शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय र प्रदेश सरकारलाई गगन थापाको निर्देशन, ‘विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखौँ’

शुक्रबार, २९ जेठ २०८३, १८ : ४४
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका स्थानीय र प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएको छ।
  • पार्टी सभापति गगनकुमार थापाले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै विपद् व्यवस्थापनलाई स्थानीय सरकारको मुख्य कार्य सूचीमा राख्न आग्रह गरे।
  • थापाले पार्टीको करिब ८-९ लाख सदस्य सञ्जाललाई विपद् जोखिम न्यूनीकरण र सचेतना अभियानमा परिचालन गर्ने लक्ष्य राखिएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो निर्देशन दिएका हुन्। 

स्थानीय सरकारहरूले सम्पादन गर्नुपर्ने मुख्य र आधारभूत कार्यहरूमध्ये विपद् व्यवस्थापनलाई प्रमुख सूचीमा राख्दै पार्टीले विशेष मार्गनिर्देशन समेत प्रदान गरेको उनले जानकारी दिए। सभापति थापाका अनुसार स्थानीय तहले विपद् व्यवस्थापनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूलाई स्पष्ट रूपमा वर्गीकरण गरिएको छ।

सोही बमोजिम योजनाबद्ध र प्रभावकारी रूपमा अगाडि बढ्न उनले मातहतका जनप्रतिनिधिहरूलाई आग्रह गरे। पार्टीको साङ्गठनिक सुदृढीकरण र नयाँ सदस्यता वितरणको सन्दर्भमा चर्चा गर्दै उनले नेपाली कांग्रेस केवल राजनीतिक दल मात्र नभएर मुलुककै सबैभन्दा ठुलो सामाजिक संस्थाको रूपमा स्थापित रहेको उल्लेख गरे।

पार्टीको यो विशाल सञ्जाल र जनशक्तिलाई विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभियानका लागि परिचालन गर्ने लक्ष्य राखिएको उनले बताए। संसद् र पार्टीका बैठकहरूमा यस्ता जनसरोकारका मुद्दा उठ्ने गरेको स्मरण गर्दै सभापति थापाले भने, ‘हामी सरकारमा हुँदा मात्र होइन, सरकारबाहिर हुँदा पनि यस्ता विषयमा सक्रिय रहन्छौँ । जस्तै, आजै हामी सदस्यतासम्बन्धी बैठक गरिरहेका थियौँ । यसपटक करिब साढे ६ लाखदेखि ७ लाखसम्म सदस्य दर्ता हुनुभएको छ । सबै प्रक्रिया पूरा हुँदा यो सङ्ख्या ८ लाखदेखि ९ लाखसम्म पुग्नेछ । यसरी हेर्दा, नेपाली कांग्रेस नेपालको सबैभन्दा ठुलो सामाजिक सङ्गठन पनि हो । यदि हामीले ‘विपद्सम्बन्धी विषयमा सबैलाई सचेत बनाऔँ’ भन्ने अभियान सञ्चालन गर्‍यौँ भने, एकै पटक ८-९ लाख मानिसलाई सचेत बनाउन सक्छौँ ।’

सदस्यता नवीकरण तथा वितरण सम्बन्धी बैठकका क्रममा उनले पार्टीको सम्पूर्ण साङ्गठनिक शक्तिलाई राजनीतिक जोडघटाउमा मात्र सीमित नराखेर सामाजिक उत्तरदायित्व, नागरिकको जिउधनको रक्षा र विपद् व्यवस्थापनमा केन्द्रित गरिने स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप