आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान

शनिबार, ३० जेठ २०८३, २२ : ३०
शनिबार, ३० जेठ २०८३

सारांश

  • विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा ब्राजिलले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ।
  • ब्राजिलको छैटौँ विश्वकप उपाधि जित्ने लक्ष्य छ, तर यसपटक टोलीलाई कम आँकिएको छ।
  • कतार विश्वकप २०२२ मा सेमिफाइनल पुगेको मोरक्कोले ब्राजिललाई चुनौती दिन सक्ने क्षमता राख्छ।

विश्वकप २०२६ अन्तर्गत बहुप्रतीक्षित खेल आइतबार बिहान ३ः४५ (नेपाली समय)मा खेलिनेछ । समूह ‘सी’ को यसै खेलबाट ब्राजिलले शक्तिशाली प्रतिद्वन्द्वी मोरक्कोविरुद्ध खेल्दै आफ्नै रेकर्ड विस्तार गर्ने छैटौँ विश्वकप उपाधिको यात्रा सुरु गर्दै छ । 

विश्वकप इतिहासकै सबैभन्दा सफल टोली भए पनि यसपटक ब्राजिललाई धेरैले उपाधिको प्रमुख दाबेदारका रूपमा लिएका छैनन् । तर, नाम नै काफी छ भनेजस्तो ब्राजिल सधैँको उपाधि दाबेदार हुने गर्छ । कत्तिको प्रमुख दाबेदार हो भन्ने कुरा यही पहिलो खेलले नै बताइदिनेछ । 

कार्लो एन्चेलोटीको टोलीलाई हालसम्मकै कम अपेक्षा गरिएको ब्राजिली विश्वकप टोलीमध्ये एक मानिए पनि भिनिसियस जुनियर, राफिन्हा र अनुभवी नेयमार जुनियरजस्ता प्रतिभाशाली खेलाडीहरूले टोलीलाई बलियो बनाएका छन् ।

अन्य टोलीहरूले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीविरुद्ध यात्रा सुरु गरिरहेका बेला ब्राजिलले भने अफ्रिकी च्याम्पियन मोरक्कोसँग खेल्दै कठिन सुरुआत गर्न लागेको हो । यसलाई समूह चरणकै सबैभन्दा चुनौतीपूर्ण खेलका रूपमा लिइएको छ । 

अश्राफ हाकिमी र ब्राहिम डियाजजस्ता खेलाडी रहेको मोरक्को टोली जुझारु आक्रमण शक्ति र आत्मबलले भरिएको छ । इतिहासले देखाएझैँ उनीहरू विश्वका उत्कृष्ट टोलीहरूलाई चुनौती दिन सक्षम छन् ।

ब्राजिलको छैटौँ विश्व उपाधि खोजी

नयाँ प्रशिक्षक, चोटग्रस्त खेलाडीहरू र अव्यवस्थित छनोट अभियानका कारण ब्राजिलको विश्वकप तयारी भने सहज रहेन । २४ वर्षदेखि विश्व च्याम्पियन बन्न नसकेको ब्राजिललाई एकपटक फेरि सफल बनाउने चुनौती एन्चेलोटीमाथि छ । पछिल्ला पाँच विश्वकपमध्ये चारमा ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएको थियो । 

गोलरक्षक एलिसनले भनेका छन्, ‘टोलीबारे केही शंका हुनु ठीकै हो । विगतमा पनि यस्तै अवस्थामा रहेका ब्राजिली टोलीहरूले अन्ततः उपाधि जितेका उदाहरण छन् ।’

मार्किन्हो, गाब्रियल मगलहाएस, भिनिसियस जुनियर, राफिन्हा र माथेउस कुन्हाजस्ता स्टार खेलाडी ब्राजिलसँग छन् । दुई वर्षभन्दा बढी समयपछि नेयमार टोलीमा फर्किएका छन्, तर शारीरिक रूपमा उनी कत्तिको फिट छन् भन्ने अझै अनिश्चित नै छ ।

के मोरक्कोले बाजी मार्न सक्ला त ?

कतारमा भएको विश्वकप २०२२ मा मोरक्कोले स्पेन र पोर्चुगललाई पराजित गर्दै सेमिफाइनलसम्म पुगेर इतिहास रचेको थियो । त्यतिबेला विश्वकप सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेको मोरक्को यसपटक पनि मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रको सबैभन्दा सफल टोली बन्ने अपेक्षामा छ । 

स्पेन र फ्रान्सका फुटबल एकेडेमीमा हुर्किएका खेलाडीहरूमा आधारित मोरक्कोसँग ब्राजिललाई दबाबमा पार्ने पर्याप्त क्षमता छ । यद्यपि टोलीभित्र केही अस्थिरता पनि छ । सन् २०२६ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलसँग पराजित भए पनि पछि विवादास्पद रूपमा उपाधि मोरक्कोलाई दिइएको थियो । 

विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि मुख्य प्रशिक्षक वालिद रेग्रागुईले पद छाडेपछि बेल्जियममा जन्मिएका मोहम्मद उआहबीले टोली सम्हालिरहेका छन् । 

खेलको सम्भावित नतिजा

तथ्यांक विश्लेषण संस्था अप्टा एनालिस्टका अनुसार ब्राजिलको जित्ने सम्भावना ५७.७ प्रतिशत छ भने मोरक्कोको १८.८ प्रतिशत छ । खेल बराबरीमा टुंगिने सम्भावना २३.५ प्रतिशत रहेको छ । समूह ‘सी’ मा शीर्ष स्थान हासिल गर्ने सम्भावना ब्राजिलको ६५.८५ प्रतिशत र मोरक्कोको २३.१४ प्रतिशत रहेको बताइएको छ । 

brazil-photo

समूह ‘सी’मा अरू कुन–कुन टिम छन् ?

समूह ‘सी’ मा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड रहेका छन् । १२ समूहका शीर्ष दुई टोली र तेस्रो स्थानका रहने उत्कृष्ट आठ टोलीहरू अन्तिम ३२ चरणमा प्रवेश गर्नेछन् । विश्वकप इतिहासमा पहिलोपटक यो स्वरुप लागू गरिएको हो । 

हालको प्रदर्शन

पछिल्ला पाँच खेलमा ब्राजिलले तीनमा लगातार जित, त्यसपछि एक हार र अन्तिमा बराबरी गरेको छ । मोरक्कोले भने हार ब्यहोरेको छैन । उसले पहिलो खेल बराबरी गरेको छ, बीचका तीन वटामा जित निकालेको छ र अन्तिम खेल पनि बराबर गरेको छ । 

पछिल्ला पाँच खेलको आधारमा मोरक्कोको प्रदर्शन ब्राजिलभन्दा राम्रो देखिन्छ । उसले नर्वेसँग बराबरी खेल्नुका साथै मेडागास्करलाई फराकिलो अन्तरले हराएको थियो । त्यसअघि बुरुन्डीलाई पराजित गरेको थियो भने पानामालाई हराएर इक्वेडरसँग बराबरी खेलेको थियो । 

ब्राजिलले विश्वकपअघि इजिप्ट र पानामालाई हराएको थियो तथा मार्चमा क्रोएसियामाथि जित निकालेको थियो । तर फ्रान्ससँग पराजित भएको थियो भने गत नोभेम्बरमा ट्युनिसियासँग बराबरी खेलेको थियो । 

आमनेसामने इतिहासमा ब्राजिल अगाडि

शनिबारको खेल ब्राजिल र मोरक्कोबीचको चौथो भेट हुनेछ । हालसम्म ब्राजिलले दुई खेल जितेको छ भने मोरक्कोले एक खेल जितेको छ । सन् २०२३ मा भएको मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई २–१ ले हराएको थियो । विश्वकपमा यी दुई टोली अन्तिमपटक सन् १९९८ मा भेटिएका थिए, जहाँ ब्राजिलले रोनाल्डो, रिभाल्डो र बेबेटोको गोलमा ३–० को जित निकालेको थियो । 

नेयमार बाहिर, मोरक्कोले पनि दुई खेलाडी गुमायो

ब्राजिलका सम्भावित सुरुआती खेलाडी रोड्रिगो, एस्तेभाओ, एडर मिलिताओ र वेस्ली चोटका कारण टोलीमा छैनन् । पिँडुलाको चोटबाट निको हुने क्रममा रहेका नेयमार पनि मोरक्कोविरुद्धको खेलमा सहभागी हुने छैनन् । उनी कहिले फर्किने र कस्तो अवस्थामा फर्किने भन्ने अझै स्पष्ट छैन । 

मोरक्को पनि चोट समस्याबाट बञ्चित छैन । नायेफ अगुएर्द र अब्दे एज्जाल्जुली अन्तिम मैत्रीपूर्ण खेलमा घाइते भएपछि टोलीबाट बाहिरिएका छन् । उनीहरूको स्थानमा अमिन स्बाइ र मरवान सादानेलाई टोलीमा समावेश गरिएको छ । 

यस्तो छ सम्भावित आइनअप

ब्राजिलको सम्भावित सुरुआती टोली (४–२–३–१) : एलिसन, डानिलो, मार्किन्होस, गाब्रियल, एलेक्स सान्द्रो, कासेमिरो, गुइमाराएस, राफिन्हा, पाकेटा, भिनिसियस जुनियर, कुन्हा ।
मोरक्कोको सम्भावित सुरुआती टोली (४–२–३–१)ः बोनो, हाकिमी, डियोप, रियाद, माज्राउई, बुआद्दी, एल आयनाउई, डियाज, ओउनाही, एल खान्नुस, साइबारी ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप