शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त

शनिबार, ३० जेठ २०८३, २० : ०२
शनिबार, ३० जेठ २०८३

सारांश

  • कतार र स्विट्जरल्यान्डले शनिबार राति विश्वकप २०२६ को आफ्नो अभियान सुरु गर्दैछन् ।
  • सन् २०२२ को विश्वकपमा आयोजक राष्ट्रको हैसियतमा खेलेको कतारले त्यसपछि दोस्रोपटक विश्वकपमा स्थान बनाएको हो ।
  • स्विट्जरल्यान्ड विश्वकपको १३औँ संस्करणमा सहभागी हुँदैछ र पछिल्ला तीनवटै विश्वकपमा टोली अन्तिम १६ सम्म पुगेको छ ।

कतार र स्विट्जरल्यान्डले शनिबार राति ००ः४५ (नेपाली समय)मा एकअर्काविरुद्ध खेल्दै आफ्नो विश्वकप २०२६ अभियानको सुरुआत गर्नेछन् । सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमनेसामने हुन लागेका हुन् । उनीहरू समूह ‘बी’ मा क्यानडा र बोस्निया–हर्जेगोभिनासँगै रहेका छन् । 

बलियो प्रतिद्वन्दीविरुद्ध ‘द मारुन्स’

कतारले सन् २०२२ मा आयोजक राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएपछि दोस्रोपटक विश्वकपको अन्तिम चरणमा स्थान बनाएको हो । सन् २०२२ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो । ‘द मारुन्स’ ले गत अक्टोबरमा युएईलाई २–१ ले हराउँदै यस वर्षको विश्वकपमा स्थान सुरक्षित गरेको थियो । त्यसयता टोलीले छ खेल खेलेको छ तर कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । मे महिनाको अन्त्यमा भएको मैत्रीपूर्ण खेलमा अइरिस रिपब्लिकसँग १–० ले पराजित भएको थियो । 

जुलेन लोपेटेगुईको टोलीले त्यसपछि जुन ६ मा विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा एल साल्भाडोरसँग १–१ को बराबरी खेलेको थियो । त्यसैले उनीहरूको तयारी सन्तोषजनक देखिएको छैन । यद्दपि, उनीहरूले विश्वकप २०२६ को सुरुआत बलियो स्विट्जरल्यान्डविरुद्ध गर्दैछन् । 

समूह ‘बी’लाई तुलनात्मक रुपमा सहज मानिएको छ, यसमा क्यानडा र बोस्निया–हर्जेगोभिना रहेका छन् । पहिलो खेलमा जित हासिल गर्न सके कतार पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने बलियो सम्भावनामा रहन्छ । यसपटक उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूले पनि अघिल्लो चरणमा स्थान बनाउन सक्ने सम्भावना छ । 

कतारले स्विट्जरल्यान्डसँग यसअघि केवल एक पटक मात्र खेलेको छ र त्यो खेलमा जित हासिल गरेको थियो । सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कतारले स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको थियो । 

रोमाञ्चक पक्ष के हो भने, स्विट्जरल्यान्डले सन्त २००६ को विश्वकपमा एक गोल पनि नखाइ प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । त्यसबेला उसले फ्रान्ससँग गोलरहित बराबरी खेल्यो, टोगो र दक्षिण कोरियालाई २–० गोलअन्तरले हरायो र अन्तिम १६ मा युक्रेनसँग गोलरहित बराबरी खेल्यो । तर पेनाल्टी सुटआउटमा ३–० को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो ।   

समूह ‘बी’को पावरहाउस स्विट्जरल्यान्ड

युरोपेली डार्क हर्स (स्विट्जरल्यान्ड) विश्वकपको नियमित सहभागी टोली हो । यो उनीहरूको १३औँ विश्वकप सहभागिता हुनेछ । पछिल्ला तीनवटै विश्वकपमा टोली अन्तिम १६ सम्म पुगेको थियो, त्यसैले समूह चरणमै बाहिरिनु आश्चर्यजनक हुनेछ । 

स्विट्जरल्यान्डको विश्वकप इतिहासको उत्कृष्ट प्रदर्शन सन् १९३४, १९३८ र १९५४ मा आएको थियो । त्यतिबेला टोली क्वार्टरफाइनलसम्म पुगेको थियो । सन् २०१० पछि पनि टोली समूह चरणबाट बाहिरिएको छैन । यसै कारण पनि वर्तमान टोलीमाथि पनि अझ राम्रो गर्न पर्ने दबाब थपेको छ । 

मुराट याकिनको टोलीले विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रेलियासँग १–१ को बराबरी खेलेको थियो । त्यसअघि मे महिनाको अन्त्यमा जोर्डनलाई ४–१ ले पराजित गरेको थियो । ‘ए–टिम’ ले सबै प्रतियोगितामा पछिल्ला १४ खेलमध्ये केवल एक खेल हारेको छ । मार्चको अन्त्यमा भएको मैत्रीपूर्ण खेलमा जर्मनीसँग ४–३ ले पराजित भएको थियो । 

यसकारण स्विट्जरल्यान्ड उत्कृष्ट लयमा विश्वकपमा प्रवेश गरिरहेको छ । र, ऊ बोस्निया–हर्जेगोभिना तथा क्यानडासँगका बाँकी दुई समूह खेलअघि कतारविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछ । 

पछिल्ला खेलको प्रदर्शन 

कतारले पछिल्ला छ खेलमध्ये चारमा हार ब्यहोरेको छ भने दुईमा बराबरीको नतिजा निकालेको थियो । स्विट्जरल्यान्डको पछिल्ला छ खेलमध्ये दुईमा जीत, तीनमा बराबरी तथा एकमा हारको नतिजा निकालेको थियो ।

कतारको टिममा को को छन् ? 

अक्रम अफिफ, युसुफ अब्दुरिसाग र एडमिल्सन जुनियर यस प्रतियोगिताका लागि कतारको पहिलो रोजाइको अग्रपङ्क्तिका खेलाडी बनेका छन् । त्यसैले यही आक्रमण पङ्क्तिले यस खेलमा पनि सुरुआत गर्ने अपेक्षा गरिएको छ ।

अफिफले राष्ट्रिय टोलीका लागि ३९ गोल गरिसकेका छन् र यस विश्वकपमा कतारको लागि गोल गर्ने मुख्य जिम्मेवारी उनीमाथि हुनेछ । एडमिल्सन भने अझै राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो गोलको खोजीमा छन् ।
महमुद अबुनादा गोलपोस्टको जिम्मेबारी लिन सक्छन् भने पेड्रो मिगेल र बुआलेम खौखी मुख्य रक्षकको भूमिकामा रहने सम्भावना छ । 

स्विट्जरल्यान्डतर्फ

प्रशिक्षक याकिनले विशेषगरी आक्रमण क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय लिन बाँकी छ । उनको टिममा धेरै खेलाडी सुरुआती स्थानका लागि प्रतिस्पर्धारत छन् । ब्रिल एम्बोलोले राष्ट्रिय टोलीका लागि २४ गोल गरेका छन् । उनी सेन्टर–फरवार्डका लागि राम्रो विकल्प हुन् । बर्नलीका जेकी आमदुनी अग्रपङ्क्तिमा रहने अपेक्षा गरिएको छ । 

स्विट्जरल्यान्डको टोलीमा म्यानुअल अकान्जी, रिकार्डो रोड्रिगेज र ग्रानिट झाकाजस्ता अनुभवी खेलाडी रहनेछन् भने रेमो फ्रुलर मिडफिल्डमा खेल्ने सम्भावना छ । 

सम्भावित सुरुआती टोली

कतारः अबुनादा, अल–ओई, खौखी, पेड्रो मिगेल, अहमद; लाये, फाथी, गाबेर; अब्दुरिसाग, अफिफ, एडमिल्सन
स्विट्जरल्यान्डः कोबेल, विड्मर, अकान्जी, एल्भेदी, रोड्रिगेज, झाका, फ्रुलर, भार्गास, रिडर, एन्डोये, आमदुनी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप