शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक

शुक्रबार, २९ जेठ २०८३, १८ : ०१
शुक्रबार, २९ जेठ २०८३

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग गरी समुदायलाई सचेत गराउँदै शान्ति सुरक्षा, अमन, चयन कायम गर्न तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ ।

सो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रविधि, शान्ति र सामुदायिक सचेतनालाई एकै सूत्रमा बाँधेर कार्ययोजना अघि सारेको बताए ।

उनले बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरूकता कार्यक्रमसहित बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा सञ्चालन गरी शान्ति सुव्यवस्थाका पक्षमा प्रदेश प्रहरी अघि बढेको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक खत्रीले भने- “सार्वजनिक सुरक्षाका चुनौतीसँग जुध्न आधुनिक सूचना प्रविधिको सदुपयोग हुन आवश्यक छ । ‘ह्याक फर सेफ्टी’ मार्फत युवा, विद्यार्थी, ‘डेभलपर’ तथा नवप्रवर्तनकर्तालाई सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धानमा सहयोग तथा प्रहरी सेवासँग सम्बन्धित समस्या समाधानका लागि नवीन उपाय विकास गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ । सोहीअनुसार रचनात्मक कार्यक्रम सञ्चालन हुनेछ ।”

त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्रामार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न लागेको प्रदेश प्रहरीले जनाएको छ । सो पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सङ्घसंस्थाको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रदेश प्रहरीका अनुसार बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायिक जागरूकता कार्यक्रममा साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतना अभिवृद्धिका पक्षमा विभिन्न कार्यक्रम हुनेछ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले यही जेठ ३० गते सुरु भई असार १ गते सम्पन्न हुने तीनदिने विशेष अभियानमा व्यापक जनसहभागिता रहने र यसबाट प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप