मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
चिया निर्यातमा अवरोध

समस्या भारतीय अवरोध मात्र हो वा हाम्रो कमजोर प्रणाली जिम्मेवार छ ?

मङ्गलबार, ०२ असार २०८३, १३ : १०
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • नेपाली चिया उद्योग भारततर्फको निकासीमा देखिएको अवरोधका कारण समस्यामा परेको छ, जसले विश्वसनीय परीक्षण, प्रमाणीकरण र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने संरचनाको अभावलाई उजागर गरेको छ ।
  • सरकारी लगानीमा बनेका चिया प्रयोगशाला र परीक्षण केन्द्रहरू प्रभावकारी रूपमा प्रयोग नभई होटलका रूपमा सञ्चालन भइरहेको अवस्था छ, जसले नेपाली चिया उद्योगको भविष्यमाथि प्रश्न उठाएको छ ।
  • श्रीलङ्काले 'सिलोन टी' लाई राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न टी बोर्ड, प्रयोगशाला, सर्टिफिकेसन र बजार विविधीकरणमा गरेको लगानीबाट नेपालले सिक्नुपर्ने आवश्यकता छ ।

नेपालको पूर्वी पहाडको हरियालीमा उत्पादन हुने चिया हाम्रो पहिचान, सम्भावना र हजारौँ किसानको जीवनसँग जोडिएको उत्पादन हो । नेपालको इलाममा सन् १८६३ मा चिया खेती सुरु हुँदा श्रीलङ्काले कफी खेती गरिरहेको रहेछ । कफी खेतीमा फङ्गल ब्लाइट रोगको प्रकोप अत्यधिक बढेपछि सन् १८६७ देखि श्रीलङ्कामा चिया खेती सुरु भएको रहेछ ।

हामीभन्दा पछि सुरु भएको श्रीलङ्काको चिया उद्योग खर्बौँमा उक्लिएको छ । तर हाम्रोमा चाहिँ पछिल्लो समय भारततर्फको निकासीमा देखिएको अवरोधले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ । के हामीले राम्रो चिया उत्पादन गरे पनि त्यसलाई विश्वसनीय परीक्षण, प्रमाणीकरण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने संरचना कत्तिको बलियो बनाएका छौँ ?

नेपालमा चिया प्रयोगशाला, परीक्षण केन्द्र र व्यापार मञ्चका लागि भनेर सरकारी लगानीमा संरचना बनेको छ । तर विडम्बना, त्यही संरचना आज आफ्नो मूल उद्देश्यअनुसार प्रयोग नभई होटलका रूपमा भाडामा सञ्चालन भइरहेको छ भन्ने कुरा सुन्दा दुःख लाग्छ । यो केवल एउटा भवनको दुरुपयोग होइन; यो नेपाली चिया उद्योगको भविष्यसँग जोडिएको गम्भीर विषय हो । यसमा विश्वसनीय प्रयोगशाला बनाउन सरकारले नसक्ने हो र ? किन यस्ता कुराहरू हाम्रा प्राथमिकतामा पर्दैनन् ?

भारतले आफ्नो बजारमा आउने चियाको गुणस्तर परीक्षण र मापदण्ड कडाइ गर्नु स्वाभाविक हुन सक्छ । तर त्यसको जवाफ हामीले भावनात्मक प्रतिक्रियाबाट होइन, बलियो प्रणालीबाट दिनुपर्ने हुन्छ । आफ्नै सक्षम प्रयोगशाला, विश्वसनीय परीक्षण रिपोर्टहरू जस्तै अवशेष विश्लेषण (रेसिड्यु एनालिसिस), उत्पत्ति प्रमाणीकरण (ओरिजिन सर्टिफिकेसन) तथा खोजयोग्यता (ट्र्यासिबिलिटी) र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको दस्तावेजीकरणको प्रणाली निर्माण गरेर दिनुपर्ने हुन्छ ।

पछिल्ला वर्षहरूमा भारतले आयातित चियाको गुणस्तर परीक्षण, एफएसएसएआई मापदण्ड, लेबलिङ र सोर्स डिक्लेरेसनलाई कडाइ गर्ने नीति अघि बढाएको देखिन्छ । यो कदम नेपाल, केन्या, भियतनाम, चीन र श्रीलङ्कालगायत मुलुकबाट आउने चियासँग सम्बन्धित छ ।

यस सन्दर्भमा श्रीलङ्काबाट हामीले धेरै सिक्न सक्छौँ । सानो टापु देश भएर पनि श्रीलङ्काले ‘सिलोन टी’लाई विश्व बजारमा बलियो ब्रान्ड बनायो । उनीहरूले चियालाई केवल कृषि उत्पादन होइन, राष्ट्रिय पहिचान, गुणस्तर र निर्यात कूटनीतिको विषय बनाए । टी बोर्ड, प्रयोगशाला, सर्टिफिकेसन, लोगो, ट्रेडिङ सिस्टम र बजार विविधीकरणले उनीहरूको चिया संसारभर पुग्यो । श्रीलङ्का अझै पनि संसारको प्रमुख चिया निर्यातकर्ता देशमध्ये पर्छ ।

सन् २०२४ मा श्रीलङ्काले करिब २४ करोड ५७ लाख केजी चिया निर्यात गरेर करिब २ खर्ब १२ अर्ब नेपाली रुपैयाँ आम्दानी गरेको छ । श्रीलङ्काली चिया सामान्यतया ‘सिलोन टी’का नामले चिनिन्छ । र, यसको बल्क मात्र होइन, प्याकेट, टी–ब्याग, ग्रीन टी, इन्स्ट्यान्ट टी, स्पेसालिटी टीहरू पनि विश्व बजारमा पुर्‍याइन्छ ।

इलाम, कन्याम, फिक्कल, पाँचथर, धनकुटा र पूर्वी पहाडको अर्थोडक्स टी विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने गुण भएको छ । तर त्यसका लागि चिया बगान मात्र पर्याप्त हुँदैन ।

श्रीलङ्काको चिया व्यापार भारतमा निर्भर छैन । उनीहरूको मुख्य बजार भारतबाहिर छ । पछिल्ला तथ्याङ्कहरू हेर्दा इराक, टर्की, रुस, युएई, चीन, अजरबैजान, अमेरिका, जर्मनी, जापानमा जाने गरेको छ । सन् २०२४ को जनवरी–अप्रिलबिचको अवधिमा विभिन्न मुलुकहरूले निर्यात गर्ने सूचीमा इराक, टर्की र रुस शीर्ष बजारका रूपमा देखिएका छन् ।

नेपालको चियामा पनि त्यो सम्भावना छ । इलाम, कन्याम, फिक्कल, पाँचथर, धनकुटा र पूर्वी पहाडको अर्थोडक्स टी विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने गुण भएको छ । तर त्यसका लागि चिया बगान मात्र पर्याप्त हुँदैन । प्रयोगशाला चाहिन्छ, परीक्षण केन्द्र चाहिन्छ, प्रमाणीकरण चाहिन्छ, ट्रेडिङ प्लेटफर्म चाहिन्छ, बजार कूटनीति चाहिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो उत्पादन परीक्षण र प्रमाणीकरण गर्ने विश्वसनीय प्रयोगशालाहरू हुनुपर्छ । के यो सबै पूर्वाधार हामीसँग छ ?

श्रीलङ्काको सबैभन्दा बलियो पक्ष भनेकै क्वालिटी गभर्नेन्स हो । उनीहरूले चियालाई सामान्य कृषि वस्तुका रूपमा मात्र होइन, ‘राष्ट्रिय ब्रान्ड’का रूपमा व्यवस्थापन गरेका छन् । उनीहरूले त्यसका लागि निम्न काम गरेका छन् :

पहिलो, त्यहाँ चियाको विकासका लागि श्रीलङ्का टी बोर्ड छ, जसले उद्योगको नियमन, प्रवर्द्धन, सर्टिफिकेसन र क्वालिटी एस्युरेन्समा भूमिका खेल्छ । टी बोर्डको एनालिटिकल ल्याबोरेटरीले सिलोन चियाको क्वालिटी एस्युरेन्स, टेस्टिङ र सर्टिफिकेसनको काम गर्छ ।

दोस्रो, उनीहरूले आफ्नो लायन लोगोलाई शक्तिशाली सर्टिफिकेसन मार्क बनाएका छन् । श्रीलङ्का टी बोर्डका अनुसार लायन लोगो प्रयोग गरिएको प्याकेटले शतप्रतिशतको ग्यारेन्टी गर्छ । यो लोगो टी बोर्डको स्वामित्वमा रहेको ग्लोबल ट्रेडमार्क चिह्न हो ।

तेस्रो, श्रीलङ्काले आईएसओ ३७२० लाई चियाको न्यूनतम मापदण्डका रूपमा लागू गरेको उल्लेख टी एक्सपोर्ट एसोसिएसनले गरेको छ । यसले आधारभूत गुणस्तरलाई नियमन गर्न सहयोग गर्छ ।

नयाँ सरकार गठन भएर त्यसले काम गर्न थालेसँगै नेपाली चियाको विषयमा अब प्रश्न उठाउने समय भएको छ । हाम्रो चिया राम्रो छ, तर हाम्रो प्रणाली कति राम्रो छ ?

चौथो, रेसिड्यु/फुड सेफ्टीमा पनि उनीहरू सचेत छन् । निर्यातका लागि विविध मापदण्ड मिलाउने प्रयास हुन्छ । एक अध्ययनले निर्यात–गुणस्तर सिलोन ब्ल्याक टीमा परीक्षण गरिएका नमुनाहरू कोडेक्स, ईयू र जापानिज एमआरएल सीमाभित्र रहेको देखाएको थियो ।

कतै हामी यही कुरामा चुकिरहेका त छैनौँ ? आफ्नो उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउनका लागि हामी यसमा कति गम्भीर छौँ ? हाम्रोमा त सरकारी लगानीमा बनेका प्रयोगशालाजस्ता संरचना होटल बनेका छन् । यस्ता कुराहरू त विश्वसनीय बन्दै उद्योगी र निर्यातकर्ताको मेरुदण्ड बन्नुपर्थ्यो, होइन र ? तर, सरकारले यसमा ध्यान दिन सकेको छैन ।

भारतसँगको व्यापार सहज बनाउनुपर्छ, तर भारतमा मात्र निर्भर भएर बस्नु हुँदैन । नेपाली चियाको बजार श्रीलङ्काको जस्तै जापान, युरोप, अमेरिका, मध्यपूर्वसम्म विस्तार गर्न नसकिने होइन । हाम्रा पनि केही कम्पनीहरूले युरोपलाई मुख्य बजार बनाएका छन् । तिनीहरूबाट सिक्न सकिँदैन र ?

नयाँ सरकार गठन भएर त्यसले काम गर्न थालेसँगै नेपाली चियाको विषयमा अब प्रश्न उठाउने समय भएको छ । हाम्रो चिया राम्रो छ, तर हाम्रो प्रणाली कति राम्रो छ ? हामी उत्पादन गर्छौँ, तर प्रमाणित गर्न सक्छौँ कि सक्दैनौँ ? हामी निर्यात गर्न चाहन्छौँ, तर विश्व बजारको भाषा बोल्ने संरचना बनाएका छौँ कि छैनौँ ?

नेपाली चिया उद्योगको भविष्य बचाउन र बलियो बनाउन अब केवल चिन्ता होइन, स्पष्ट नीति, सक्षम प्रयोगशाला, गुणस्तर प्रमाणीकरण, बजार विविधीकरण र जिम्मेवार संस्थागत नेतृत्व आवश्यक छ ।

संरचना बन्दै छन् भने तिनीहरूको विश्वसनीय प्रयोग गरौँ । सरकारी लगानीको दुरुपयोग होइन, उद्योगको आधार बनाउन इमानदार प्रयास गरौँ । बल्ल नेपाली चिया किसान, उद्योग र देशको समृद्धिसँग जोडिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजेन्द्र उप्रेती
डा. राजेन्द्र उप्रेती
लेखकबाट थप