाम्रो देशका प्रधानमन्त्रीले सदनमा कसरी भन्नुभयो ? तपाईंहरू के हेरेर बस्नुभयो ? तपाईंहरूलाई त्यो कुराले बिझायो कि बिझाएन ? भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका छन् । अझ उहाँहरूको गम्भीर चासो के छ भने– प्रधानमन्त्रीले त्यस्तो राष्ट्रघाती र देशद्रोही कुरा संसद्बाट बोलिरहँदा ताली पिट्ने सांसद को हुन् ? ती त्यही सदनका सदस्य हुन् कि को हुन् ? जनताले मत दिएर पठाएका त पक्कै होलान् भनेर सोधिरहेका छन् । यसले हामीलाई बडो लज्जित, दुःखी र गम्भीर बनाएको छ ।’
नयाँ दल र प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गर्दै महरले भने, ‘वास्तवमा हामी नयाँ हौँ, हामीले केही परिवर्तन गर्न खोजिरहेका छौँ, हामी कुरा होइन काम गर्न आइरहेका छौँ भनिरहनुभएको छ । हामीलाई पनि विश्वास लागिरहेको थियो । तर, पछिल्लो समयका सरकार र प्रधानमन्त्रीका गतिविधिहरूले यो कुरामा विश्वास गर्ने अवस्था बनेको छैन, सभामुख महोदय । सम्माननीय प्रधानमन्त्रीले पटक–पटक यस्ता खालका गतिविधिहरू गर्दै नेपाली जनता, यो संसद् र जनमतको हुर्मत लिने तथा अपमान गर्ने काम गरिरहनुभएको छ ।’
प्रमुख सचेतक महरले 'हामी नयाँ हौँ, कुरा होइन काम गर्न आएका हौँ' भन्दै जनतालाई झुक्क्याउने काम भएको टिप्पणी गरे । वर्तमान सरकारले देश र जनतामाथि लगातार विश्वासघात गरिरहेको भन्दै उनले यस्ता राष्ट्रघाती कदमहरूबारे सदन र जनता सजग हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निश्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
-
अमेरिकामा एआई बहसलाई प्रभावित गर्न चीनले च्याटजीपीटी प्रयोग गरिरहेको आरोप
-
सरकार कूटनीतिक माध्यमबाट सीमा सम्बन्धी विवाद समाधान गर्न प्रतिबद्ध छः परराष्ट्रमन्त्री
-
साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण