शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई

शनिबार, ३० जेठ २०८३, १५ : २७
शनिबार, ३० जेठ २०८३

सारांश

  • अभिनेता दयाहाङ राईले सफलतालाई केवल भौतिक उपलब्धि वा उचाइ हासिल गर्नुसँग मात्र जोड्न नहुने तर्क गरेका छन् ।
  • उनले कुनै पुस्तक वा विचारधारामा उल्लेख गरिएका सफलताका सूत्रहरू सबैका लागि समान रूपमा फलदायी नहुने बताए ।
  • लेखिका शोभा अधिकारीले आफ्नो कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ मानव जीवनका लागि उपयोगी र मानसिक तथा भावनात्मक सबलताका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

काठमाडौँ । साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ विमोचन भएको छ । शनिवार अधिकारीद्वारा लिखित सफलताको २७ स्वर्णिम सूत्रहरू लोकार्पण गरिएको हो । लोकार्पण समारोहमा बोल्दै अभिनेता दयाहाङ राईले सफलतालाई केवल भौतिक उपलब्धि वा उचाइ हासिल गर्नुसँग मात्र जोड्न नहुने तर्क गरे । 

कुनै पुस्तक वा विचारधारामा उल्लेख गरिएका सफलताका सूत्रहरू सबैका लागि समान रूपमा फलदायी नहुने उनले उल्लेख गरे । मानिस एक सामाजिक प्राणी भएकाले उसको सोच र चिन्तन प्रणालीमा समाजको गहिरो प्रभाव रहने राईको भनाइ छ ।

आफ्नो अभिनय यात्रा र चरित्र निर्माणको अनुभवलाई जोड्दै राईले स्थान र परिवेशले मानिसको अनुभूतिमा परिवर्तन ल्याउने बताए । राईले जीवनलाई बुझ्नका लागि सामाजिक र व्यक्तिगत दुवै दृष्टिकोणको सन्तुलन आवश्यक रहेको कुरामा जोड दिए । 

उनले भने-  ‘अब सफलता के हो भन्ने प्रश्न आउँछ । खुसीलाई सफलता मान्ने कि नमान्ने ? सगरमाथा चढ्नुलाई सफलता मान्ने कि नमान्ने ? पदोन्नति पाउनुलाई सफलता मान्ने कि नमान्ने ? केवल उचाइमा पुग्नुलाई मात्र सफलता मान्ने कि फेरि जमिनमा फर्किएर सामान्य जीवन जिउन सक्नुलाई पनि सफलता मान्ने ? यस्ता धेरै प्रश्नहरू छन् । त्यसैले मेरो बुझाइमा जीवन आफैँमा एउटा अभ्यास हो । यस पुस्तकमा उल्लेख गरिएका कतिपय सूत्रहरू आफूमाथि लागू हुन्छन् भने कतिपय सूत्रहरू लेखकको आफ्नै सोच र चिन्तनबाट आएका छन्, जुन सबै मानिसमा समान रूपमा लागू नहुन पनि सक्छन् । किनभने मानिस एक्लै हुँदैन, ऊ समाजसँग जोडिएको हुन्छ। समाजको आफ्नै चिन्तन, सोच र विश्वास प्रणाली हुन्छ ।’ 

लेखिका शोभा अधिकारीले आफ्नो नवीनतम कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ मानव जीवनका लागि उपयोगी हुनुका साथै मानसिक एवं भावनात्मक सबलताका लागि महत्त्वपूर्ण रहेको बताइन् । उनले यस पुस्तकलाई शब्दहरूको औषधिको संज्ञा दिँदै यसले मानिसलाई चुनौतीहरूको सामना गर्ने शक्ति प्रदान गर्ने बताइन् ।

अधिकारीका अनुसार शारीरिक पीडामा औषधिको सेवनले राहत मिलेजस्तै यो पुस्तकले मानसिक तनावबाट मुक्ति र शान्ति प्राप्त गर्न मद्दत पुर्याउँछ । सफलता कसरी प्राप्त गर्ने, तनावमुक्त जीवन कसरी बिताउने र उपलब्ध अवसरहरूको उचित सदुपयोग कसरी गर्ने भन्ने विषयमा पुस्तक केन्द्रित रहेको उनले स्पष्ट पारिन् ।

वर्तमान समाजमा बढ्दै गएको विवाहोत्तर सम्बन्ध र त्यसले निम्त्याएको दाम्पत्य जीवनको विखण्डनप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले यस पुस्तकले सम्बन्धहरूलाई दिगो र सुमधुर बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्- ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ एउटा औषधि हो, शब्दहरूको औषधि हो, र भिटामिन पनि हो । जसरी हामीले शारीरिक पीडा हुँदा औषधि सेवन गर्दा राहत प्राप्त गर्छौं, त्यसरी नै ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ले मानसिक र भावनात्मक रूपमा बल प्रदान गर्नुका साथै जीवनका चुनौतीहरूको सामना गर्न सक्ने शक्ति पनि दिन्छ । त्यसैले यो पुस्तक मानव जीवनका लागि अत्यन्त उपयोगी छ । यो पुस्तक पढ्नुभयो भने हामी कसरी सफल हुने, तनावमुक्त जीवन कसरी बिताउने, खुसी, सुखी र शान्तिमय जीवन कसरी प्राप्त गर्ने, अवसरहरूको सदुपयोग कसरी गर्ने तथा सम्बन्धहरूलाई कसरी दिगो बनाउने भन्ने विषयमा महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ ।’

आफ्ना अनुभव, अनुभूति र साधनाको प्रतिफलका रूपमा तयार पारिएको यस कृतिमा आफ्नो क्षमता चिन्न, सकारात्मक सोचको विकास गर्न, आत्मविश्वास बढाउन र दृढ सङ्कल्पका साथ अगाडि बढ्नका लागि विभिन्न सूत्रहरू प्रस्तुत गरिएको छ । अधिकारीले असल समाज निर्माणका लागि व्यक्ति आफैँ असल हुनुपर्नेमा जोड दिँदै यो पुस्तकले पाठकको जीवनमा नयाँ आयाम थप्ने दाबी गरिन् । पुस्तकले निरन्तर परिश्रम र दृढ इच्छाशक्तिमार्फत जीवनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मुख्य विषयवस्तु बनाएको छ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप