अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
सारांश
- त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवालाई डिजिटलाइज्ड गर्ने अवधारणा अघि सारेको छ जसबाट विद्यार्थीले विभिन्न सेवा अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।
- त्रिविले आन्तरिक स्रोतबाटै बजेट व्यवस्थापन गरी एकीकृत विद्युतीय प्रशासन प्रणाली पूर्ण रूपमा लागु गर्ने तयारी गरेको छ ।
- त्रिविले सूचना प्रविधि व्यवस्थापन शीर्षकमा आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा क्रमशः ४ करोड र २ करोड बजेट छुट्ट्याएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवालाई ‘डिजिटलाइज्ड’ गर्ने अवधारणा अघि सारेको छ । वर्तमान अवस्थामा त्रिविका विद्यार्थीहरूले कतिपय सेवा विद्युतीय माध्यमबाट पाउन सकेका छैनन् । अहिले पनि सेवा लिनका लागि बैंकमा लाइन लाग्नुपर्ने, सबै सेवा अनलाइन नहुँदा केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने, बेला–बेला सफ्टवेयरले काम नगर्दा सर्भर डाउन हुने समस्याले गर्दा विद्यार्थी, अभिभावकहरू मारमा परिरहेका छन् ।
त्रिविको तथ्याङ्क अनुसार हाल त्रिविमा ५ लाख ६१ हजार १७० जना विद्यार्थी अध्ययनरत छन् । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, अस्थायी प्रमाणपत्र, मूल प्रमाणपत्र, माइग्रेसन प्रमाणपत्र, रजिष्ट्रेशन, त्रिविमा नयाँ भर्ना भएका विद्यार्थीहरूको दर्ता, परीक्षाको प्राप्ताङ्कमा कुनै त्रुटि भएमा पुनः जाँच गर्ने सुविधा, ग्रेडसिट, लब्धाङ्कपत्र लगायतका सेवा अनलाइनबाट प्राप्त हुने भनेर त्रिविले पटक–पटक सूचना जारी गर्दै आएको छ । यद्यपि यी सेवाका लागि अहिले पनि सेवाग्राही भौतिक रूपमै उपस्थित हुनुपर्ने अवस्था रहेको विद्यार्थीको गुनासो छ ।
अहिले भने त्रिविले आन्तरिक स्रोतबाटै बजेट व्यवस्थापन गरी एकीकृत विद्युतीय प्रशासन प्रणाली पूर्ण रूपमा लागु गर्ने गरी काम अघि बढाइएको जनाएको छ । त्रिविका अनुसार हाल दुई वटा सफ्टवेयरको प्रयोग कार्यान्वयन हुने अवस्थामा छन् । त्रिवि परीक्षा सूचना प्रणाली र त्रिवि एकीकृत आर्थिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनको तयारीमा रहेको त्रिविले जनाएको छ ।
त्रिवि एकीकृत आर्थिक व्यवस्थापन सूचना प्रणाली अन्तर्गत ९ वटा मोडुल छन् । जसअन्तर्गत् लेखा व्यवस्थापन सूचना प्रणाली, तलब व्यवस्थापन सूचना प्रणाली, बजेट व्यवस्थापन सूचना प्रणाली, आम्दानी व्यवस्थापन सूचना प्रणाली, लेखा परीक्षण व्यवस्थापन सूचना प्रणाली, ऋण व्यवस्थापन सूचना प्रणाली, निवृत्तिभरण तथा अन्य सेवा–सुविधा सूचना प्रणाली, भण्डारण व्यवस्थापन सूचना प्रणाली र कर्मचारी व्यवस्थापन सूचना प्रणाली पर्छन् । यसबाट आर्थिक कारोबार थप मितव्ययी र पारदर्शी हुने अपेक्षा त्रिविले गरेको छ । विद्युतीय सूचना प्रणाली कार्यान्वयनमा आए परीक्षाका गतिविधि तथा सेवाहरू विद्यार्थीले सहज र सरल तरिकाले पाउन सक्नेछन् ।
त्रिविले सूचना प्रविधि व्यवस्थापन शीर्षकमा आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड, आर्थिक वर्ष २०८२/०८३ मा २ करोड बजेट छुट्ट्याएको थियो ।
त्रिविमा वि.सं. २०१६ देखि २०५३ सालसम्म अध्ययनरत विद्यार्थीहरूको सबै अभिलेख हस्तलिखित वा लेजरमा मात्र छन् । वि.सं. २०५४ देखिका डाटामात्र कम्प्युटरमा छन् । २०५४ अघिका हस्तलिखित तथ्याङ्कहरुको हार्ड कपी हराएमा अभिलेख नै गायब हुने जोखिम छ । यी डाटालाई डिजिटल बनाउनुपर्ने माग उठेको छ ।
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले शैक्षिक तथा प्रशासनिक गतिविधिलाई डिजिटलाइज्ड बनाउने कार्य अघि बढाइएको बताए । उनले भने, ‘हाम्रा १४६ वटा निकाय छन् । पत्र व्यवस्थापनका लागि ती निकाय अब काठमाडौँ धाइराख्नु पर्दैन । यसका लागि अफिस अटोमेशन विश्वविद्यालयले कार्यान्वयनमा ल्याइएको छ ।’
भण्डारीले उदाहरण दिँदै भने, ‘कुनै क्याम्पसले भवन निर्माण सम्बन्धी पत्र केन्द्रीय कार्यालयमा पठायो भने सिस्टमबाटै उक्त पत्र कहाँ र कसको फाँटमा पुगेको छ भन्ने जानकारी पत्र प्रेषकले आफ्नै यूजर आईडीबाट हेर्न र सम्बन्धित शाखाको व्यक्तिसँग सिधै फोनबाट सम्पर्क राख्न सक्दछ ।’
अफिस अटोमेशनको प्रयोगले कुन निकायको कुन कर्मचारीले के कति कार्य सम्पादन गरेको छ र के कति बाँकी छ भन्ने यथार्थ विवरणको जानकारी लिन सहयोग पुग्ने हुँदा कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनमा पारदर्शिता कायम हुने उनले बताए ।
भण्डारीका अनुसार यसको निगरानी रजिष्ट्रार कार्यालयले गर्छ । यसअघि कुनै कलेजले पठाएको कुनै पत्र कहाँ पुग्यो, कसकोमा अड्किएको छ र कुन–कुन कागजात नपुगेर रोकिएको हो भन्ने जानकारी लिन केन्द्रीय कार्यालयमै धाउनु पर्दा दैनिक भ्रमण भत्तामा हुने करिब १५ देखि २० हजार खर्च अब जोगिने उनले बताए ।
कहिलेकाहीँ पत्र नै फेला नपर्ने डर पनि हुने गरेको उल्लेख गर्दै उनले अब भने सबै ‘ट्रयाकिङ’ हुने प्रस्ट पारे । ‘पत्र पेन्डिङमा छ कि प्रक्रियामा गयो भन्ने सबै जानकारी हुन्छ,’ उनले भने । उनले परीक्षाका सबै लेजर तथा फाइललाई डिजिटलाइज्ड गर्ने त्रिविको योजना रहेको बताए ।
त्रिविले इलेक्ट्रोनिक हाजिरी प्रणाली पनि अघि बढाएको छ । भण्डारीले भने, ‘केन्द्रबाटै सबै निकायको हाजिरी हेर्न सक्छौँ । हाजिरी मोनिटरिङ पनि हुन्छ । ८० प्रतिशत आङ्गिक क्याम्पसमा इ–हाजिरी केन्द्रबाटै मोनिटरिङ गर्न मिल्छ । कसले बिदा लिनुभयो, कति दिनको बिदामा हुनुहुन्छ भन्नेजस्ता सबै जानकारी हुन्छ ।’
त्रिवि एकीकृत आर्थिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनले कुन क्याम्पसमा कुन शीर्षकमा कति रकम प्राप्त भयो र कति रकम खर्च भयो भन्नेजस्ता सबै जानकारी हुने त्रिविले बताएको छ । त्रिविका प्रवक्ता भण्डारीले भने, ‘त्यस्तै त्रिवि परीक्षा सूचना प्रणालीबाट विद्यार्थीले त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट अनन्तकालसम्म लिनु पर्ने सबै सेवा सजिलै लिन सक्ने गरी छिटै व्यवस्था मिलाइनेछ ।’
अहिलेको हकमा विद्यार्थीहरूले आफ्नो ट्रान्सक्रिप्टको ट्रयाकिङ्ग हेर्न सक्ने उनले बताए ।
त्रिविका एक अधिकारीले भने, ‘डिजिटल विश्वविद्यालय आजको आवश्यकता हो, तर पनि हामीकहाँ दक्ष प्राविधिक जनशक्तिको व्यवस्था नहुनु, पदाधिकारी तथा कर्मचारीहरूको परम्परागत कार्य सम्पादन शैली र समयानुकूल परिवर्तन हुन नचाहने प्रवृत्ति, सफ्टवेयर निर्माण तथा हार्डवेयर खरिदमा पर्याप्त बजेटको व्यवस्था नहुनु नै डिजिटल विश्वविद्यालयको मुख्य चुनौती हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी बजारमा देखिएको उतारचढावबारे अर्थमन्त्री वाग्ले, ‘अनुसन्धानका कारण केही भय देखिएको हुन सक्छ’
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण