शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
दीपक भट्ट प्रकरण

धितोपत्र सम्बन्धी कसुरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डे फरार प्रतिवादी

शुक्रबार, २९ जेठ २०८३, १४ : ४४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई प्रतिवादी कायम गरिएको छ ।
  • केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पाण्डेलाई फरार प्रतिवादी बनाएको हो ।
  • पाण्डेले झुटा कारोबार गरी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई ९९ लाख हानी पुर्‍याएको निष्कर्ष छ ।

काठमाडौँ । व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे पनि संलग्न भएको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष पाण्डेलाई पनि प्रतिवादी कायम गरेर अदालतमा अभियोग दायर गरेको छ । अभियोगपत्र अनुसार पाण्डेलाई फरार प्रतिवादी कायम गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० घर भएका पाण्डे पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् । ४८ वर्षीय निकोलस भट्टले स्थापना गरेको लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक रहेका खुलेको छ ।

बिहीबार दायर गरिएको धितोपत्र सम्बन्धी कसुरमा ८१ जना प्रतिवादी छन् । पाण्डे सञ्चालक रहेको लिबर्टीले नेपाल रिइन्स्योरेन्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको शेर मूल्य बढाउने तथा प्रभावित पार्ने काम गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

त्यसबाट धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुर गरेको निष्कर्ष निकाल्दै सीआईबीले लिबर्टीका सञ्चालकले अन्य व्यक्ति र संस्थाहरूसँग मिलेर लगानीकर्ता तथा समग्र धितोपत्र बजारलाई झुक्याउने तथा योजना बनाउने काम गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

पाण्डे समेतले झुटा कारोबार गरेर लिबर्टीलाई ९९ लाख हानी पुर्‍याएको निष्कर्षसहित सरकारी वकिलले सो रकम बिगो मागदावी लिएको छ । उनका बुवा बिक्रम पाण्डे पूर्वमन्त्री एवम् कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । बोलपत्र प्रणाली ह्याक गरेर ठेक्का कब्जा गरेको कसुरमा सीआईबीले विक्रमलाई पनि पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप