प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
सारांश
- जीतपुरसिमरा-२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा वडाध्यक्ष र प्रधानाध्यापकबीचको द्वन्द्वले वैशाखदेखि नै विद्यार्थीको दिवा खाजा कार्यक्रम रोकिएको छ ।
- दिवा खाजा कार्यक्रम रोकिएपछि विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको छ, जसले गर्दा कक्षाकोठामा विद्यार्थी संख्या ह्वात्तै घटेको छ ।
- यस विषयमा जीतपुरसिमरा उपमहानगर शिक्षा महाशाखाले प्रधानाध्यापक हेरफेरको सुझाव दिएको छ ।
बारा । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष (वडाध्यक्ष) र प्रधानाध्यापकबिचको द्वन्द्वले जीतपुरसिमरा–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि) हरपुरमा दिवा खाजा रोकिएको छ ।
आन्तरिक विवादका कारण वैशाखदेखि नै दिवा खाजा कार्यक्रम रोकिएको हो । सो विद्यालयका विद्यार्थीहरूले २ महिनादेखि विद्यालयमा दिवा खाजा खान नपाएको गुनासो गरेका छन् । के कारणले खाजा रोकिएको भन्नेबारे जानकारी नभएको उनीहरूले बताए ।
नेरामाविमा बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन हुन्छ । दिवा खाजा रोकिएपछि विद्यार्थीहरू विद्यालय नआउने र आएकाहरू पनि ९ बजे खाजा खान घर गएपछि फर्केर नआउँदा पठनपाठनमा समेत प्रभावित भएको छ ।
संघीय सरकारले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषणयुक्त खाना उपलब्ध गराउन, विद्यार्थीहरूको नियमित उपस्थिति, भोकका कारण विद्यालय नआउने वा बिचमै पढाइ छाड्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो ।
उपमहानगर वडा नं २४ स्थित सो विद्यालयमा ६३५ जना विद्यार्थी अध्ययन गर्दछन् । सरकारले बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रतिविद्यार्थी दैनिक २० रुपैयाँका दरले दिवाखाजामा बजेट विनियोजन गरेको छ ।
सो विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म ४०१ जना विद्यार्थी छन्, जसका लागि उपमहानगरले वार्षिक करिब १२ लाख रुपैयाँ निकासा दिने गरेको छ ।
यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु भएपछि उपमहानगरले खाजाको रकम निकासा गरिसकेको छ । वडाध्यक्ष सुल्तान अन्सारी र विद्यालयका प्रधानाध्यापक राम नरेश यादवबिचको जुहारीका कारण साना बालबालिकाहरू खाजा खानबाट वञ्चित भएका छन् ।
शिक्षिका निरु पुनले दिवा खाजा रोकिएपछि विद्यालयको पठनपाठन समेत प्रभावित भएको बताइन् । उनले वडाध्यक्ष र प्रधानाध्यापक बिचको विवादका कारण खाजा कार्यक्रम बन्द हुनु दुःखद् विषय भएको बताइन् ।
‘खाजा कार्यक्रम रोकिएपछि विद्यार्थीहरू कक्षाकोठामा अनुपस्थित हुने, हाफ छुट्टीमा घर गएपछि नआउने लगायतका धेरै समस्या छ,’ शिक्षिका पुनले भनिन्, ‘धेरै गर्मी छ । विद्यार्थी भोकै स्कुल पढ्न आउँदा रिङटा लागेर बेहोस समेत हुने गरेका छन् ।’
अर्का शिक्षक कृष्णकुमार दासले दिवा खाजा कार्यक्रम बन्द भएपछि कक्षाकोठामा विद्यार्थी संख्या ह्वात्तै घटेकोे बताए ।
जीतपुरसिमरा उपमहानगरको नगर शिक्षा ऐनले वडा अध्यक्ष स्वयं वा वडा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था गरेको छ ।
अभिभावकभन्दा बाहिरबाट जनप्रतिनिधि आफैँ वा उसले तोकेको व्यक्ति अध्यक्ष रहँदा सामुदायिक विद्यालयहरू आन्तरिक द्वन्द्वमा फसेका छन् । नेरामाविका प्रधानाध्यापक राम नरेश यादवले खाजा कार्यक्रम वडाध्यक्षको कारणले बन्द गनुपर्ने अवस्था आएको आरोप लगाए । ‘जुन दिन विद्यालयको वातावरण सही हुन्छ, त्यो दिनदेखि खाजा कार्यक्रम सञ्चालन गर्छु,’ उनले भने, ‘यसमा वडा अध्यक्षको सहयोग र साथ हुनुप¥यो ।’
विद्यालय व्यवस्थापन समितिको बैठकमा पटक–पटक जानकारी गराउँदा वडा अध्यक्ष अनुपस्थित हुने गरेको प्रधानाध्यापक यादवको आरोप छ । ‘विद्यालयमा धेरै समस्या छन् । तपाईंहरूले अनुकूल वातावरण बनाइदिनुस्,’ यादवले भने, ‘वडाध्यक्षले वातावरण सजिलो बनाइदिनु भयो भने म भोलिदेखि नै खाजा कार्यक्रम सञ्चालन गर्छु ।’
सहरी क्षेत्रभन्दा अलि पर ग्रामीण भेगका बालबालिकाहरू अध्ययन गर्ने सो विद्यालयमा अति विपन्न, गरिब, दलित, मजदुर वर्गका बालबालिका अध्ययन गर्दछन् ।
स्थलगत रिपोर्टिङको क्रममा सो विद्यालयमा उपमहानगरले निःशुल्क वितरण गरेको पोशाक समेत धेरै विद्यार्थीले नपाएको भेटियो । सो विद्यायलमा यस वर्षको एसइई परीक्षामा सहभागी भएका ३२ जना विद्यार्थीमध्ये १ जनामात्रै उत्तीर्ण भएका थिए ।
उपमहानगर वडा नं २४ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष सुल्तान अन्सारीले भने प्रधानाध्यापकबाट नियोजित रूपमा खाजा कार्यक्रम रोकिएको आरोप लगाए ।
‘मैले खाजा खुवाउनुस् भनेर पटक–पटक भनेको छु तर, हेडसरले खाजा खुवाउनु भएको छैन,’ वडा अध्यक्ष अन्सारीले भने, ‘मैले उहाँलाई यस्तो काम किन गर्नुहुन्छ भनेर स्पष्टीकरण पत्र काट्दा केही पनि जबाफ पाइनँ । उहाँ आफ्नो मनले चल्नुहुन्छ ।’
यता जीतपुरसिमरा उपमहानगर शिक्षा महाशाखाले भने वडाध्यक्ष र प्रधानाध्यापकका कारण विद्यालय समस्याग्रस्त अवस्थामा पुगेको भन्दै तत्कालै प्रधानाध्यापक हेरफेर गरेर अगाडि बढ्न शिक्षा समितिलाई सुझाव दिएको जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरभित्र ६० वटा सामुदायिक विद्यालय छन् । प्रभावकारी अनुगमनको अभावमा शहरी र बजार आसपासका क्षेत्र बाहेक ग्रामीण भेगका सामुदायिक विद्यालयहरू समस्याग्रस्त बन्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभरि निद्रा लाग्दैन ? हुन सक्छ यी रोग
-
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण