रास्वपाको लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा को–को आकाङ्क्षी ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन दाङको घोराहीमा सुरु भएको छ ।
- अधिवेशनबाट ५७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ, जसमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता रहनेछन् ।
- सभापति पदका लागि हालसम्म आधा दर्जनभन्दा बढी नेताले आकाङ्क्षा देखाएका छन्, जसमा देवराज पाठक, डा. राजकुमार सुवेदी, मञ्जु भुसाल, सालिकराम घिमिरे, निलराज अधिकारी, गोपाल घिमिरे, मधु अर्याल र गणेश पौडेललगायतका नाम चर्चामा छन् ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन शनिबारदेखि दाङको घोराहीमा सुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित हुन लागेको अधिवेशनलाई पार्टीले विशेष महत्त्व दिएको छ ।
रास्वपाको विधानअनुसार अधिवेशनबाट ५७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ । कार्यसमितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा अन्य सदस्य रहने व्यवस्था छ । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य रहने प्रावधान छ ।
पार्टीले केही दिनअघि मात्रै लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पूर्वी रुकुमबाहेक ११ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । ती जिल्लाबाट नयाँ नेतृत्व चयन भइसकेको छ भने प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम पनि पूरा भएको छ ।
रास्वपाका केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार प्रदेश अधिवेशनमा जिल्लास्तरीय प्रतिनिधि, केन्द्रीय प्रतिनिधि, २६ सङ्घीय निर्वाचन क्षेत्रका संयोजक, जिल्ला कार्यसमिति, स्थानीय तहका प्रमुख, प्रदेश कार्यसमिति तथा प्रदेशस्तरीय विभागीय समितिका प्रतिनिधिहरू सहभागी हुनेछन् । प्रत्येक प्रदेश विभागीय समितिबाट कम्तीमा तीन महिला सहित नौ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको उनले बताए ।
प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा उल्लेख्य सफलता हासिल गरेको रास्वपाले आगामी राजनीतिक यात्रालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेतृत्व चयनमा जोड दिएको छ । प्रदेशका २६ सङ्घीय निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा प्रभावशाली उपस्थिति देखाएको पार्टीले संगठन विस्तार र जनआधार मजबुत बनाउने नेतृत्व खोजिरहेको नेताहरू बताउँछन् ।
अधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताउँदै प्रदेश सभापति देवराज पाठकले घोराहीमा सबै व्यवस्थापन पूरा हुने क्रममा रहेको रातोपाटीलाई बताए । उनले भने, ‘हामी अधिवेशनको तयारीको अन्तिम चरणमा छौँ । जिल्लाबाट साथीहरू घोराही आउँदै हुनुहुन्छ । अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन सबैजना खटिएका छन् ।’
शनिबार उदघाटन सत्रसँगै सुरु हुने अधिवेशनले लुम्बिनी प्रदेशमा रास्वपाको आगामी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।
सभापतिमा कसको दाबी ?
प्रदेश सभापति पदका लागि हालसम्म केही नेताको नाम चर्चामा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नेतृत्वमा आधा दर्जनभन्दा बढी नेताले आकाङ्क्षा देखाएका छन् ।
वर्तमान प्रदेश कार्यसमिति र पार्टीभित्र संगठन निर्माणमा सक्रिय रहेका केही नेताले पनि सभापतिमा दाबी गर्ने तयारी गरिरहेका छन् । यद्यपि उम्मेदवारी दर्ता प्रक्रिया सुरु नभएकाले आधिकारिक रूपमा आकाङ्क्षीहरूको अन्तिम सूची सार्वजनिक भएको छैन । धेरैजसोले सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी स्रोतका अनुसार सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भए पनि आवश्यक परे निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ ।
अधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति सदस्य सुदन ज्ञवालीले निर्वाचन समितिको बैठक शुक्रबार साँझ बसेर निर्वाचन कार्यतालिका तय गर्ने तयारी गरिएको रातोपाटीलाई बताए ।
‘हाम्रो योजना भोलि नै निर्वाचन गराउने हो, तर त्यसअघि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्तालगायतका प्रक्रिया मिलाउन कार्यतालिका बनाउने काम भइरहेको छ,’ ज्ञवालीले रातोपाटीसँग भने ।
औपचारिक निर्वाचन कार्यतालिका सार्वजनिक नभइसके पनि विभिन्न नेताहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिरहेका छन् भने केहीले प्रतिनिधिहरूसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।
सभापति पदका सम्भावित दाबेदारमा हालका प्रदेश सभापति तथा दाङ–१ बाट प्रतिनिधि सभा सदस्य देवराज पाठक, प्रदेश संगठन विभाग प्रमुख डा. राजकुमार सुवेदी, सङ्घीय सांसद मञ्जु भुसाल, प्रदेश उपसभापति सालिकराम घिमिरे, प्रदेश महामन्त्री निलराज अधिकारी, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, रुपन्देहीका मधु अर्याल तथा गणेश पौडेललगायत छन् ।
प्रदेश कार्यसमितिका अन्य पदका लागि पनि विभिन्न नेताहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफ्ना एजेण्डा सार्वजनिक गर्न थालेका छन् । हालका प्रदेश सभापति देवराज पाठकले नेतृत्व सर्वसम्मतबाट चयन होस् भन्ने पक्षमा आफू रहेको बताए । ‘निर्वाचनभन्दा पनि सर्वसम्मत नेतृत्व चयन होस् भन्ने प्रस्ताव लिएर साथीहरूसँग छलफल गरिरहेको छु,’ उनले भने ।
संघीय सांसद मञ्जु भुसालले भने प्रदेशमा महिला नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै आफू सभापति पदका लागि सक्षम उम्मेदवार रहेको दाबी गरिन् ।
हाल आकाङ्क्षीको संख्या धेरै देखिए पनि उम्मेदवारी दर्तापछि वास्तविक प्रतिस्पर्धीको तस्बिर स्पष्ट हुने एक प्रदेश सदस्यले बताए ।
पालिका र जिल्ला तहका अधिकांश अधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन भएको सन्दर्भमा प्रदेश अधिवेशनमा पनि सर्वसम्मतको सम्भावना कमजोर रहेको नेताहरूको बुझाइ छ । आकाङ्क्षीको संख्या धेरै भएकाले मतदान प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने भन्दै निर्वाचन समितिले आवश्यक तयारी गरिरहेको जनाएको छ ।
यता केही नेताहरूले भने शुक्रबार राति र शनिबार दिउँसोसम्मको राजनीतिक समीकरण र छलफलपछि सर्वसम्मत वा निर्वाचनमध्ये कुन प्रक्रियामा जाने भन्ने टुङ्गो लाग्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा अव्यवस्थित तार व्यस्थापन अभियान तीव्र
-
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण