शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राउटे मूलप्रवाहीकरण नीति

अब राउटे बस्तीमा अनाधिकृत प्रवेश रोकिने, मदिरामा कडाइ

घुम्ती सेवामार्फत शिक्षा, स्वास्थ्यमा जोड
शनिबार, ३० जेठ २०८३, ०८ : ०३
शनिबार, ३० जेठ २०८३

सारांश

  • कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति पारित गरेको छ जसको उद्देश्य उनीहरूको जनसङ्ख्या संरक्षण, मौलिक पहिचान जोगाउने र आधुनिक समाजसँग सम्मानजनक रूपमा जोड्ने रहेको छ।
  • यो नीतिले राउटे समुदायका लागि घुम्ती शिक्षा, स्वास्थ्य, पोषण सेवा, अस्थायी आवास निर्माण, र स्वास्थ्य उपचारको व्यवस्था गर्नेछ।
  • नीतिले राउटे बस्तीमा अनाधिकृत प्रवेश र बाहिरी हस्तक्षेप नियन्त्रण गर्ने, उनीहरूको भाषा र संस्कृति संरक्षण गर्ने, र मदिरा सेवनलाई कडाइका साथ न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।

सुर्खेत । दक्षिण एसियाको एकमात्र फिरन्ते राउटे समुदाय लोपोन्मुख अवस्थामा छ । बाहिरी दुनियाँको अनावश्यक हस्तक्षेप र परनिर्भरमुखी हुँदा राउटेको अस्तित्व सङ्कटमा पर्दै गएको हो ।

‘आफूलाई जङ्गलका राजा’ भन्न रुचाउने र आफ्नै रहनसहन, भेषभुषा, चालचलन र संस्कृति भएको राउटे समुदायलाई प्राकृतिक ज्ञानको भण्डार मानिन्छ ।

सिकार गर्ने र काठका सामान बनाएर अन्नसँग साट्ने उनीहरूको मुख्य पेसा हो, तर पछिल्लो समयमा काठको अभाव र श्रम गर्ने अभ्यासमा कमी आएको छ भने उच्च शिशु मृत्युदर, कुपोषण, सरसफाइको अभाव र मदिराका कारण अस्तित्व नै खतरामा छ ।

कर्णाली प्रदेश सरकारले यही कुरालाई मध्यनजर गर्दै ‘लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति’ ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीतिलाई पारित गरिसकेको छ ।

राउटे नीतिको मुख्य उद्देश्य तीव्र रूपमा घट्दै गएको राउटे जनसङ्ख्यालाई संरक्षण गर्ने, उनीहरूको मौलिक पहिचान जोगाउने र आधुनिक समाजसँग सम्मानजनक रूपमा जोड्ने रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।

२०६८ को जनगणना अनुसार राउटेको जनसङ्ख्या ६१८ रहेकोमा २०७८ सम्म आउँदा घटेर जम्मा १३४ जनामा सीमित भएको उल्लेख छ । यद्यपि पछिल्लो वर्षमा अत्यधिक मदिरा सेवनका कारण बुढादेखि बालबालिकासम्मले ज्यान गुमाइरहेका छन्, जसका कारण यो जनसङ्ख्या अझै घट्न सक्ने अनुमान छ ।

घुम्ती सेवामार्फत शिक्षा, स्वास्थ्यमा जोड

प्रदेश सरकारले राउटेलाई मूल प्रवाहीकरणमा ल्याउन रणनीति र कार्यनीति तय गरेको छ, जसमा राउटेका लागि घुम्ती सेवाको अवधारणा ल्याएको छ । राउटे कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान तथा सुदूरपश्चिमको अछाम र लुम्बिनीको दाङ जिल्लामा अस्थायी बसोबास गर्दै आएका छन् । उनीहरू सधैँ एक ठाउँमा नबस्ने भएकाले नै घुम्ती सेवा ल्याइएको सामाजिक विकासमन्त्री भण्डारी बताउँछन् ।

‘घुमन्ते जीवनशैलीलाई मध्यनजर गर्दै घुम्ती सेवाको अवधारण ल्याएको हो,’ उनले भने, ‘जस अन्तर्गत शिक्षा, स्वास्थ्य तथा पोषण सम्बन्धी सेवाहरू घुम्ती (मोबाइल) प्रणालीमार्फत प्रभावकारी रूपमा प्रवाह गरिने छ ।’

राउटे समुदाय बसोबास गरेको स्थानमा आधारभूत शिक्षा दिने व्यवस्था मिलाइने उल्लेख छ । पछिल्लो समय एक संस्थाले राउटे समुदायका बालबालिकालाई लेखपढतर्फ अग्रसर गराइरहेको छ । अब प्रदेश सरकारले उनीहरू बसोबास गरिरहेकै स्थानमा घुम्ती आधारभूत शिक्षा दिने व्यवस्था मिलाउने छ ।

1-raute Fail photo (1)

साथै, अब सरकारले अस्थायी आवास निर्माण गर्ने नीति पनि अघि सारेको छ । ‘राउटे समुदायको बसोबास रहने सुर्खेत, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लामा उनीहरूको इच्छाअनुसारको स्थानमा अस्थायी आवास निर्माण गरिने छ,’ राउटे नीतिमा भनिएको छ ।

त्यस्तै घुम्ती आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिने र निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने नीतिमा उल्लेख छ । स्वास्थ्य समस्या न्यूनीकरण गर्न खानपान, लत्ताकपडा तथा औषधिको निःशुल्क व्यवस्था गरिने नीतिमा समेटिएको छ ।

अनाधिकृत प्रवेश र बाहिरी हस्तक्षेपमा नियन्त्रण, भाषाको संरक्षण गरिने

नीतिले राउटेको भाषा, संस्कृतिलाई जोगाइराख्ने प्रमुख उद्देश्य राखेको छ । रणनीति र कार्यनीतिको बुँदा १ मा भनिएको छ, ‘उनीहरूको भाषा, संस्कृति, परम्परा तथा सिपको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन गर्दै समयअनुकूल आधुनिकीकरण गरिनेछ ।’

राउटेले बोल्ने खाम्ची भाषाको लिपिबद्ध गरेर त्यसको संरक्षण गर्ने, उनीहरूको जीवनशैली र अमूर्त संस्कृतिको खोज, अभिलेख र संरक्षण गर्ने र राउटे समुदायको करिडोर तथा प्रोफाइल तयार गरिने कार्यनीतिमा उल्लेख छ ।

‘परम्परागत काठका सामानको उत्पादनलाई सुधार गर्ने, त्यसबाट उनीहरूको आम्दानीको स्रोत बनाउन मद्दत गर्ने, काठका सामग्री बनाउन चाहिने बिरुवा रोप्ने, संरक्षण गर्ने र सहज उपलब्धता हुने व्यवस्था गर्ने तथा राउटे समुदायलाई उनीहरू बसाइसराइ सर्ने क्षेत्रभित्रका सामुदायिक वनको उपभोक्ताको सदस्यता प्रदान गरिने छ,’ नीतिमा भनिएको छ ।

4-raute fail photo 0

उनीहरूले बनाएका सामग्रीलाई बिक्री वितरण गर्न प्रदेश तथा स्थानीय सरकारले सहजीकरण गरिदिने छन् भने काठबाट बनाइएका वस्तुहरू सरकारी कार्यालयले मायाको चिनो, सङ्ग्रहालय तथा प्रदर्शन स्थलमा प्रयोग गर्नेछन् ।

नीतिमा राउटे बालबालिकालाई आधारभूत तहदेखि उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरिने पनि उल्लेख छ ।

साथै, राउटे समुदायका नागरिकहरूको सिप र क्षमताको आधारमा रोजगारीका क्षेत्रहरूमा प्राथमिकता दिने, उनीहरूलाई स्थानीयस्तरमा हुने राजनीतिक, सामाजिक र आर्थिक क्रियाकलापमा सहभागिता गराउने जस्ता काम गर्नुपर्ने कुरा नीतिमा समेटिएका छन् ।

अहिले मदिरा राउटेको काल बन्दैछ । त्यसलाई न्यूनीकरण गर्न उनीहरूको चाडपर्व वा धार्मिक कार्यमा आफैँले परम्परागत रूपमा बनाएको मदिरामात्र प्रयोग गर्न दिने नीति लिइएको छ ।

सरकारले उनीहरूको संरक्षणका लागि बाह्य हस्तक्षेप रोक्नुपर्ने नीति लिएको छ । पछिल्लो समय राउटेसँग फोटो, भिडिओ र टिकटक बनाउन बाहिरका मान्छे अनावश्यक रूपमा बस्ती प्रवेश गर्ने, राउटे किशोरीमाथि यौनजन्य गतिविधि गरेका घटना सतहमा आए, जसले राउटे झन् असुरक्षित भएकौ भन्दै सरोकारवालाले चिन्ता प्रकट गरिरहेका छन् ।

नीतिमा भनिएको छ, ‘राउटे बस्तीमा अनधिकृत प्रवेश तथा बाह्य हस्तक्षेप नियन्त्रण गर्दै आवश्यक सुरक्षा संयन्त्र परिचालन गरी समुदायको समग्र सुरक्षा सुदृढ गरिनेछ ।’

त्यसका लागि विशेष सुरक्षाको व्यवस्था गर्ने, उनीहरूले चयन गरेका महिला र पुरुष स्वयंसेवक राख्ने र प्रदेश सरकार र स्थानीय तहको समन्वय एवं सहकार्यमा राउटे बस्ती नजिक आवश्यक सुरक्षा व्यवस्था मिलाउने उल्लेख छ ।

लक्षित कार्यक्रममा एकद्वार प्रणाली लागु गरिने

गणतन्त्र आएपछि राउटे बस्तीमा बाह्य हस्तक्षेप बढ्यो । त्यसअघि बाहिरी मान्छेलाई राउटे बस्तीमा खासै प्रवेश हुन्थेन । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले सहयोगका नाममा राउटे लक्षित कार्यक्रमहरू ल्याए । तर उनीहरुको जीवनशैलीमा सुधार आउनुको साटो झन् परनिर्भर बन्यो ।

प्रदेश सरकारले यस कुरालाई मध्यनजर गर्दै राउटे लक्षित कार्यक्रमहरु एकीकृत रूपले कार्यान्वयन गर्ने नीति लिएको छ ।

‘राउटे समुदायका मुखिया, अगुवा तथा सदस्यहरूसँग नियमित संवाद, परामर्श र सहकार्यको व्यवस्था गरी कार्यक्रमप्रति अपनत्व अभिवृद्धि गरिनेछ,’ नीतिमा भनिएको छ, ‘राउटे समुदायका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकता सम्बोधन गर्ने लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।’

3-raute_4_KsQLgvxjYZ

नीति कार्यान्वयनका लागि प्रदेश स्तरमा ‘राउटे समुदायको मूल प्रवाहीकरण निर्देशक समिति’ गठन गरिनेछ, जसको अध्यक्षता सामाजिक विकास मन्त्रीले गर्नेछन् । यसैगरी, स्थानीय स्तरमा कार्य सञ्चालन गर्न ‘कार्यान्वयन तथा सहजीकरण समिति’ रहने उल्लेख छ ।

राउटे समुदायका लागि हुने खर्चमा केन्द्र, प्रादेशिक र स्थानीय सरकारको साझेदारी रहने तथा दातृ निकाय र विकास साझेदारहरूबाट प्राप्त हुने सहयोगलाई ‘एकद्वार प्रणाली’ मार्फत व्यवस्थित गरिने उल्लेख छ ।

‘राउटे हाम्रा गहना पनि हुन, त्यसैले नीतिमार्फत उनीहरूको मानव अधिकारको संरक्षण गर्दै समावेशी र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्य हो,’ सामाजिक विकासमन्त्री भण्डारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप