ललितपुर महानगरलाई स्थानीयको सुझाव : चक्रपथबाहिर विकास, सम्पदा संरक्षण र सेवामा जोड
सारांश
- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवालाहरूसँग सुझाव सङ्कलन गरेको छ ।
- सुझावहरूमा चक्रपथबाहिरका वडाहरूको विकास, सम्पदा संरक्षण, स्मार्ट पूर्वाधार निर्माण, स्वास्थ्य सेवा विस्तार, अव्यवस्थित तार व्यवस्थापन, पार्किङ समाधान, ढल व्यवस्थापन, नेवा: सङ्ग्रहालय स्थापना, हस्तकला नगरी घोषणा कार्यान्वयन र कर प्रणाली सुधारमा जोड दिइएको छ ।
- नगरप्रमुख चिरीबाबु महर्जनले सिटी हल, सिटी पुस्तकालय निर्माण, सटल बस सञ्चालन, मेकानिकल पार्किङ, स्वास्थ्य सेवा र स्मार्ट स्ट्रिट लाइट जडानलाई प्राथमिकता दिइने बताएका छन् ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवालाहरूसँग सुझाव सङ्कलन कार्य अगाडि बढाएको छ ।
आगामी वर्षको बजेटमा चक्रपथबाहिरका वडाहरूको विकास, सम्पदा संरक्षण, स्मार्ट पूर्वाधार निर्माण र नागरिकका घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने विषयमा महानगरपालिकालाई सुझाव आएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी बिहीबार आयोजित छलफल कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले गत वर्ष तय गरिएका नीति तथा कार्यक्रमहरूमध्ये करिब ९० प्रतिशत कार्यान्वयनको चरणमा पुगिसकेको जानकारी दिए । महानगरले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ, जनप्रतिनिधि, सल्लाहकार तथा नागरिक समाजसँग परामर्श गरेर मात्र नीति तथा कार्यक्रम तयार गर्ने गरेको उल्लेख गर्दै उनले यसलाई सुशासनको एउटा बलियो कडीका रूपमा व्याख्या गरे ।
नगरप्रमुख महर्जनका अनुसार महानगरभित्र बहुप्रतीक्षित सिटी हल र सिटी पुस्तकालय निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको र आगामी नीति तथा कार्यक्रममा ती योजनाहरूलाई प्राथमिकताका साथ समेटिनेछ । साथै पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी सटल बस सञ्चालन गर्ने र सवारी पार्किङको समस्या समाधानका लागि मेकानिकल पार्किङ निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।
महानगरमा पछि गाभिएका चक्रपथबाहिरका वडाहरूमा अझै भौतिक पूर्वाधारको विकास गर्न बाँकी रहेको स्वीकार गर्दै नगरप्रमुख महर्जनले ती क्षेत्रलाई पुराना सहरी वडासरह नै व्यवस्थित र विकसित बनाउने नीति लिइएको बताए । नागरिकको स्वास्थ्य सेवामा पहुँच सहज बनाउन आगामी साउन १ गतेदेखि चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने र बिरामीको जानकारी प्राप्त हुनासाथ घरमै पुगेर उपचार सेवा उपलब्ध गराइने उनले घोषणा गरे । चक्रपथ क्षेत्रमा छिट्टै स्मार्ट स्ट्रिट लाइट जडान गर्ने काम पनि अगाडि बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भौतिक विकाससँगै सम्पदा संरक्षण, सांस्कृतिक प्रवर्द्धन र सामाजिक क्षेत्रलाई समान प्राथमिकता दिइएको स्पष्ट पारिन् । महानगरका करिब ८० प्रतिशत योजनाहरू चक्रपथबाहिरका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उनले ललितपुरका जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाहरूको जगेर्नाका लागि आगामी वर्ष पनि पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता जनाइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले छलफलमा प्राप्त भएका रचनात्मक सुझावहरूलाई आगामी बजेट तथा नीति कार्यक्रममा समेटिने बताइन् । अघिल्ला वर्षका नीतिहरू कार्यान्वयनमुखी रहेको दाबी गर्दै उनले आगामी नीति तथा कार्यक्रमलाई समयको आवश्यकताअनुसार थप रूपान्तरणकारी र परिणाममुखी बनाइने प्रस्ट पारिन् ।
- के–के आयो महानगरलाई सुझाव ?
सभ्य समाजका नवीनमङ्गल जोशीले सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तारहरूको तत्काल व्यवस्थापन गर्न र पार्किङको दीर्घकालीन समाधानका लागि बहुस्तरीय (मल्टीलेभल) पार्किङ निर्माण गर्न सुझाव दिए । बौद्ध विहार सङ्घका अध्यक्ष कर्ण बज्राचार्यले स्मार्ट स्ट्रिट लाइट जडानसँगै यसको प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको औँल्याउँदै गबहाल क्षेत्रमा वर्षाको समयमा ढल स्थानीयवासीको घरभित्रै पस्ने समस्याको स्थायी समाधान खोज्न आग्रह गरे ।
ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जनले ललितपुरलाई सम्पदा र पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै भित्री टोल तथा गल्लीहरूको सरसफाइमा सुधार ल्याउन र छुट्टै नेवा: सङ्ग्रहालय स्थापना गर्न माग गरे । राजोपाध्याय समाजका अध्यक्ष सञ्जयराज राजोपाध्यायले नेपाल संवत् प्रवर्द्धन तथा ऐतिहासिक कात्तिक नाचको संरक्षण र विकासका लागि आगामी वर्ष थप बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले चक्रपथभित्रका विकसित वडाभन्दा बाहिरका अल्पविकसित वडाहरूलाई बढी बजेट छुट्याएर सन्तुलन मिलाउनुपर्ने धारणा राखे ।
चेम्बर अफ कमर्स ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले कर सङ्कलनमा मात्र केन्द्रित हुनुभन्दा करदातालाई उपलब्ध गराइने सेवाको गुणस्तरमा सुधार ल्याउनुपर्ने र अभिलेखीकरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । नेवा: समाजका दीपेन्द्र शिल्पकारले पनि घरबहाल करलाई थप सहज र व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । वाराही सङ्घका अध्यक्ष उपेन्द्र वाराहीले ललितपुरलाई हस्तकला नगरी घोषणा गरिए पनि त्यसअनुरूपका कार्यक्रमहरू प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको भन्दै गुनासो गरेका थिए ।
छलफलमा सहभागीहरूले पूर्वाधार विकास, कर प्रणाली सुधार, सम्पदा संरक्षण, वातावरण व्यवस्थापन तथा सेवा प्रवाहलाई जनमुखी बनाउनुपर्ने चौतर्फी सुझाव दिएका छन् । महानगरपालिकाले यी प्राप्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
-
फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण