मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
जलवायु परिवर्तन

तेस्रो ध्रुवको हिमनदी पग्लँदै : एसियाको जलसुरक्षामा बढ्दो जोखिम

मङ्गलबार, ०२ असार २०८३, १४ : ३०
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • तेस्रो ध्रुव, जसलाई 'एसियाली वाटर टावर' पनि भनिन्छ, पग्लिँदै गएको हिउँ र बरफका कारण एसियाका प्रमुख नदीहरूको पानीको स्रोतमा जोखिम बढेको छ ।
  • नेपालको हिमालय क्षेत्रका हिमनदीहरू तेस्रो ध्रुवका अभिन्न अङ्ग हुन् र यिनले नेपालको कृषि, ऊर्जा र पिउने पानीको जीवनरेखालाई समर्थन गर्छन् ।
  • जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, मौसमी बदलाव र चरम घटनाहरूले पानीको उपलब्धताको समय र मात्रामा गम्भीर चुनौती खडा गरिरहेका छन् ।

तेस्रो ध्रुव (थर्ड पोल), आर्कटिक (उत्तरी ध्रुव) र अन्टार्कटिक (दक्षिणी ध्रुव) भन्दा बाहिर पृथ्वीको सबैभन्दा ठुलो हिउँ र बरफको भण्डार हो । यसलाई ‘एसियाली वाटर टावर’ पनि भनिन्छ । यो क्षेत्र चीन, भारत, नेपाल, पाकिस्तान, भुटान, अफगानिस्तान, बङ्गलादेश र म्यानमारसम्म फैलिएको छ ।

करिब ७ हजार घन किलोमिटर बरफ समेटिएको यो क्षेत्र तिब्बती पठार र वरपरका हिमशृङ्खलाहरूमा फैलिएको छ, जुन एसियाका इन्डस, गङ्गा, ब्रह्मपुत्र, मेकङ, याङ्त्जी र एल्लो जस्ता प्रमुख नदीहरूको पानीको स्रोत हो । अहिले यसलाई पान–थर्ड पोल भनिन्छ, जुन तिब्बती पठार, पामिर, हिन्दुकुश, इरानी पठार, ककेसस र कार्पाथियन पर्वतशृङ्खलासम्म फैलिएको छ । वैज्ञानिक अध्ययनहरूअनुसार, यी बरफका भण्डार द्रुत गतिमा पग्लिँदै छन्, जसले तल्लो भूभागका १.३ अर्ब मानिसको पानी आपूर्तिलाई सङ्कटमा पार्दै गइरहेको छ ।

नेपालको परिप्रेक्ष्यमा तेस्रो ध्रुव अत्यन्त महत्त्वपूर्ण छ । नेपालको हिमालय क्षेत्रअन्तर्गत सगरमाथा (खुम्बु), अन्नपूर्ण, माछापुच्छ्रे, लाङटाङलगायतका प्रमुख हिमाल र हिमनदीहरू तेस्रो ध्रुवका अभिन्न अङ्ग हुन् । यी हिमनदीहरूले नेपालको नदी प्रणालीलाई पानी आपूर्ति गर्छन्, जुन कृषि, ऊर्जा र पिउने पानीको जीवनरेखा हो ।

साथै, नेपालका धेरै ग्रामीण समुदायहरू यिनै जलस्रोतमा प्रत्यक्ष निर्भर छन् । तेस्रो ध्रुव क्षेत्रबाट उत्पत्ति भएका यी नदीहरूले दुई ठुला जनसमूहलाई पानी उपलब्ध गराउँछन् । पहिलो, यसै क्षेत्रभित्र बस्ने करिब २१ करोड मानिसलाई पिउने पानी, सिँचाइ, जलविद्युत् र सरसफाइमा टेवा पुग्छ भने दोस्रो, तल्लो भूभाग (मैदानी क्षेत्र) मा बस्ने करिब १.३ अर्ब मानिस पनि यिनै नदीहरूमा निर्भर छन् । नेपालको नदी प्रणाली गङ्गाको प्रमुख सहायक नदी हो र यो तेस्रो ध्रुवकै जल प्रणालीको अभिन्न अङ्ग हो ।

  • हिमनदी पग्लिँदै, केही बढ्दै पनि

सन् १९७० को दशकदेखि, तेस्रो ध्रुव क्षेत्रका अधिकांश हिमनदीहरूले पिण्ड (मास) गुमाइरहेका छन्, जुन कुल ९ प्रतिशतको कमी हो । सन् २००० देखि २०१६ सम्म, ब्रह्मपुत्र, इन्डस, गङ्गा, अमुदर्या, सालविन, याङ्त्जी र मेकङ जलाधार क्षेत्रहरूले नकारात्मक पिण्ड सन्तुलन देखाए, जसको अर्थ बरफ पग्लिएपछि नदीको प्रवाहमा अस्थायी रूपमा वृद्धि भएको थियो ।

तर सबै ठाउँमा एउटै ढाँचा देखिँदैन । भित्री तिब्बती पठार, मध्य कराकोरम र पश्चिमी पामिर क्षेत्रहरूमा हिमनदीहरूको वृद्धि देखिएको छ । यो जाडोमा बढी वर्षा भएकाले र केही तल्लो भूभागहरूमा बढी हिमपात हुँदा पनि भएको हुन सक्छ । त्यस क्षेत्रका नौओटा ठुला जलाधार क्षेत्रहरूमध्ये तारिम नदी जलाधारमा मात्र सकारात्मक पिण्ड सन्तुलन देखियो, जहाँ सन् २००० देखि २०१६ सम्म प्रतिवर्ष करिब ०.४ गिगाटन बरफको वृद्धि भएको थियो ।

  • मुहान सुक्दै, भूमिगत पानी घट्दै

स्थानीय समुदायहरूका लागि तत्काल चिन्ताको विषय भनेको पूरै हिमालय क्षेत्रभरि मुहानहरू सुक्दै जानु हो । भारतीय हिमालयमा लगभग आधा प्राकृतिक मुहानहरू हराउँदै छन् । नेपालमा, पछिल्लो दशकमा करिब १२ प्रतिशत मुहानहरू सुकेका छन् । पूर्वी हिमालयको सिक्किममा, सन् २००० को दशकमा मुहानको पानीको प्रवाह करिब ३५ प्रतिशतले घटेको छ ।

भूमिगत पानी पनि गम्भीर दबाबमा छ । उपग्रहमा आधारित अनुमानअनुसार सन् २००२ देखि २००८ सम्म उत्तरपश्चिमी भारतीय राज्यहरूमा भूमिगत पानीको ह्रास प्रतिवर्ष १७.७ ± ४.५ घन किलोमिटर रहेको थियो । नेपालमा पनि उल्लेखनीय कमी देखिएको छ ।

अध्ययनहरूअनुसार तेस्रो ध्रुव क्षेत्रको भूमिगत पानी मुख्य रूपमा उच्च उचाइमा हिउँ वा हिमनदी पग्लिएर जमिनमा सोसिँदा पुनर्भरण हुन्छ । यो स्रोत नदीको आधार प्रवाह र मुहानहरू कायम राख्न अत्यन्त महत्त्वपूर्ण छ । तर अपर्याप्त तथ्याङ्कका कारण, अधिकांश मुहानहरूको अवस्था अझै अज्ञात छ, जसलाई वैज्ञानिकहरूले एउटा महत्त्वपूर्ण अध्ययन स्थल भनेका छन् ।

  • नदीहरूमा पानीको स्रोत

तेस्रो ध्रुवका अधिकांश नदीहरूमा वर्षाको पानी मुख्य स्रोत मानिन्छ । तर इन्डस, अमुदर्या र तारिम जलाधार क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिएको पानीले मुख्य भूमिका खेल्छ । तैपनि वैज्ञानिक मोडेलहरू एकअर्कासँग तीव्र रूपमा द्वन्द्वरत छन् । माथिल्लो इन्डस जलाधार क्षेत्रलाई नै हेर्ने हो भने हिमनदी पग्लिएको पानीको योगदान ३ प्रतिशतदेखि ४०.६ प्रतिशतसम्म छ ।

त्यस्तै हिउँ पग्लिएको पानीको योगदान (२२ प्रतिशतदेखि ७३ प्रतिशत) पनि त्यत्तिकै फरक छ । वर्षातको पानीको योगदान २३ देखि २८ प्रतिशत छ भन्ने बुँदामा वैज्ञानिक अध्ययनबीच सापेक्षिक सहमति भेटिन्छ । माथिल्लो ब्रह्मपुत्रको कथा अझ अनौठो छ । कुनै अध्ययनले वार्षिक प्रवाहको ७३ प्रतिशत पग्लिएको हिउँको पानीलाई श्रेय दिन्छ भने कुनैले त्यो भूमिका ९ प्रतिशत मात्र भएको जनाएका छन् ।

वर्षाको अनुमान २६ देखि ६५ प्रतिशतसम्म फरक छ, जसले नदीको पानीको मुख्य स्रोत के हो भन्ने पूर्णतः स्पष्ट छैन । अध्ययनहरूले यी विरोधाभासहरूको कारण जलाधारको सीमा परिभाषा, अध्ययन अवधि, मोडलिङ विधि र तथ्याङ्क क्यालिब्रेसनको भिन्नतालाई औँल्याएका छन् ।

हिउँ पग्लिएको पानीको योगदानको स्तरीय भिन्नता इन्डस जलाधार क्षेत्रमा ४४ प्रतिशत, ब्रह्मपुत्रमा ३५ प्रतिशत, र गङ्गामा २७ प्रतिशतसम्म पुगेको छ । एसियाका सबैभन्दा महत्त्वपूर्ण नदीहरूको मुख्य पानीको स्रोत के हो भन्ने विषयमा नतिजाहरू अझै एकरूप हुन सकेका छैनन् ।

  • मौसमी बदलाव र बढ्दो चरम घटना

भविष्यमा, जलवायु मोडेलहरूले अधिकांश क्षेत्रमा तापक्रम वृद्धि र वर्षा बढ्दै जाने प्रक्षेपण गर्छन् । सन् १९०१ देखि २०१४ सम्म वार्षिक औसत सतही तापक्रम प्रतिदशक ०.१०४ डिग्री सेल्सियसभन्दा बढीले बढ्यो, जुन सन् १९८० को दशकको मध्यदेखि थप तीव्र भएको छ ।

भविष्यमा पानीको उपलब्धता सामान्यतया बढ्ने अपेक्षा गरिएको छ, तर ठुला चुनौतीहरू पनि छन् । मौसमी प्रवाह ढाँचा परिवर्तन हुनेछ, हिउँ चाँडै पग्लिनेछ र हिउँको सट्टा बढी वर्षा हुनेछ । विशेषगरी माथिल्लो इन्डस, गङ्गा र ब्रह्मपुत्र जलाधार क्षेत्रहरूमा बाढी र खडेरी दुवै तीव्र र बारम्बार हुने प्रक्षेपण गरिएको छ ।

अध्ययनअनुसार कुल पानीको मात्रा नघट्न सक्छ, तर पानीको उपलब्धताको समयमा हुने परिवर्तन र चरम घटनाहरूले पानी सुरक्षा र व्यवस्थापनमा गम्भीर चुनौती खडा गर्नेछन् । विश्वव्यापी तापक्रममा मात्र १.५ डिग्री सेल्सियसको वृद्धिले यस क्षेत्रको कुल हिमनदी पिण्डलाई करिब ३६ प्रतिशतले घटाउनेछ ।

  • तथ्याङ्कको अभाव

अध्ययनले दीर्घकालीन जलवायु मापन केन्द्रहरूको आवश्यकता औँल्याउँछ । अधिकांश मापन केन्द्रहरू पूर्वी र दक्षिणी तिब्बती पठारमा छन् । ५ हजार मिटरभन्दा माथि रहेका स्टेसनहरूको सङ्ख्या न्यून भएकाले वर्षाको पूर्वानुमानमा उल्लेखनीय भिन्नता आउँछ । पर्याप्त तथ्याङ्कको अभावले भूमिगत पानीको जलीय अवस्था राम्ररी बुझ्न सकिएको छैन ।

  • ठुलो जोखिम

तेस्रो ध्रुव द्रुत रूपमा परिवर्तन भइरहेको छ, जसले हिमनदी, हिउँको आवरण, भूमिगत पानी र मुहानहरूमा जटिल प्रभाव पारिरहेको छ । अधिकांश जलाधार क्षेत्रहरूका लागि वर्षा नै पानीको मुख्य स्रोत हो, तर हिउँ र हिमनदी पग्लिएको पानीको सापेक्षिक महत्त्व क्षेत्रअनुसार फरक छ । जलवायु परिवर्तनका चरम घटनाहरूले पनि उपलब्धतामा ठुलो चुनौती थपेका छन् ।

  • नीतिगत सुझावहरू

वैज्ञानिक अध्ययनका निष्कर्षहरूले तेस्रो ध्रुवको हिमनदी पग्लिने दर, मुहान सुक्ने क्रम, भूमिगत पानीको ह्रास र जलप्रवाहको अनिश्चितता स्पष्ट देखाएका छन् । यी निष्कर्षहरूले तत्काल नीतिगत पहलको माग गर्छन् । क्षेत्रीय स्तरमा उच्च–उचाइका मौसम मापन केन्द्रहरू विस्तार गर्नुपर्छ, किनकि अधिकांश केन्द्रहरू अहिले ५००० मिटरभन्दा तल छन् ।

त्यस्तै, हाइड्रोलोजिकल मोडेलहरूलाई सुमेलित गर्नुपर्छ र मुहान पुनर्भरण कार्यक्रमहरू विस्तार गर्नुपर्छ, किनकि हिमालय क्षेत्रका लगभग आधा मुहान हराउँदै छन् । अन्तर्राष्ट्रिय समुदायका लागि तेस्रो ध्रुवलाई साझा सम्पदाको रूपमा मान्यता दिनुपर्छ । क्रायोस्फियर अनुगमनका लागि संयुक्त कोष बनाउनुपर्छ र तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न मिलेर काम गर्नुपर्छ ।

यसले करिब ३६ प्रतिशत हिमनदी बरफ जोगाउन सहयोग पुर्‍याउँछ । नेपालको सन्दर्भमा राष्ट्रिय मुहान सूचीको वैज्ञानिकीकरण गर्नुपर्छ, मोडेलको तथ्याङ्कीय अनिश्चितता सम्बोधन गर्नुपर्छ । परिदृश्यमा आधारित पानी योजना अङ्गीकार गर्नुपर्छ । उच्च उचाइका भूमिगत पानी पुनर्भरण क्षेत्रको संरक्षण गर्नुपर्छ र विकेन्द्रीकृत, जलवायु–अनुकूलित पानी भण्डारण प्रणालीहरू निर्माण गर्नुपर्छ ।

अन्त्यमा, वैज्ञानिक निष्कर्षहरूलाई सङ्घ, प्रदेश र स्थानीय तहको नीति–निर्माणमा अनिवार्य रूपमा समावेश गर्नुपर्छ । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच तथा सरकार, कर्मचारी, राजनीतिकर्मी र प्राज्ञिक क्षेत्रबीच सहकार्य अत्यन्त आवश्यक छ ।

  • मुख्य सन्देश

अधिकांश हिमनदीहरू पग्लिँदै छन्, तर केही बढ्दै पनि छन् । हिमनदी पग्लिँदै, मुहान सुक्दै, एसियाका ठुला जलाधार क्षेत्रहरूको भविष्य अनिश्चित बन्दै छ । हिमालय क्षेत्रभरि मुहानहरू सुक्दै छन् र भूमिगत पानीमा द्रुत ह्रास आइरहेको छ । हिउँ पग्लिएको पानीको योगदानको अनुमान ९ प्रतिशतदेखि ७३ प्रतिशतसम्म फरक छ ।

१.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिले यस क्षेत्रको हिमनदी बरफको करिब ३६ प्रतिशत पग्लनेछ । सबैभन्दा ठुलो जोखिम पानीको कमी नभई जलवायु तथा जलप्रवाहको बढ्दो अनिश्चितता नै हो । तेस्रो ध्रुवको संरक्षणबिना भूमि पुनर्स्थापना असम्भव छ । हराउँदै गएका मुहान र भूमिगत पानीको दोहन रोक्न तत्काल स्थानीय र अन्तर्राष्ट्रिय पहल चाहिन्छ । हरेक नागरिक, नीति निर्माता र पत्रकारले यो समस्यालाई प्राथमिकता दिनुपर्छ ।

(लेखक चीनको लान्झोउ विश्वविद्यालयको तेस्रो ध्रुव वातावरण अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सुवास अधिकारी
डा. सुवास अधिकारी
लेखकबाट थप